टाउको दुखाईः उपचार र रोकथाम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टाउको दुखाईः उपचार र रोकथाम


प्रशासन विशेष ब्युरो

७ पुस २०७४, शुक्रबार


टाउको दुखाइ(Headache) आफैंमा रोग नभई विभिन्न रोगको लक्षण हो । त्यसैले उपचार पनि सोहीअनुसार गरिनुपर्छ । कुनै रोगको लक्षणको रूपमा उब्जिएको टाउको दुखार्इ त्यो रोगको उपचारपछि निको हुने हुन्छ ।

टाउको दुखाइका कारणहरुः

१. माइग्रेन(Migraine Headache):

मस्तिष्कका रक्तनलीहरु समय समयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु (नसाहरु) तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउकोभित्र इन्फ्लामेसन गराएर टाउको दुख्छ ।

१५ देखि ५५ वर्ष उमेरका महिलाहरुमा धेरै हुन्छ। तर सबै उमेर र लिङ्गमा माइग्रेन देखिन्छ । माइग्रेनमा एकापट्टी मात्र टाउको दुखाइ हुन्छ। टाउको दुखाई दिन वा हप्ताको फरकमा आँउछ र यस्तो क्रम दोहोरिने हुन्छ ।

लक्षणहरु:

–  टाउको टनटनी दुख्ने
– बुलुकबुलुक उफ्रिएको जस्तो गरी दुख्ने
– कहिलेकाही आँखाका गेडाहरु दुख्ने
– निधारतिर दुख्ने
– घाँटीतिर दुख्ने
– साथसाथै वाकवाकी लाग्ने र वान्ता हुने
– हल्ला र आवाज सहन नसक्ने
– हातखुट्टा चिसो हुने र आँखा तिरमिराउने
– उज्यालो हेर्न नसकिने

२.ट्युमर वा संक्रमण(Tumor & infection):

संक्रमण वा ट्युमरका कारण पनि टाउको दुख्न सक्छ । यसमा टाउको दुखाई धेरै कडा, बढदै जाने र औषधि खाँदा कम नहुने हुन्छ ।

३. ब्रेनहेमोरेज(Brain Hemorrhage):
मस्तिष्कभित्र कुनै कारणले चाप बढेमा टाउको दुख्न सक्छ

४. रक्तचापमा आउने गडवडी:
उच्च रक्तचापले(Hypertension) हुने टाउको दुखाइ पछिल्लो भागमा केन्द्रित हुन्छ र बिहान टाउको दुख्ने धेरै हुन्छ ।

५. दाँतको समस्या
६. आँखाको समस्या
७. कानमा संक्रमण
८. पिनास
९. गर्दनको हड्डीको समस्या
१०. क्रेनिल नशाको समस्याको
११. हेमोग्लोबिनको स्तर सामन्यभन्दा कम हुनु या कमजोरी हुनु
१२. अनियमित निन्द्रा
१३. डिस्कसनको कारण
१४. कब्जियत वा पेटमा जुकापर्नु
१५. रातिधेरै बेरसम्म जगरण बस्नु
१६. मानसिक एवं भावनात्मक तनाव
शोक गर्नु र धैरै रुँदा

१७. औषधि सेवनका कारण
-औषधी जस्तै नाइट्राइट, परिवार नियोजनको चक्की, रक्सी सेवन, चुरोट सेवनका कारण पनि टाउको दुख्न सक्छ।

उपचारहरु(Treatment):

टाउको दुखाईको कारण पत्ता लगाएर त्यो कुनै माथी उल्लेखित रोग र समस्याले गर्दा हो भने त्यसको उपचार विधि अनुसार डाक्टरको सल्लाहमा गर्न जरुरी छ ।

सामान्य टाउको दुखाई र माइग्रन भए:

सामान्य टाउको दुखाइका औषधीहरु जस्तै पारासिटामोल(Paracetamol) र NSAIDs- ब्रुफेन(Ibuprofen) , नाप्रोक्सेन(Naproxen) आदि का साथै माइग्रेनमा प्रयोग गरिने विशेष औषधीहरु जस्तै ट्रिप्टान(Triptan), एर्गोट(Ergot) समूहका औषधीहरु पर्छन् ।

पारासिटामोल र ब्रुफेनहरु टाउको दुखाइको शुरुवातसँगै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ। तर यिनीहरु प्रयोग गर्दा यिनका खराब असरहरु (पारासिटामोलको अत्यधिक सेवनले कलेजोमा पार्ने खराब असर, ब्रुफेनको अत्यधिक प्रयोगले मृगौलामा पार्ने खराब असर) र अन्य औषधीहरु पनि सेवन गरिरहेको भए तिनीहरुसँग गर्ने प्रतिक्रियाबारे पनि ख्याल राख्नुपर्छ ।

त्यसैले अन्य औषधीहरु पनि खाइरहेको भए वा अन्य रोगहरु पनि भएको अवस्थामा डाक्टरको सल्लाहमा मात्रै यी औषधीहरुको सेवन गर्नु उचित हुन्छ ।

यी औषधीहरु सिटामोल, आइबुप्रोफन, क्याफिन वान्ता रोक्ने औषधी मेटोक्लोप्रामाइडआदीका विभिन्न कम्बिनेसनहरुमा पाइन्छन् ।

टाउको दुखाइ सामान्यभन्दा बढि भएको अवस्थामा माथि भनिएका औषधीहरुले काम नगर्न सक्छन् । त्यस्तो बेलामा ट्रिप्टान र एर्गोट समूहका औषधीहरु प्रयोग गरिन्छन्। यिनीहरुले माइग्रेन हुने कारणलाई नै कम गर्छन् अर्थात् रगतका फूलेका नलीहरुलाई खुम्चाउने काम गर्छन् ।

त्यसैले माइग्रेनमा यिनीहरु सामान्य दुखाइका औषधीहरुभन्दा बढि प्रभावकारी हुन्छन् तर यिनीहरुले माइग्रेन गराई रहेका रक्तनलीहरुलाई मात्र नभई अन्य अँगहरुका रक्तनलीहरुलाई पनि खुम्चाउने भएकोले मुटु, मष्तिस्क जस्ता विभिन्न अँगहरुमा खराब असरहरु देखिन सक्छन्। साथै यी औषधीहरु गर्भवती महिलाहरुमा प्रयोग गर्नु हुदैंन ।

डाक्टरको सल्लाहबिना यी औषधीहरुको प्रयोग गर्नुहुँदैन ।

भविष्यमा माइग्रेनको गर्न गरिने उपचार (Prophylactic treatment):

क) माइग्रेन गराउन सक्ने कारकबाट टाढा
– मानसिक तनाव
– जाँडरक्सी सेवन,
– चुरोटको धँवा
– चीज, चकलेटको सेवन
– अनिद्रा, खाली पेट बस्नु,
– झिमझिम गरिरहेका बत्तीहरु
– महिनावारीको बेलामा हुने हर्मोनहरुको गडबडी

ख) माइग्रेन कम गराउने औषधीहरुको सेवन
– एमीटिप्टालीन (Amitryptiline)
– प्रोपानोलोल (Propanolol)
– भेरापामील (Verapamil)
– इमीप्रामीन (Imipramine)
– गाबापेन्टिन (Gabapentin)

डाक्टरको सल्लाहमा मात्र यिनीहरुको प्रयोग गर्नुपर्छ। यी औषधीहरुको प्रयोग धेरै मात्रामा टाउको दुख्ने, महिनाको दुई पटक भन्दा बढि माइग्रेन अट्याक हुने, माइग्रेनले दैनिक जीवनमा धेरै नै असर गरेको अवस्थामा मात्र प्रयोग गर्ने गर्नुपर्छ । यी औषधीहरु लगातार रुपमा लामो समयसम्म खाइरहनुपर्ने हुन्छ ।


र यो पनि,

सरकारले नीति त बनाएको छ तर, त्यसको कार्यान्वयन भएको छैन

Tags :
प्रतिक्रिया दिनुहोस