पैसा कमाउन विदेश जानुपर्दैन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पैसा कमाउन विदेश जानुपर्दैन


एस राज उपाध्याय

२३ पुस २०७४, आइतबार


अवकासपछि के गर्ने ? धेरैलाई यही चिन्ताले घेरेको हुन्छ । तर, सुर्खेत, वीरेन्द्र नगरपालिका–१० का जनक ढकालले भने सेनाबाट अनिवार्य अवकास पाएपछि कृषि र कुखुरापालन व्यवसाय थालेका छन् । व्यवसायबाट मनग्ये आम्दानी गर्ने उनी स्वदेशमै पैसा कमाउन सकिन्छ भन्ने गतिला उदाहरण पनि हुन् । २०७१ मंसिर १५ गते अवकास पाएका ढकालसँग व्यवसायबारे प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

अवकास हुँदा व्यवसाय गर्छु भन्ने लागेको थियो ?
अहँ, अवकास हुनेबेला यस्तो सोचेकै थिइनँ । व्यवसाय गर्ने पैसा नि थिएन । तर, घरखर्च चलाउन केही न केही गर्नुपर्ने बाध्यता थियो । धेरै साथिभाइलाई सोधें, कसैले बिदेश जाने भने, कसैले यतै कतै जागिर खोज भने । अनि केही दिन आफन्तहरुसंग पनि छलफल गरेँ । परिवारका सदस्यसँगको सल्लाहपछि तरकारी खेती र कुखुरापालन गर्ने योजना बनाए । तर, पैसाको समस्या थियो । लगत्तै नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमबारे जानकारी पाएँ । त्यसपछि मलाई ‘ढुंगा खोज्दा देउता मिले’जस्तो भयो । लघुवित्त कार्यक्रमबाट बहालबाला र अवकास पाएका सैनिक परिवारलाई सस्तो ब्याजदरमा ऋण लगानी प्रवाह हुँदो रहेछ । त्यसपछि कृषि र कुखुरापालनका लागि तीन लाख रूपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेँ । अहिले यो व्यवसाय सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो ।

कति क्षेत्रफलमा तरकारी खेती गर्नुभएको छ ?
मैलै पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेको छु । त्यसमा मिटरे बोडी, काक्रा, चिचिन्डा, घिरौला, लोका, बन्दा, प्याजलगायत खेती गरेको छु ।

वार्षिक कति कमाउनुहुन्छ ?
कुखुरा पालन र तरकारी खेतीबाट वार्षिक तीन लाख रूपैयाँ आम्दानी हुन्छ ।

ऋण तिरिसक्नु भो त ?
अ, तिरिसके । अब व्यवसाय बढाउन पुनः सात लाख ऋणका लागि आवेदन दिएको छु ।

तरकारीको माग कस्तो छ ?
तरकारीको बजार राम्रो छ । बिक्री गर्न समस्या छैन ।

व्यवसाय गरेर छोराछोरीलाई पढाउन सम्भव छ त ?
छ, सानो बाबुले ब्याचलर इन्जिनियर गरिसक्यो । ऊ मास्टर्ड गर्ने तयारीमा छ । छोरीको भेटनरी जेटिए पढ्ने मन छ । तर, मैले उसलाई बिएस्सी एग्रीकल्चर पढ्ने सुझाव दिएको छु ।

एक अवकास प्राप्त सैनिक व्यवसायी बनेपछि कस्तो अनुभुति भइरहेको छ ?
स्वदेशमै परिवारसँग बस्न पाइएको छ । पुनः मातृभूमिका लागि केही गर्ने अवसर मिलेको छ । यी कुरा सम्झदा गौरव महसुस हुन्छ ।

तपाइ जस्तै अन्य अवकासप्राप्त सैनिकलाई के सुझाव दिन चाहनुहुन्छ ?
मेहनत गरे परिवारसँगै आफ्नै ठाउँमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ । पैसा कमाउनका लागि विदेश जानुपर्दैन । त्यसैले सबैलाई मेरो अनुरोध छ, अवकासपछि स्वदेशमै बसेर केही गर्नुस् ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

Tags :
प्रतिक्रिया दिनुहोस