लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ


३० पुस २०७४, आइतबार


व्यवसायबाट समाजमा भिन्न परिचय स्थापित गराउन सफल छिन्, कैलालीको अत्तरिया चोकमा रहेको राशी ब्युटिपार्लरकी सञ्चालिका शोभा रावल । नेपाली सेनाको कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको साझेदारीमा सञ्चालित लघुवित्त कार्यक्रमबाट ऋण लिएर व्यवसाय गरेपछि उनले आर्थिक उन्नति मात्र गरिनन्, सामाजिक हैसियत पनि कायम गरेकी छिन् । सोच र लगन भए व्यवसायबाट प्रगति हासिल गर्न सकिन्छ भन्ने उनी एक गतिलो उदाहरण हुन् । व्यवसायमा हासिल गरेको सफलताबारे उनीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

श्रीमानको भर पर्नु पर्दा र आफ्नो खुट्टामा आफै उभिँदा के फरक पाउनुभयो ?
पहिले श्रीमानले मात्र कमाउनुहुन्थ्यो । त्यतिबेला हामी बहालमा बस्थ्यौं । काम पनि केही नभएकाले दिनभर गफ गरेर बित्थ्यो । पछि आत्मनिर्भर बन्नुपर्छ भन्ने लाग्यो । त्यसपछि ब्युटीपार्लर ट्रेनिंग गरे । र, ब्युटीपार्लर व्यवसाय सञ्चालन गरे । यो ठाउँमा ब्युटीपार्लर सञ्चालन गरेको पनि ९ वर्ष भयो ।

घरमा बस्दा श्रीमानको नामले चिनिन्थे । व्यवसाय सञ्चालन गरेपछि आफ्नै परिचय बनेको छ । अत्तरिया चोकमा राशी ब्युटीपार्लर भनेपछि नचिन्ने कमै होलान् । ब्युटिपार्लर तालिम सञ्चालन गरेपछि विभिन्न संघसंस्थामा पनि आबद्ध भएकी छु । विभिन्न संघसंस्थाबाट तालिम सञ्चालन गर्ने अफर आएको छ । झण्डै डेढ वर्षयता विभिन्न संघसंस्थाबाट तालिम चलाइरहेकी छु । यसले गर्दा आर्थिक स्थिति मजबुत मात्र होइन, समाजमा भिन्न परिचय बनेको छ ।

पार्लरबाट दैनिक कति जति आम्दानी गर्न सफल हुनुभएको छ ?
दैनिक ठ्याक्कै यति हुन्छ भनेर भन्न त सकिँदैन । सिजनमा बढी र अफसिजनमा कम चल्छ । कहिलेकाहीँ दैनिक १५–२० हजार आम्दानी हुन्छ भने कहिले पाँच–छ हजारमा चित्त बुझाउनुपर्छ । यसमा लगानीको तीन गुणा बढी फाइदा हुन्छ । व्यवसायबाट निकै सन्तुष्ट छु ।

यसलाई थप बढाउने योजना पनि बनाउनु भएको छ कि ?
नेपाली सेनाको कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको साझेदारीमा सञ्चालन भएको लघुवित्त कार्यक्रमबाट ऋण लिएपछि व्यवसायमा राम्रो प्रगति भएको छ । सुरुमा एक कोठामा ब्युटिपार्लर व्यवसाय सञ्चालन गरेकी थिएँ । अहिले दुई कोठामा बिस्तार गरेको छु । कस्टम्बर पनि बढेका छन् । कस्टम्बरको सुविधाका लागि आधुनिक मेसिन किन्ने योजना छ । जस्तो: गाल्वनिक मेसिन, जुन फेसिअल गर्न र स्किन सम्बन्धि समस्या हटाउन मद्दत गर्छ ।

अहिले ब्युटिसियनको तालिम दिन निकै सहज भइरहेको छ । व्यापार व्यवसाय समयअनुसार परिवर्तन हुँदो रहेछ । व्यवसाय व्यवसाय बढाउन फेरि ऋण लिने सोच बनाएकी हुँ । लघुवित्त कार्यक्रमबाट पुनः ऋण पाउने अपेक्षा छ ।

अहिले पनि धेरै जसो बहालवाला तथा अवकासप्राप्त सैनिकका श्रीमतीहरु घरधन्दामै मात्र सिमित छन्, उनिहरुलाई तपाइको के सुझाव छ ?
बहालबाला होस् या अवकास पाएका परिवार । केही गर्न सकिन्न भनेर त्यतिकै बस्ने होइन, महिलाहरूले केही गरेर देखाउन सक्नुपर्छ । लघुवित्त कार्यक्रमबाट ऋण लिएर केही व्यवसाय गर्नुस् । चाहे सिलाइकटाइ होस् या अरु केही । कोही पनि घरमा त्यतिकै नबस्नुस् । आर्थिक उन्नति गर्नेतर्फ लाग्नुस् । केही गर्छु भन्ने अठोट लिएपछि आत्मनिर्भर बन्न सकिन्छ अनि आर्थिक उन्नति हासिल गरी पहिचान बदल्न सकिन्छ । जबसम्म महिला अगाडि बढ्न सक्दैनन् तबसम्म देशको विकास पनि हुन सक्दैन ।

त्यसैले आर्थिक स्तर बढाएर अगाडि बढ्यो भने भोलि देशका लागि केही गर्न सक्छौं । अहिले हरेक ठाउँमा महिलाको धेरै आवश्यकता छ । महिला पछि परेर नै हाम्रो देश पछि परेको हो । त्यसैले अघि बढ्न सर्वप्रथम अर्थ नै चाहिन्छ । आर्थिकका लागि व्यवसाय अँगाल्न सक्यौ भने सजिलो हुन्छ ।

ब्युटिसियन व्यवसाय गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । व्यवसायसँगै तालिम सञ्चालन गरेर आम्दानी गर्न सकिने मसँग अनुभव छ ।

के व्यवसाय गर्ने सबै सफल हुने निश्चित छ त ? कसरी काम गर्दा सफलता मिल्छ, यसमा तपाइको अनुभव के छ ?
जुन कामका लागि ऋण लियो त्यसैमा सदुपयोग गर्यो भने त्यसबाट राम्रो लाभ हुन्छ जस्तो लाग्छ । अनि हामीले सजिलै ऋण चुक्ता गर्न सक्छौं । ऋण नतिरेर बस्यौ भने केही हुँदैन भन्ने सोचाइ गलत छ । ऋण लिए जसरी पनि तिर्नुपर्छ । नतिर्नेलाई कानुन लगाएर भए पनि नतिर्नेबाट ऋण उठाउन सकिन्छ । त्यसकारण कानुन मिचेर काम गर्नु हुँदैन ।

एक जनाले नराम्रो गर्यो भने अरुलाई समेत अप्ठेरो पर्छ । ‘एउटा कुहिएको आलुले एक बोरा आलुलाई बिगार्छ’ भन्ने उखानै छ नि । एक जनाले नराम्रो गरे अरु राम्रालाई पनि अप्ठेरो पर्छ भन्ने सबैले बुझ्नुपर्छ । त्यसकारण सबैलाई मेरो आग्रह छ, कृपया कोही यस्तो नगरिदिनुहोला । ऋण लिनुभएकाले समयमै किस्ता बुझाइदिनुहोला ।

महिलालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्दै समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ, थप केही भन्न मन लागेको कुरा केही छ कि ?
नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु । आगामी दिनमा नेपाल इन्भेष्टमेन्ट बैंकले लोन अझै थप गरोस् । त्यसले हामीजस्ता व्यवसायीलाई हौसला मिल्छ । लोन थप्यो भने हामीले अन्यत्र भौतारिनु पर्दैन । नियमित र समयमा कर्जा र ब्याज तिर्नेको मूल्यांकन होस् भन्ने चाहान्छु ।

यदि त्यस्ता खराव ऋणीले के कारणले ऋण तिरेको छैन अनुगमन तथा मूल्यांकन गरेर ऋण असुल उपर गर्न सबै सहयोग गर्नुदिन सबैलाई आग्रह गर्न चाहान्छु ।

घरमा बसिरहेका बहालबाला र अवकास पाएका सैनिक परिवारलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका तालिम सञ्चालन गर्न नेपाली सेनाको कल्याणकारी बोर्डलाई आग्रह गर्न चाहान्छु । आगामी दिनमा कल्याणकारी बोर्डले ब्युटिपार्लर तालिम सञ्चालन गरोस् भन्ने चाहान्छु ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस