आश्विन ३० गते, २०७५

धुलो हटाउन माग गर्दै नेविसंघको धर्ना, उपप्रमुखलाई धुलो र मास्क बुझाइयो

काठमाडौं । नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौं निर्माण गर्न माग गर्दै काठमाडौं महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ ।

नेविसंघ काठमाडौं शाखाको संयोजनमा आज काठमाडौं महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।

सफा सुन्दर काठमाडौं शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचौँ सबै खुशीसहित, धुलो धुवाँरहित वातावरण हाम्रो अधिकार व्यवस्थापकीय सम्बोधन महानगरको सरोकार, सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् ।

नेविसंघका उपाध्यक्ष नवीन राईले धुलो र धुवाँ काठमाडौंका जनताको साझा समस्या भएकाले यसलाई हटाउनका लागि नेविसंघले अभियान थालेको बताए । “धुवाँ र धुलो नहटेसम्म हामी निरन्तर आन्दोलन गछौँ”, उनले भने ।

नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले स्वच्छ काठमाडौं निर्माण गर्न महानगरले अनावश्यक कर उठाउने तर काम नगर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारीका लागि धर्ना अभियान सञ्चालन गरिएको बताइन् ।

नेविसंघका नेता दीपक भट्टराईले महानगरलाई नमूना बनाउने अधिकार पाएको महानगर नै धुलो र धुवाँ हुँदा पनि चुप लागेर बसेकाले नेविसंघले खबरदारी अभियान चलाएको स्पष्ट पारे ।

नेविसंघ काठमाडौं अध्यक्ष मनोज वैद्यले स्थानीय सरकार निर्माण भएको नौ महिनामा पनि धुलो, धुवाँ हटाउने सवालमा केही काम नभएकाले दबाबस्वरुप उक्त अभियान सञ्चालन गरिएको बताए ।

उपप्रमुखलाई धुलो र मास्क बुझाइयो

धर्नासँगै नेविसंघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौंका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क वितरण गरेका थिए ।

महानगरले बेवास्ता गर्दा दैनिक लाखौँ जनताले धुलो र धुवाँमा हिँड्नुपरेको भन्दै दबाबस्वरुप मास्क र धुलो वितरण गरेका हुन् ।

धुलो र मास्क बुझ्दै उपप्रमुख खड्गीले मेलम्ची खानेपानी काठमाडौं उपत्यका ल्याउँदा खनिएका खाल्डोका कारण धुलो बढेको भन्दै यसलाई कम गर्न आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको बताइन् ।

उपप्रमुख खड्गीले धुलोमुक्त काठमाडौं महानगरपालिकाको प्राथमिकतामा रहेको भन्दै मेलम्चीले खनेका खाल्डोलाई रातारात पुरेर कालोपत्र गर्न निर्देशन दिइसकिएको बताइन् ।

धर्नामा नेविसंघका उपाध्यक्ष सागर परियार, कोषाध्यक्ष शिव रिमाल, नेताहरु हिमालदत्त श्रेष्ठ, मोती भण्डारी, सुशील तिमल्सेना, अर्जुन बम, एलिजा ढकाललगायतको सहभागिता रहेको थियो । रासस

पौष २८ गते, २०७४ - १५ः११ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

underhealth
gsdfs dfg