काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसका शीर्षनेताहरुले समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् ।
नेपाली कांग्रेसका नेताहरूले नेकपा एमालेले निर्वाचन आयोगलाई गैरसंवैधानिक काम गर्न दवाव दिइरहेकाले त्यसो नगर्न आग्रह गरेका छन् । एमालेले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिक परीणाम सार्वजनिक गर्न दबाब दिनु गैरसंवैधानिक भएको कांग्रेसको ठहर छ ।
बैठकमा नेताहरुले अविलम्ब प्रदेश प्रमुख नियुक्त गर्न, राष्ट्रियसभा निर्वाचनको मिति तोक्न तथा निर्वाचनका लागि आवश्यक पूर्वाधारलगायत निर्णय गर्न सुझाव दिएका थिए । निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री देउवासँग भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गरेका थिए । आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेश प्रमुखलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
देउवाले चुनावी परिणामको समीक्षा गर्न चाँडोभन्दा चाँडो पार्टीको केन्द्रीय समिति र महासमिति बैठक पनि बोलाउने बताए ।