सकारात्मक चिन्तन नै जीवन सुन्दर बनाउने उपाय हो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सकारात्मक चिन्तन नै जीवन सुन्दर बनाउने उपाय हो


७ पुस २०७४, शुक्रबार


जीवनबारे हरेक व्यक्तिका आ–आफ्नै धारणा रहेका हुन्छन् । यही नै हो भनेर ब्याख्या गर्न गाह्रो छ । तर यो चाहिँ सत्य हो कि जीवन साच्चै अमुल्य छ । यस धर्तिको सर्वोत्कृष्ट र सर्व शक्तिशाली प्राणी हो  ‘मानव जीवन’ । श्रृष्टिको यस ‘चमत्कारीक रचना’लाई जसले  ‘सुन्दर उपहार’का रुपमा ग्रहण गरेको हुन्छ उसले सोही अनुशार चलायमान रही सुकर्म मार्फत ‘सुनमा सुगन्ध’ थपिरहेको हुन्छ । अर्थात जीबनलाई ‘सार्थक’ बनाएको हुन्छ ।

गतवर्ष लोकसेवाबाट लिइएको सहसचिवको परीक्षामा एक नम्बरमा नाम निकालेका डा. नारायण रेग्मी सुदूरबाट उदाएका एक त्यस्तो व्यक्तित्व हुन् जसले आफ्नो जीवनलाई त चाहेको जस्तो बनाउन सके नै, भूगोल लगाएत परिवेश तथा परिस्थितिलाई दोष लगाएर पन्छिनेहरुका लागि समेत ‘मार्गदर्शक’ बनेका छन् । बिकट बाजुरादेखि सुविधासम्पन सिँहदरसम्म आइपुग्दा नेपाल सरकारका युवा सहसचिव डा. रेग्मीले तय गरेको ‘जीवन यात्रा’ लगायत विषयमा प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।

डा. सा’प जीवन के रहेछ ?
जीवन भनेको अनुभवको संगालो हो । हुन त यसबारे व्यक्तिपिच्छेको बुझाई फरक हुन्छ नै । जन्म र मृत्युको बीचमा गरिने कर्म नै जीवन हो । अर्थात् जीवन्तता नै जीवन हो । त्यो जीवन्तता कर्मसँगै लक्ष्य र उद्देश्यमा पनि हुनुपर्छ ।

जीवनमा कमाइने र गुमाइने कुरा भन्ने के रहेछ ?
जीवन अमूल्य छ । हामी मान्छेका रूपमा जन्मिनु नै अमूल्य हो । यसको केहीसँग पनि तुलना हुन सक्दैन । जीवनमा गुमाउनुपर्ने कुरा छैन, पाउने मात्रै छ । यो पाइनँ, यो गुमाए । यो हुन सकेन । ती सबै आशा र निराशा मात्रै हुन् । जीवन आफूभित्रै छ । म छु त सबै छ । म छैन त सबै छैन । गीतामा उल्लेखै छ नि । अहम् ब्रह्मास्मी सोहम् ब्रह्मास्मी ।

धन दौलत तथा गाडी घोडा, यी यावत् कुराहरुको वरिपरि मान्छे रुमल्लिरहेका देखिन्छन् यि सबै कुराहरु यहाँलाई के लाग्छन् ?
त्यो भौतिक बिलासिता हा । कोही केही नहुँदा पनि सन्तुष्ट छन् वा कोही पर्याप्त भएर पनि असन्तुष्ट छन् । भएर पनि सन्तुष्ट नहुने बिलासितालाई निड बेस भन्दा पनि ग्रिड बेस आवश्यकता भनिन्छ । लोभमा आधारित उत्प्रेरणा वा लोभमा आधारित जिन्दगी कहिल्यै खुसी हुँदैन । मभित्र पनि म छ भन्ने आत्म सन्तुष्टिको बोध हुनुपर्छ । त्यसकारण मलाई त जिन्दगीमा गुमाएको केही पनि लाग्दैन ।

यहाँले प्राप्ती हो जिन्दगी भन्नुहुन्छ, जिन्दगीमा के के पाएँजस्तो लाग्छ त ?
मैले पाएँ भन्दा पनि गुमाएको छैन भन्दा उपयुक्त होला । कसैले पनि सम्पूर्ण प्राप्ती गर्न सक्दैन । मेरो सन्दर्भमा म सँग जे छ त्यसमा म खुशी छु ।

बाँकी तपाइ र तपाइसंग जोडिएका कुराहरु के हुन् त ?
जीबन नियमित प्रक्रिया हो । जो कर्ममा नियमित लाग्छ, त्यसले केही न केही त प्राप्त गरिहाल्छ । प्राप्ति भनेको हिजोको कर्मको परिणाम पनि हो ।

हिजोको कर्मको परिणाम की आजको प्रयासको प्रतिफल ?
हिजो भनेको विगतको जिन्दगी होइन की, जुन हामीले कर्म गरेका थियौं त्यसको प्रतिफल हो भन्न खोजेको हो । आज हामीले केही काम गरेनौं भने भोली त्यसको प्रतिफल त त्यस्तै आउने हो नि त, हैन र ?

भोली राम्रोको अपेक्षा राखिन्छ भने आज त्यही अनुशार राम्रो काम गर्न जरुरी हुन्छ । त्यसैले अनुशासित र कर्मयोगी जीवनको प्रतिफल हो, प्राप्ति । तर, प्राप्ति नै सबैथोक होइन । चाहे सचिव हुन् वा मन्त्री । आज हुन्छन् । भोलि हुँदैनन् । त्यो त्यसैले क्षणिक आनन्द दिन्छ । तर, जीवन र यसको मर्म बुझेर दायित्व अनुसरण गर्दा प्राप्त हुने आनन्द नै दीर्घकालिन प्राप्ती हो ।

हरेक ब्यक्तिका जीवन प्रतिका आ आफ्नै भोगाइ र बुझाइ हुन्छन् तपाइ आफै पनि एक यूवा प्रशासक भएकाले सोध्न मन लाग्यो, युवाहरुको जीबनप्रतिको हेराइ कस्तो हुन्छ ?
हिन्दू धर्मका अनुसार जीवनका चार चरण छन् । ती ब्रम्हचार्य, गृहस्थाश्रम, वानप्रस्थ र सन्यास हुन् । पश्चिमी दर्शनले पनि जीवनलाई वाल्यावस्था, युवा, वयस्क र वृद्धा अवस्थामा वर्गीकरण गरेको छ ।

सबै चरणहरु युवाको चरण सबैभन्दा क्रिटिकल छ । युवाहरू कुनै पनि विचारलाई विश्लेषण गरी आत्मसात गर्न सक्ने अवस्थामा हुँदैनन् । उनीहरू विचलित हुने र दिशा पहिल्याउन नसक्ने सम्भावना हुन्छ । अन्ततः उनीहरू गलत दिशातिर पनि लाग्न सक्ने सम्भावना अत्यन्तै धेरै हुन्छ ।

नेपालको सन्दर्भमा पनि युवाहरुले सही मार्गदर्शन नपाएको अवस्था छ । जीवनको वास्तविक अर्थका बारे बोध कम भएका कारण उनीहरुले आफ्नो जीबनको मुल्य आफै निर्माण गर्ने क्षमता विकास भएको देखिंदैन । अर्को आध्यात्मिक भन्दा भौतिक पक्षलाई बढी जोड दिएको देखिन्छ । खासगरी युवाहरुकोमा स्वधारणाको अभाव भएका कारण जीवनको बुझाइमा अस्थिरता र बाह्य प्रभाव बढी देखिन्छ ।

तपाई के कारणले गलत बाटो लाग्नु भएन, त्यो सद्मार्ग के थियो, जसले तपाइलाई यहाँसम्म पुर्यायो ?
म एसएलसी दिइसकेपछि इन्डिया गए । त्याहाँ होटेलमा काम गर्न थाले । घरमा पिताजीको वात्सल्य प्रेम पाएर हुर्केको मान्छे, त्यहाँ काम गर्दा मेरो दिमागमा अनेक कुरा खेल्न थाले । मलाई आफ्नो मार्ग गलत लाग्यो । यतिकै काम घरमा गरेको भए त यो वितृष्णा, दुःख तथा कष्ठ हुँदैनथ्यो भन्ने दिमागमा खेलिरह्यो ।

सोच, चिन्तन र जीवनबाट विचलित हुनु भनेको वहिर्गमन हो भन्ने लागिरह्यो । हरेक पटक मनमा त्यही कुरा खेल्न थालेपछि त्यहाँ बस्ने मनै लागेन । म दुई महिनामा त्यहाँबाट फर्के । त्यो बेला म १६ वर्षको थिएँ । त्यसपछि मैले पढाइमा ध्यान दिन थालेको हो । त्योभन्दा अगाडि म स्कुलमा पनि अरु साथीहरू जस्तै थिएँ ।

मेरो मान्यता युवाहरूले स्व–अध्ययन गर्नुपर्यो भन्ने हो । युवाहरुमा स्वअध्ययनको कमी छ । आफूलाई अध्ययन गरिसकेपछि आफ्नो बाटो आफै पहिँल्याउन सक्छन् । आफ्नो क्षमता बृद्धिमा केन्द्रित हुने वित्तिकै आफ्नो क्षमता थाहा हुन्छ । त्यो क्षमता थाहा भइसकेपछि आफ्नो भविष्य पनि थाहा हुन्छ । म सरगरमाथा चढ्छु की चढ्दिनँ ? मलाई दम लाग्छ की लाग्दैन ? म फिजिकल्ली ठिक छु की छैन ? जस्ता कुरामा ध्यान नदिइ अरु गए म पनि जान्छु भनेर हुँदैन । त्यसैले युवाहरूले जीवनमार्ग तय गर्न हिँड्न आत्म समीक्षा गर्नुपर्छ ।

अर्काे कुरा, समाजबाट स्थापित मूल्य र मान्यतालाई आफ्नो ठाउँमा राखेर त्योभन्दा माथिको बाटो पनि हिड्न सक्नुपर्छ । यसो गर्न किनपनि जरुरी छ भने कतिपय सामाजिक मूल्य मान्यता सही पनि हुँदैनन् । सामाजिक मूल्य मान्यतालाई जज गर्न सक्ने र आफ्नो आत्माले उपयुक्त ठानेको काम गरेपछि जिन्दगी बन्छ । यसले व्यक्ति रूपान्तरणसँगै समाजमा सकारात्मक योगदान पुग्छ । मैले अपनाएको मार्ग नै यही आत्म समीक्षाको मार्ग हो ।

युवालाई वर्तमानको चिन्ता बढी हुन्छ की भविष्यको ?
यो अलि मनोवैज्ञानिक पाटो भयो । सबै युवामा उस्तै चिन्ता हुन्छ भन्ने पनि छैन । उ हुर्केको सामाजिक तथा सांस्कृतिक परिवेशको ठूलो प्रभाव हुन्छ । उनीहरू कुन स्कुलिङमा छन् । त्यसमा पनि भर पर्छ ।

तर, सामान्यरूपमा अधिकांश युवाहरू भविष्यप्रति कम चिन्तित हुन्छन् । मनोवैज्ञानिक विकासवादी दृष्टिकोण अनुसार त्यो उमेरको विशेषता भनेकै तत्काल खुसी हुने, रमाउने र भविष्य बारे केही सोच्ने नै हो । तर त्यो कुरा सबैमा भने लागू हँदैन । कुनै युवाहरू भविष्य पनि देख्छन् । कतिपय युवा तत्कालमा रमाउँछन् । त्यो उनीहरूको दोष होइन ।

किशोरावस्थाको विशेषता नै त्यही हो । मनोवैज्ञानिक हलेकका अनुशार– ‘तत्काल रमाउने, पियर ग्रुपबाट बढी प्रभावित हुने युवाहरूको विशेषता हो ।’ तत्काल केही सोचेको पुरा भएन भने रिसाइहाल्ने गर्छन् । किनभने म्याच्युरिटी भएको हुँदैन । उमेर बढे पनि म्याच्युरिटी बढेको हुँदैन । त्यसैले अब बच्चाहरूको उमेरसँगै उसको परिपक्कता लेबल बढ्यो या बढेन भनेर लेखाजोखा गर्नुपर्छ ।

कोही एघार वर्षको बच्चा बढी परिपक्व भएर बाउ आमा जस्तो भइदिन्छ । त्यो पनि राम्रो होइन । कोही १९ वर्षको हुँदा पनि खेलौना खेलिरहेको हुन्छ । त्यो पनि राम्रो हुँदैन । परिपक्वता सिकाई र भोगाइको अनुभवबाट आउने भएकोले परिपक्वता परीषण गर्नुपर्ने देखिन्छ ।

सुन्दर वर्तमानले मात्रै सुनौलो भविश्य बनाइरहेको हुन्छ अर्थात जसले वर्तमानलाई सुन्दर बनाउन सक्छ, उसैले मात्रै भविश्यमा पनि सुन्दरताको उपभोग गर्न सक्छ भन्ने कुरालाई कसरी लिनुहुन्छ ?
दार्सनिक तथा समाज सुधारकहरू बाटै हामीले सिक्नुपर्ने हुन्छ । तिनले भविष्यको चिन्ता नगरिकनै वर्तमानलाई सुन्दर बनाइरहेका हुन्छन् । भविष्य बनाउन पनि वर्तमानमा काम गर्नै पर्ने हुन्छ ।

सुन्दर भविश्य सुन्दर वर्तमानबाटै सम्भव छ । वर्तमानलाई आफ्नो अनुकुल बनाएमा भविश्य आफै अनुकुल हुन्छ ।

कसरी सुन्दर बनाउन सकिन्छ त वर्तमानलाई ?
वर्तमान सुन्दर बनाउने दुइटा विधि छन् । पहिलो मान्छेले सकरात्मक चिन्तन गर्नुपर्यो की मेरो जीन्दगी मेरो हातमा छ । जसरी ड्राइभरको हातमा स्टेरिङ हुन्छ, त्यसैगरी मेरो जिन्दगी मेरो हातमा छ भनेर उसले महसुस गर्नुपर्यो । जव उसले महसुस गर्छ तव के नराम्रो के सुन्दर भन्ने कुरा थाहा हुन्छ र सुन्दर बनाउन लाग्छ । अनि त्यो सुन्दर हुन्छ ।

आफ्नो जिन्दगी अरूको हातमा दिएर त्यो सुन्दर हुँदैन । मैले धेरै मान्छेहरूलाई देखेको छुँ जसले आफ्नो कलेजो तथा लिभर अथवा शरीरका अन्य पाटपुर्जाहरुलाई समेत माया गर्दैनन् । उनले अरूलाई तिमीलाई माया गर्छु भनेर फुक्दै हिँडेको हुन्छन् र मान्छे त्यसैमा रनभुल्ल भइरहेको हुन्छ ।

जो मान्छे रक्सीले असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि सेवन गर्छन्, त्यस्तो मान्छेले कसरी जीवन सुन्दर बनाउँछ ? बनाउँदैन नि । सकारात्मक चिन्तन नै जीवन सुन्दर बनाउने पहिलो उपाय हो । सुन्दर जीवन बनाउने अर्को तरिका भनेको समाजभित्र आफूलाई पोजेटिभ्ली एकाकार गर्ने हो । किनकी पृथक पृथक मान्छेहरू भएर नै समाज बनेको हो । त्यहाँ भित्र आफ्नो स्थान त आफैले तय गर्ने हो नि । अनि जीवन सुखी र समृद्ध हुन्छ ।

सोचे जस्तो हुन्न जीबन भनिन्छ नि, किन मान्छेले चाहेर पनि जीवनलाई सोचेजस्तो बनाउन सकेको हुँदैन ?
स्वभावत जीन्दगीमा उतार चढाव हुन्छन् नै । जो मान्छेहरु यसलाई सहज रुपमा लिन सक्दैनन् ति मान्छेहरूमा विचलन आउँछ । सुन्दरता टिकाउन धेरै गारो छ नि । जस्तै : फूलको सुन्दरता पनि क्षणिक हुन्छ । जुन चमकता छ, त्यो सधै उस्तै कहाँ रहन्छ र !

सुन्दरताको आयु नै छोटो हुन्छ । मान्छेको जीवनको आयु पनि त्यही भएर छोटो भएको होला । सायद मान्छेको आयु चार सय वर्ष भइदिएको भए मान्छेको जीवनमा सुन्दरताको यति धेरै महत्व नै हुन्थेन होला । त्यसैले सुन्दरता क्षणिक हुन्छ । त्यो फिलिङ्स हो । त्यो फिलिङ्स इमोसनसँग हुन्छ ।

जीबन जीउने क्रममा मान्छे विचलित हुन्छ । उसले सधैँ उस्तै खोजिरहन्छ । एउटा फ्याक्टरले दिने सुख सधै दिइरहोस् भन्ने चाहन्छ । त्यो बिलकुल हुँदैन । तपाईँलाई कुनै फ्याक्टरले दिने सुुख क्षणिक मात्रै हुन्छ । हिउँदमा दिने सुख हिउँदमा मात्रै हुन्छ, बर्खामा हुँदैन । बर्खामा आउने सुख बर्खामा मात्रै आउँछ, हिउँदमा आउँदैन । यो कुरा मान्छेले रियलाइजेसन नगरुन्जेलसम्म ऊ दीर्घकालसम्मका लागि सुख पाउन सक्दैन । सुन्दर जीवन बनाउन सक्दैन ।

उ डेभियट भयो नि । उसले प्राकृतिक कुरालाई बिर्सेर गलत अपेक्षा गर्दै छ । हामीले बसन्तलाई सिसिरमा आइजा भन्यो भने त आउँदैन नि । प्रकृतिसँग आफूलाई एडजस्ट गर्नुपर्यो । अनि मात्रै जीवन सुन्दर बन्ने हो । युवाहरूले अहिले बुझ्नुपर्ने कुरा के हो भने म प्रकृतिसँगै छु अर्थात म समाजसँगै छु । म समाजभन्दा भिन्न होइन ।

धेरैले भन्ने गरेको ‘सुन्दर जीवन’ के हो जस्तो लाग्छ यहाँलाई ?
सुन्दर जीवन भनेको गतिशील विषय हो । फेरी यो सुन्दरता भनेको के पनि हो भने जोगाइ राख्ने कुरा पनि हो जस्तोः एकपटक बनेको सुन्दर जीवनको गरिमा राख्न सकिएन भने भोलिपल्टै कुरूप हुन्छ । मानवीय जीवनको गरिमा कायम राख्न सकेनौं भने भोलिदेखि नै दानब भन्छ नि मान्छेले । सुन्दर जीवन पाउने संगसंगै यसलाई जोगाउन प्रयास गरिरहनुपर्यो र हरेक दिन नयाँ उपलब्धिहरू हुनुपर्यो । यसका लागि हरेक दिन नयाँ प्रयास हुनुपर्यो ।

भनेजस्तो भएन या गर्न सकेन भने मान्छे समयलाई दोष दिन्छ । यानेकी आफु अनुशार हुन नसकेकोमा दुखि हुन्छ । प्रतिकूल अवस्थालाई कसरी अनुकूलतामा बदल्ने ?
अधिकांश मान्छेहरू सामाजिक, आर्थिक, राजनीतिक वा पर्यावरणीय अवस्थाले सफल हुन सकिँन भन्ने आरोप लगाउँछन् । सफल मान्छेहरूले परिस्थिति र परिवेशलाई दोषारोपण गर्दैनन् । बरु, धन्यवाद दिन्छन् । चाहे परिस्थिति र परिवेशले सहयोग गरून् वा नगरून् ।

नकारात्मकताबाट हेर्यौं भने परिस्थितिलाई र अरू वातावरणजन्य कुरालाई हामी आफ्नो बाधा ठानेर बस्छौं । त्यो गलत हो । जस्तोसुकै चुनौती आए पनि त्यसलाई बल, बुद्धि र सामथ्र्यले समाधान गर्ने हो । त्योसँग जुध्ने हो, भाग्ने होइन । भाग्नु जीवन होइन ।

र यो पनि,

व्यक्तिगत रूपान्तरणबाट सुशासनलाई सर्बव्यापी बनाउन सकिन्छ

Tags :
प्रतिक्रिया दिनुहोस