पति सेनामा, पत्नी व्यवसायमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पति सेनामा, पत्नी व्यवसायमा


९ पुस २०७४, आइतबार


काठमाडौं । ९ वर्षअघिसम्म पोखरास्थित खसीबजारकी सीता पौडेलको परिचय सामान्य गृहिणीमै सीमित थियो । उनको दिनचर्या घरधन्दामै बित्थ्यो । घरधन्दामै जीवन बित्ने हो की भन्ने उनलाई चिन्ता थियो ।

सीतालाई १०–१२ हजार रूपैयाँको जागिरको अफर नआएको होइन । तर, उनलाई आफै केही गर्नुपर्छ भन्ने लागेको थियो । ‘उद्यम गर्ने हुटहुटी त थियो । तर, के-कसरी गर्ने भन्ने केही आइडिया थिएन,’ उनले त्यतिबेलाको क्षण सम्झिइन्, ‘यही गर्छु भनेर निक्र्याेल गर्न नसके पनि भैँसीपालनमा भने इन्ट्रेस्ट थियो ।’

त्यतिबेला उनका पति गणेश नेपाली सेनामा क्याप्टेन थिए । पतिको राष्ट्रसेवाबाट प्रेरित भएर उनलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेको थियो ।

लघुवित्त कार्यक्रममार्फत सैनिक परिवारलाई ऋण उपलब्ध गराउने जानकारी पाएपछि सीताको चिन्ता हट्यो । लगत्तै उनले ऋण लिएर व्यवसाय सुरु गरिहालिन् । उनले सुरुमा एक भैँसीबाट व्यवसाय सुरु गरेकी हुन् ।

भैँसीपालन सुरु गरेपछि उनी आत्मनिर्भर मात्र होइनन्, छोराछोरीलाईसमेत पढाउन सक्ने भएकी छिन् । ‘यसबाट वार्षिक साढे दुई लाख आम्दानी हुने गरेको छ । सबै खर्च कटाउँदा एक लाख मुनाफा हुन्छ,’ उनी भन्छिन्, ‘यो व्यवसायले छोराछोरीलाई पढाउन सहज बनेको छ ।’ अहिले उनको फर्ममा २५ भैँसी र पाडापाडी छन् । तीमध्ये ११ भैँसी दुहुना छन् ।

छोरी फार्मेसी पढ्दैछिन् भने छोराले डाक्टर बन्ने सपना पालेका छन् । ‘व्यवसाय सुरु गरेपछि छोराछोरीले चाहे अनुसारको पढाउन सक्ने आँट आएको छ,’ उनी भन्छिन् ।

उनको सफलतालाई अहिले सबैले वाहवाही गर्ने गरेका छन् । ‘व्यवसाय अवलोकन गर्न आएकाहरू राम्रो व्यवसाय गरेको भन्दै प्रशंसा गर्छन्,’ उनी भन्छिन् ।

उनी नेपाली सेनाको परिवारलाई केही न केही गर्न सुझाउँछिन् । ‘मेहनत र परिश्रम गरे जुनसुकै कामबाट पनि सफलता पाउन सकिन्छ,’ उनी भन्छिन् । अब दुइटा भैँसी थप्ने उनको योजना छ ।

भैँसीपालन व्यवसायबाट पढाइ खर्च जुटाउन सहज भएको छोरी अप्सरा बताउँछिन् । ‘बुवाको आम्दानीले मात्रै यत्रो खर्च धान्न सकिँदैनथ्यो होला, आमाले जुन भैँसीपालन व्यवसाय सुरु गर्नुभयो यसबाट धेरै सजिलो भएको छ’ उनी भन्छिन् ।

लघुवित्त कार्यक्रमले कैलालीकी शोभा रावलले पनि आफ्नै परिचय स्थापित गरेकी छिन् । केही समयअघिसम्म गृहिणीका रूपमा चिनिने शोभा अहिले ब्युटीपार्लर व्यवसायीका रूपमा प्रसिद्ध छिन् । उनले अत्तरियामा ‘राशी ब्युटीपार्लर’ सञ्चालन गरेकी छिन् ।

‘व्यवसाय सुरु गर्नुअघि श्रीमानको नामबाट मात्रै चिनिन्थे । तर, अहिले ब्युटीपार्लर व्यवसायी भनेर चिनिएको छु,’ उनी भन्छिन्, ‘यसले निकै खुसी तुल्याएको छ ।’ ब्युटीपार्लर व्यवसाय चलाएपछि उनी आत्मनिर्भर त भएकी छन् नै, आफ्नो व्यक्तित्व विकास समेत गरेकी छिन् ।

व्यवसाय सुरु गरेपछि विभिन्न संघसंस्थामा आबद्ध हुने अवसर पाएको उनी बताउँछिन् । ‘यसले मेरो व्यक्तित्व विकास समेत भएको छ,’ उनी भन्छिन्, ‘विभिन्न संघसंस्थाले तालिम सञ्चालन गर्न हौसला दिइरहेका छन् ।’

लघुवित्तबाट ऋण लिएर केही उद्यम तथा व्यवसाय गर्न उनी सुझाउँछिन् । ‘आर्थिकस्तर बढाएर अघि बढ्न सक्यो भने देशका लागि केही गर्न सकिन्छ,’ उनी भन्छिन् ।

यी उदाहरण मात्र हुन्, बहालवाला नेपाली सेनाका पत्नीले लघुवित्त कार्यक्रमबाट समाजमा आफ्नो भिन्नै परिचय स्थापित गरेका छन् ।

नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको साझेदारीमा लघुवित्त कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सहायक प्रबन्धक अमन श्रेष्ठ लघुवित्त कार्यक्रमबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्ने सैनिकपत्नीले राम्रो सफलता पाइरहेको बताउँछन् । ‘फिल्ड अवलोकन गर्दा धेरैले राम्रो प्रगति गरिरहेको देखिन्छ,’ उनी भन्छन् ।

लघुवित्त कार्यक्रमका प्रमुख समन्वयकर्ता पूर्व मानार्थ उपरथी धनीदास कार्की लघुवित्त कार्यक्रम सैनिक परिवारका लागि वरदान सावित भएको बताउँछन् । ‘यसले थुप्रैको जीवनस्तरमा परिवर्तन ल्याएको छ,’ उनी भन्छन् ।

लघुवित्त कार्यक्रमले अवकासप्राप्त र बहालबाला सैनिक परिवारलाई कृषि, पशुपालन र लघु उद्यम व्यवसायका लागि ऋण उपलब्ध गराउँछ । व्यवसाय अनुसार एक लाख देखि सात लाख सम्म र बचत तथा रिण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था वाहेक अन्य कृषि तथा वहु उद्येश्यीय सहकारी संस्थाले समूह सदस्य मार्फत सामूहिक खेती तथा पशुपन्छीपालन गर्ने प्रयोजनका लागि प्रति सदस्य ९० हजारका दरले अधिकतम् एक करोडसम्म कर्जा उपलब्ध गराउने कार्कीले बताए ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस