लाइसेन्स नेपालीकरणको घनचक्कर

अन्य कुनै देशको आधिकारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेका नेपाली नागरिकले कुनै लिखित वा ट्रायल नदिइकनै नेपाली लाइसेन्स पाउने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐनमा रहेछ । विदेशी लाइसेन्सलाई नेपालीमा बदल्ने प्रक्रियालाई नेपालीकरण भनिन्छ । यस कुराको सुइँको कतैबाट पाएपछि भर्खरै चालीस टेकेका एकजना सेवाग्राही खल्तीमा खाडी मुलुकको लाइसेन्स बोकेर काठमाडौंको एउटा यातायात कार्यालयमा बुझ्न गए ।

विदेशमा जारी भएको उनको लाइसेन्सको वैधता तीन महिना बाँकी रहेछ । तर, त्यसको लागि कन्सुलर सेवा विभाग र सम्बन्धित देशको राजदूतावासको सिफारिस चाहिने भन्दै यातायात कार्यालयबाट फकाईयो । उनी ढुक्क भएर फर्किए, अब लाइसेन्स सजिलै बन्ने भयो । सेवाको सुनिश्चितता अनुभूति गरे उनले ।

आम नेपाली, त्यसमा पनि खाडी मुलुकको चर्को तापक्रममा परिश्रम गर्दै गाडी चलाउने व्यक्ति, उसले हिजोको दिनमा नेपालमा गाडीको सवारी चालक अनुमतिपत्र लिने प्रयासमा खाएका सबै हन्डर, ठक्कर र दुःख सम्झियो । र, सम्झियो केही वर्ष विदेशमा गुजारेर फर्किदा यातायात क्षेत्र सुध्रिएछ ।

मनमनै सोच्यो “अब सजिलै लाइसेन्स पाइनेछ । अनि नेपालमै गाडी चलाएर धेरथोर आम्दानी गर्नेछु । बुढ्यौलीले ढाक्दै गएका बाआमा, सधै विछोड व्यहोरेकी जहान र राम्ररी बाका औला समाएर हिड्न नपाएका लालाबालाको समेत हेरविचार गर्नेछु । त्यही लाइसेन्सको भरमा देशमै रोजगारी पाउनेछु ।”

निर्धक्क भयो ऊ । “आखिर सबै कागजात यातायातका कर्मचारीले हेरिसके” उसको सोझो बुझाइ यही थियो ।

“हेरेका मात्र कहाँ हुन् र चाहिने थप कागजातको कुरा पनि त गरिसके” उसको अन्तरात्माले पनि यही भन्दै थियो । कार्यालयका कर्मचारीले सुझाएअनुसार आवश्यक कागजात बनाउन दौडियो ऊ, सँगसँगै केही व्यक्तिगत काम पनि भ्याउदा उसका केही दिन भागदौडमै बिते । कागजात बनाई सकेर पुनः कार्यालयमै पुग्यो ।

हिजो फलानो फलानो कागजात चाहियो भन्ने ठाउँमा अर्कै व्यक्ति थियो, जवाफ भनौ या गैरजिम्मेवारपूर्ण उत्तर उसले त्यही पायो “अहिले नेपालीकरण बन्द गरिएको छ, खुलेपछि आउनु ।”

सेवा लिन आशावादी भएर आएको सेवाग्राही । सेवा किन बन्द ? कहिले खुल्छ ? न खुल्दैन कि ? अस्तिसम्म खुलेको सेवा आज के कारणले बन्द ? कर र दस्तुर तिरेर सेवा लिन खोज्दा पनि प्रष्ट जवाफ नपाउँदा उसको मन कटक्क पोल्यो । राज्यलाई उसले बडो गैरजिम्मेवार देख्यो ।

मनमा फेरी शंका रोपियो । “हैन, यातायात कार्यालय त हिजो आफू विदेशिनुअघिको भन्दा फेरिएको छैन कि क्या हो ?” विदेशी लाइसेन्सलाई नेपालीकरण गर्ने घनचक्करमा दिन बिराएर कार्यालय धाउँदा धाउँदै गोजीमा बोकेको विदेशी लाइसेन्सको अवधि सकिन पन्ध्र दिन मात्रै बाँकी रह्यो । त्यही गोजीमा रहेको पैसा सकिए त सापटी मागौला, तर समुन्द्रपारी बनाएको लाइसेन्सको अवधि सकिए कहाँ सापटी पाउनु ? औडाहा भएर उपाय खोज्दा काठमाडौंमा अर्को यातायात कार्यालयबाट काम बन्छ कि भन्ने आशामा लाइसेन्स र अन्य कागजातहरु झोलामा हालेर ऊ दौडियो अर्को कार्यालयतिर ।

अर्को कार्यालयको आगँनीमा पुगेर कसैलाई सोध्दै विदेशी लाइसेन्सको नेपालीकरण गर्न सीधै कार्यालय प्रमुखको कोठामा पुग्यो । उसलाई अरु कर्मचारीको विश्वास लाग्न छोडिसकेको थियो । सेवा प्रवाहमा सेवाग्राही र प्रदायकको बीचमा जब विश्वासको संकट आउँछ त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ ।

कार्यालय बाहिर सेवाग्राहीको सहजताको लागि राखिएको नागरिक बडापत्र पनि हेर्न चाहेन उसले । आफ्नो विदेशी लाइसेन्स कहिले र कसरी नेपाली बन्ला ? केवल यत्ति कुरा उसको मस्तिष्कमा मडारिदै थियो । यो कार्यालयमा ऊ अघिल्लो कार्यालयजस्तो गेटमै झम्टिन आइपुग्ने बिचौलियाको कमी थियो । उसलाई कसैले रोकेन, छेकेन । सिधै हाकिमको कोठामा पुगेर अडियो ।

आफ्नो गुनासो भन्न नभ्याउदै काठमाडौंको दौडधुपमा धुलो, धुँवाले मक्किदै गएको झोलाबाट निलो रंगको फाइल झिकेर एक–एक कागजात प्रमुखकै टेबलमा राख्दै गयो । उसको कागजात रखाई यस्तो थियो मानौं, ती हरेक कागजात बनाउन उसले ‘एकसे एक’ कष्ट उठाएको छ ।

उसको आत्माले भनिरहेको छ । “ल लिनुहोस् ! यो मेरो नागरिकता जुन बनाउन मैले मेरा किसान बासँगै गाउँको सीमा पार गरेर दुई दिन हिड््दै सदरमुकाम पुगेको थिएँ र तीन रात त्यही बसेर नागरिकता बनाउन सकेको थिएँ । अनिमात्र म नेपाली नागरिक हुन पाएको हुँ ।”

अनि “यो लिनुहोस् मेरो पासपोर्ट जुन पाउन मैले जिल्लाको सिमाना नाघ्नुपरेको मात्र थिएन । हजारौं खर्च गरेर राजधानीसम्म धाउनु परेको थियो । राजधानीको नारायणहिटीमा रहेको राहदानी विभागमा राति बाह्र बजेदेखि पुरै तेह्र घण्टा लाईन लागेर टोकन लिएको थिएँ । त्यसको चौध दिनपछि मात्र बडो मुश्किलले पासपोर्ट मेरो हातमा आइपुगेको थियो ।”

बीचैमा विदेशी लाइसेन्स समाउदा भने मुस्कुराउदै मनमनै भनिरहेको हुँदो हो “यो मैले देशको सीमा सँगसँगै समुन्द्र पार गरेर फलानो मुलुकमा लिएको लाइसेन्स । कुनै झन्झट बिना, कुनै भनसुन बिना । अर्काको देशमा बरु ट्रायल दिएर आएपछि लाइसेन्स त्यहाँको यातायात कार्यालयले आफू काम गर्ने कम्पनीमै डेलिभरी गरिदिएको थियो । न लाइनमा बसेँ, न पीडा व्यहोरे ।” उसको ओठको मुस्कानले सायद यही भनिरहेथ्यो ।

कन्सुलर सेवा विभाग र दूतावासको सेवा लिन केही सहजता महसुस भएपनि फेरी सम्झियो दुई रुपैयाँमा हुने फोटोकपी यातायात कार्यालय अगाडि दश रुपैयाँ तिर्नु परेको कुरा, रु. दश पर्ने हुलाक टिकटलाई पन्ध्र रुपैयाँ तिरेको कुरा, पार्किङ गर्ने ठाउँको अभावमा यातायात कार्यालय बाहिर प्रतिघण्टा रु. बीसका दरले बीसौं घण्टाको शुल्क व्यर्थमा तिरेको कुरा । जे जति दुःख जहाँ गरेपनि आज उसको काम भएको छैन त्यसमा झन् दुःखी छ ऊ ।

पीडाका एक एक कागजात टेबलमा असरल्ल छर्दै जाँदा उसलाई कुनै आभासै थिएन असली पीडा त अब आउनेवाला छ । हाकिमले सबै कागजात हेरिसकेपछि र पीडा सुनिसकेपछि सोध्यो “के तपाइसँग अहिले कुनै वर्गको नेपाली लाइसेन्स छ ?”

उसले भन्यो “छ ।”

अनि, पर्सबाट मोटरसाइकलको लाइसेन्स झिकेरै देखायो ।

कुरोले यहीँनेर नौलो मोड लिइसकेको थियो । कथा बदलिई सकेको थियो तर अब लाइसेन्स भने बदलिनेवाला थिएन । किनकि कुनै एक वर्गको नेपाली लाइसेन्स लिइसकेको नेपाली नागरिकलाई विदेशी वैध लाइसेन्स भएपनि त्यसको नेपालीकरण गर्न नसकिने प्रष्ट कानुनी व्यवस्था थियो । अब उसलाई ट्रायल दिएरै वर्ग थप गर्नुको विकल्प रहेन ।

यतिबेला ह्यातुङ झरनाबाट पानी खसाइ र आशाको शिखरबाट उक्त सेवाग्राहीको खसाइ लगभग उस्तै थियो होला । तीन महिनाअघि यत्ति सूचना मात्र पाएको भए उसले न त दुःख पाउँथ्यो । न पैसा खर्च हुन्थ्यो । न उसको मनमा मुलुक र यहाँको ‘सिस्टम’ प्रतिको घृणा पुनर्जागृत हुन्थ्यो । उसका एक एक सपना चकनाचुर हुदैन थिए । यो सबै परिस्थिति यसकारण सिर्जना भयो कि “राष्ट्रसेवक कर्मचारीका लागि हरेक सेवाग्राही देउता हुन् र कार्यालय मन्दिर, तर यहाँ मानिएन ।”

कार्यालय प्रमुखका अगाडि ती सेवाग्राहीका आसँु परेली भरी टलपलाए । सानो धसेको स्वरमा भने “प्लिज सर ! मेरो यत्ति काम गरिदिनुहोस् । प्लिज !”

“मैले यो काम हुन्छ भन्ने आशामा विदेशिने सोच पनि त्यागिसकेँ । भएन भने त म फेरी विदेशिनुपर्छ । फेरी म खाडी जानु ? उफ ! परिवार, केटाकेटीबाट टाढा हुने मेरो रहरै छैन । म बिन्ती गर्छु ।”

उसको के दोष थियो र हाकिमका अगाडि उसले परिश्रमी हात जोड्नलाई ? सेवाग्राहीको पीडा कार्यालय प्रमुखले पनि अनुभूत गरे तर कानुनले मिल्दैन भन्छ । कति अव्यावहारिक कानुन । यातायात कार्यालयप्रतिको हेराइ नै गलत, कानुन अनुसारै काम गर्दा त कति लाल्छना आउँछन्, मिचेरै गरे त झन् के होला ?

प्रमुखले भने “अब तपाई ट्रायल दिएरै पास गर्नुहोस् । आखिर विदेशमा चलाइरहनु भएकै रहेछ । फलानो कार्यालयमा जानुहोस्, त्यहाँ तपाइले खोजेको सवारी साधनको नयाँ लाइसेन्स लिने व्यवस्था चाँडै हुन सक्छ ।”

अगि डिलमा भरिएका आँसु यतिबेला छचल्किइ सकेका थिए । यस्ता हजारौं सेवाग्राहीका आँसु पोखिन्छन् होला यो मुलुकका जनसम्पर्क बढी हुने कार्यालयमा दिनहुँ । कार्यालयको बुट्टेदार कार्पेटमा आसुँ झार्दै भन्छन् “मलाई था’छ सर, तिनीहरु मलाई फेल गराउँछन् । म पास गर्न सक्छु विश्वास छ तर, कुनै न कुनै बहानामा उनीहरु फेल नै बनाउनेछन् किनकि म उनीहरुले भनेजति पैसा बुझाउन सक्दिनँ ।” उनको आशय प्रष्ट थियो, म सेवा किन्न सक्दिनँ ।

साँच्चै, एक्काइसौ शताब्दीको चेतनशील नागरिक सेवा किन्न होईन लिन चाहन्छ । उसले कर तिर्छ, करको सदुपयोग होस् भन्ने चाहन्छ । उनले सोचेजस्तो हरेक सरकारी कर्मचारी सेवा बेच्न इच्छुक होईनन् होला, सबैको रहर खरिदबिक्री नै होईन होला तर यहाँ मौकाको फाइदा उठाउनेको कमी छैन जसले निजामती सेवारुपी पोखरीलाई प्रदूषित गरिरहेका छन् । अर्कोतर्फ इमानदार र निष्ठामा जीवन समर्पण गर्ने कर्मचारी पनि छन् जसको सही मूल्याङ्कन गर्न नसक्दा नराम्रा कुराहरुले प्रश्रय पाइरहेका छन् । सयमा उनान्सय काम राम्रो गर्ने कर्मचारीको मूल्याङ्कन पनि एउटा मानवीय गल्तीको छायाँमा पारिन्छ । पारिदै आइएको छ । र, सबैको नियति सफा नभएसम्म पारिनेछ ।

माहोल शान्त भयो एकछिन् । कार्यालय प्रमुख अवाक भए । आफ्नै देशमा सेवा पाउन भोग्नुपरेको नियति देखेर देशलाई सराप्दै ती सेवाग्राहीले भने “थुइक्क ! कस्तो देशमा जन्मिएछु । केही गर्दा पनि खोजेको काम नबन्ने ।” हाम्रो सेवा प्रवाहको शैलीले सेवाग्राहीमा राज्यप्रति अपनत्वभन्दा वितृष्णा बढाउन मद्दत गरेझै लाग्छ ।

उनी टेबलमा छरेका पीडाका कागजहरु एक–एक गर्दै बटुल्छन् किनकि सेवाग्राही भएको नाताले पीडा आफैसँग बोक्नु नै छ । देशमा एउटा लाइसेन्स बनाउन नसकेर फेरी विदेशिनु नै छ ।


र यो पनि,

आजको सेवाग्राहीलाई सेवा बेच्ने होइन वितरण गर्ने हो

शिविर निजामती सेवामा प्रवेश गर्ने द्वार बनोस्

लोकसेवाको पुस्तक लेखनमा ‘ट्रेन्ड चेन्ज’ गर्न जरूरी छ

थाइल्याण्ड र नेपालको हुलाक सेवा

निजामती सेवा दिवस : विश्व र नेपालमा

पौष २५ गते, २०७४ - ११ः२७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg