मंसिर २९ गते, २०७४

आफूलाई मतदान गर्न नसक्ने यी उम्मेदवार

काठमाडौं । आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् ।

मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म छन् । आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उनीहरूले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् ।

मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनी प्रावधानका कारण उनीहरूले आफ्नो मत आफूलाई सुरक्षित गर्न नसकेका हुन् ।

झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाएनन् । उनी भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूलाई मतदान गर्न पाएनन् । उनको मतदाता नामावली रौतहटमा छ ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार उपप्रधानमन्त्री तथा माओवादी नेता कृष्णबहादुर महरा, सोही क्षेत्रको प्रदेशसभा सदस्य ‘क’ बाट उम्मेदवार एमाले नेता शंकर पोखरेलको पनि आफूलाई मत हाल्न पाएनन् । उपप्रधानमन्त्री महराको रोल्पामा मतदाता नामावली नाम भएका कारण तथा एमाले नेता पोखरलेको क्षेत्र नं २ को प्रदेशसभा ख मा मतदाता नामावलीमा नाम भएका कारण आफूलाई मतदान गर्न नपाएका हुन् ।

काठमाडौंमा मतदाता नामावलीमा नाम रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला काठमाडौंबाटै मतदान गर्दै छन् । उनी प्रदेश नं. ४ अन्तर्गत नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । उनले नवलपरासीबाट आफू काठमाडौंमा मतदानका लागि आएको जानकारी दिए ।

काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार रहेका पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहले पनि आफूलाई मतदान गर्न पाएनन् । उनले काठमाडौं क्षेत्र नं. ७ बाट मतदान गरे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं. ३ का उम्मेदवार भएपनि उनको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं. १ मा परेपछि आफूmले आफैँलाई मतदान गर्न पाएनन् ।

वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौं क्षेत्र नं. १ मा भएकाले उनले पनि आफूले आफैँलाई मतदान गर्न पाएनन् ।

अर्थमन्त्री एवम् कांग्रेसबाट सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार डा. प्रकाशशरण महत, कांग्रेसबाट कैलाली क्षेत्र न. ५ की उम्मेदवार डा. आरजु देउवा, भक्तपुर क्षे नं. २ का उम्मेदवार दमननाथ ढुंगानाले पनि आफूलाई मतदान गर्न पाएनन् ।

कांग्रेसका तर्फबाट उम्मेदवाहरू डा. महतले नुवाकोटमा मतदाता नामावलीमा नाम भएका कारण, भोजपुरका मतदाता रहेका कारण कार्कीले, डडेल्धुरामा नामावली रहेका कारण डा. राणाले र काठमाडौँको मतदाता रहेका कारण ढुंगानाले मतदान गर्न नपाएका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा मतदाता नामावली नाम भएका माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । पश्चिम रुकुममा मतदाता नामावली रहेका नेकपा माओवादी केन्द्रका नेता अनिलकुमार शर्मा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार छन् भने रोल्पामा मतदाता नामावली भएका झक्कुप्रसाद सुवेदी काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएका छन् ।

माओवादीका तर्फबाट उम्मेदवार बनेका शाक्य, शर्मा र सुवेदी तीनैजनाले आफैँलाई मतदान गर्न पाएनन् । उनीहरूले आफ्नो मत आफूलाई हाल्न पाउने चाहना भए पनि नसकिएको प्रतिक्रिया दिए ।

काठमाडौं क्षेत्र १ का उम्मेदवार शर्माले भने, ‘आफ्नो मत आफैँलाई दिन नपाउँदा खल्लो अनुभव भएपनि लाखौं मतदाताका बीचबाट राष्ट्र निर्माणको जिम्मेवारीमा रहेकाले खुशी नै लागेको छ ।’

आज बिहान मोरङबाट मतदान गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उम्मेदवार छन् । उनले आफूले आफूलाई मतदान गर्न नपाएको सन्दर्भमा भने, ‘जहाँ मतदान गरेपनि सबै आफैँलाई नै त हो ।’

सर्लाहीका मतदाता तथा राजपा नेता राजेन्द्र महतो धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवार छन् । उनले ‘कानुनी तथा व्यावहारिक कारण आज मतदान गर्न सकिएन, तर पनि म लाखौं मतदाताको बीचमा छु, त्यसैमा खुशी छु’ भने ।

ललितपुर भैंसीपार्टीका मतदाता तथा विवेकशील साझा पार्टीका अध्यक्ष्य रविन्द्र मिश्र काठमाडौं क्षेत्रं १ बाट उम्मेदवार छन् । उनले पनि आफूलाई मतदान गर्न पाएनन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा १ मा भनिएको छ–कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावली नाम दर्ता भएका मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडाको निजलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ ।

मंसिर २१ गते, २०७४ - बेलुकी ०१ः०६ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg