अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’


२ माघ २०७४, मंगलबार


धर्म रूपान्तरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।

त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो ।

विश्वविद्यालयका प्रा. डा. विनित अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक समितिको सुझाव प्रतिवेदनअनुसार सो व्यवस्था कार्यान्वयन शुरु भएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । यो व्यवस्था उच्चशिक्षाको कुनै पनि विषयमा कम्तीमा ५० प्रतिशत कोर्स पूरा भएका र विद्यार्थी आदानप्रदान हुने विश्वविद्यालयको सम्बन्धित कोर्सका विषय ८० प्रतिशतसम्म मिलेको अवस्थामा लागू हुनेछ । त्रिविको विद्यमान नियमअनुसार कुनै पनि तहको अध्ययन भर्ना भएको बढीमा छ वर्षभित्र पूरा गर्नुपर्छ । ‘क्रेडिट ट्रान्सफर’ हुँदा पनि सोही अवधिभित्र हुनुपर्नेछ । काठमाडौँ विश्वविद्यालयले यस्तो नीति यसअघि नै लागू गरिसकेको छ ।

रजिष्ट्रार उप्रेतीले विदेशमा अध्ययन र काम गर्दै बसेका विद्यार्थीले स्वदेश फर्केर थप अध्ययन र रोजगारी गर्न चाहेमा यस नीतिबाट लाभ लिन सक्ने बताए । कतिपय विदेशी विश्वविद्यालयमा पढाइ गाह्रो ठानेर पनि विद्यार्थी अध्ययन अधुरै छाड्ने गरेको सन्दर्भमा यो नीतिबाट लाभ लिन सक्नेछन् तर हालसम्म यस्ता विद्यार्थी स्वदेश र विदेशमा कति छन् भन्ने स्पष्ट देखिएको छैन ।

यो व्यवस्था सेमेस्टर प्रणाली लागू भएका विश्वविद्यालयमा कार्यान्वयन गर्न सहज हुनेछ । “हामी आवेदकको आवश्यकता हेरी यसलाई क्रमशः लागू गर्नेछौँ । स्नातक तहमा त्रिविमा सेमेस्टर प्रणाली नहुँदा विद्यार्थीलाई ट्रान्फर गराउन त्यति सहज छैन, सोभन्दा माथिका विद्यार्थीका लागि सहजै लागू हुनेछ ।

त्रिचालिसौँ दीक्षान्त समारोह गरिसकेको मुलुककै जेठो र ठूलो विश्वविद्यालय त्रिविले हाल देश विदेशका १६० भन्दा बढी विश्वविद्यालय र अनुसन्धान केन्द्रसँग शैक्षिक, भौतिक, प्राज्ञिक र मानव संशाधनसम्बन्धी सहयोग आदानप्रदानको सम्झौता गरिसकेको छ । त्रिविअन्तर्गत ६० आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पस छन् । हाल त्रिविमा ३०० भन्दा बढी विदेशी विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ता आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस