असार ३२ गते, २०७५

वाम गठबन्धनको विस्तारका विषयमा मोहनविक्रम सिंह र प्रचण्डबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

अध्यक्ष दाहाललाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिंह र प्रंचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन, नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता, वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो ।

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन् । भेटका क्रममा उनीहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका छन् ।

भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् ।

पौष २७ गते, २०७४ - ११ः१६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg