मुक्तकमैया सामूहिक माछापालनमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुक्तकमैया सामूहिक माछापालनमा


२९ मंसिर २०७४, शुक्रबार


 

भीमदत्तनगर । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् ।

यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् ।

वि.सं. २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् ।

सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भने– द्धविगत वर्षमा वार्षिक तीन लाखसम्म नाफा भएको थियो ।’

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)ले समूहमार्फत मुक्तकमैया किसानलाई माछापालनमा सहयोग गर्दै आएको छ । ‘पहिले तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुन्थ्यो,’ चौधरीले भने– ‘यस याममा  १० लाखको माछा बिक्री गर्ने योजना बनाएका छौंँ ।’


आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् ।


पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ । स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हुँदै गइरहेको बताउछन् ।

‘चैतसम्म माछा बेच्ने समय हो,’ उनले भने– ‘दैनिक माछा बिक्री भइरहेको छ ।’ माछापालनमा आवद्ध किसानले बजारको समस्या नरहेको बताएका छन् । अहिले माछा प्रतिकिलो २५० देखि रु ३०० सम्ममा बिक्री भइरहेको छ ।

आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले २६ हजार तथा एनएनएसडब्लुएले २१ हजार माछाका भुरा सो समूहलाई उपलब्ध गराएको छ ।

माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् । उनीहरुले तालको ठेक्काबापत वार्षिक एक लाख ५० हजार नगरपालिकालाई तिर्दैआएका छन् ।

‘मुक्तकमैयाको आयस्तर उकास्न ताल समुदायलाई नै हस्तान्तरण गरिदिए हुन्थ्यो,’ स्थानीयवासी कृपाराम चौधरीले भने– ‘नगरपालिकाले वार्षिक रुपमा समूहलाई ठेक्का दिएर रकम लिइरहेको छ ।’


माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् ।


त्यसैगरी, बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन थालेका छन् । यहाँको कर्णाली टोलका स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेका हुन् । समूहका कोषाध्यक्ष सावित्रा रावलका अनुसार उनीहरुले समूहमार्फत डेढ बिघा खेतमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । यसका लागि एनएनएसडब्लुएले प्राविधिक सहयोग गर्दैआएको छ ।

‘शुरुवातमा ६ लाख लगानी गर्यौँ,’ उनले भने– ‘अब माछा बिक्रीका लागि तयार हुँदैछन् ।’ माछापालनका साथै किसानले सामूहिक रुपमा तरकारी खेतीसमेत गरिरहेका छन् । सो समूहमा ४५ परिवार आवद्ध छन् । उनीहरुले मासिक ५० बचत गर्दै आएका छन् । एनएनएसडब्लुएले बेलौरीमा किसानलाई व्यावसायिक बनाउन तरकारी खेती, माछापालन, बंगुरपालन र च्याउखेतीमा सहयोग गरिरहरहेको छ ।

एनएनएसडब्लुले समुदायमा आधारित जीविकोपार्जन तथा दिगो खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत आर्थिक र प्राविधिक सहयोग गरिरहेको कार्यक्रम संयोजक राजकुमार सुनारले बताए । उनले सोभाताल र कर्णाली टोलमा माछापालन तथा च्याउखेतीका लागि बेलौरी नगरपालिकाका १३ वटा स्थानमा संस्थाले सहयोग गर्दै आएको बताए ।

‘हामीले गर्ने सहयोग आर्थिक अनुदानदेखि प्राविधिकसम्म हो,’ संयोजक सुनारले भने– ‘उत्पादित बस्तुको बिक्री वितरणका लागि सम्बन्धित निकायसित छलफल गरिहेका छौँं ।’

Tags :
प्रतिक्रिया दिनुहोस