मंसिर २९ गते, २०७४

कामको मूल्यांकन भए जस्तो लागेको छ

‘इन्टिग्रिटी आइडल २०१७’ को उत्कृष्ट ५ मध्येकी एक हुन्, सवनम पाठक । उनले चितवनका चेपाङ समुदायलाई वन संरक्षणमा लगाउन मात्र होइन, उनीहरुको जीवनस्तर उकास्न नै महत्वपूर्ण भूमिका खेलिन् । कञ्चनपुर बस्दा होस् या चितवनमा नै, महिला कर्मचारीलाई कमजोर सोच्ने परम्परागत सोचलाई धेरै हदसम्म तोड्दै महिलाले पनि पुरुष जतिकै काम गर्न सक्छिन् भन्ने कुरा प्रमाणित समेत गरेकीछिन् । आँट र हिम्मत भए महिलाहरू जस्तोसुकै काम गर्न सक्ने उदाहरण बनेकी पाठकसँग प्रशासन डटकमका एसराज उपाध्यायले गरेको कुराकानी ।

‘इन्टिग्रिटी आइडल २०१७’ को उत्कृष्ट ५ मा पर्नुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
मेरो कामको सही मूल्यांकन भयो भन्ने लागेको छ । म गौरवान्वित पनि छु । जबकी नेपाल सरकारले मेरो कामको खासै मूल्यांकन गरेको थिएन । अहिले मूल्यांकन भयो, जसले गर्दा पब्लिकमा पनि काम गरेको म्यासेज गएको छ । यसले निश्चय नै मलाई खुसी तुल्याएको छ । जिम्मेवार भएर काम गरिरहेको अनुभूति भएको छु ।

यो काम त राज्यले गर्नुपर्ने होइन र, यहाँलाई के लाग्छ ?
पक्कै पनि । तर, विडम्बना त्यो हुन सकेको छैन । अर्काे कुरा यो कार्यक्रम सुरु भएको चार वर्ष भए पनि प्रचारप्रसार निकै कम छ । यद्यपि यसले केही कर्मचारी चिनिन पाएका छन् । भोटिङका कारण चिनिने मौका पनि छ । त्यससँगै टेलिभिजन र पत्रपत्रिकाबाट पनि चिनिने भइयो । मसँग समूहमा जाने मान्छे र कर्मचारीले मेरो कामबारे मिडियाबाट थाहा पाउने भए । यसले केही सहयोग पुर्याउँला भन्ने लागेको छ । अर्काे कुरा, यस कार्यक्रम सरकारका लागि समेत चुनौती पनि हो किनभने राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने पहिलो काम भनेको सरकारकै हो र सरकारी तवरबाटै यो भइ दिएको भए अझ राम्रो हुन्थ्यो ।

प्रायः मान्छे सोचेजस्तो हुँदैन भन्छन् तर, तपाईँले सोचेको क्षेत्रमा जागिर पाउनुभयो नि, प्रकृतिप्रेमीलाई वन क्षेत्रमा काम गर्न पाउनुमा कतिको भाग्यमानि ठान्नुहुन्छ ?
म एकदमै भाग्यमानी ठान्छु । प्रकृतिलाई हेरेर म जुन हिसावले छिरेको थिएँ, त्यति नै चुनौतीपूर्ण पनि रहेछ । जति जति म काममा भिज्दै गएँ त्यति त्यति असाध्यै चुनौतीपूर्ण रहेछ । किनभने यो खुला सम्पत्ति हो । यसमा हरेक व्यक्तिको पहुँच र अधिकार छ ।

जस्तो : प्रहरीलाई मान्छेको सुरक्षा गर्न सजिलो छ तर हामीलाई जंगल सुरक्षा गर्न गाह्रो छ । किनभने जंगल बोल्दैन र हिँड्दैन । रुख काट्दा एैया पनि भन्दैन । अहिले राति रुख काट्ने नयाँ नयाँ साधन आएको छ । काटेर टुक्राएपछि त सकियो नि ।

त्यसपछि त्यस्तै रुख खडा गर्न ६० वर्ष कुर्नुपर्छ । समाजमा रुख काट्ने हाम्रो अधिकार हो भन्ने सोचाइ थियो । त्यहाँ गएर सर्वसाधारणलाई चेतना दिएर काम गर्नु निकै चुनौतीपूर्ण पनि हो । चुनौतीसँगै काम गर्न मजा पनि आउँछ । आफुले काम गरेको क्षेत्रमा देखिने गरी केही परिवर्तन ल्याउन सकेकोमा भाग्यवानी नै ठान्छु ।

आफूले चाहेको काम गर्दा लक्ष्य पूरा गर्न सहज हुन्छ भनिन्छ नि, तपाईँलाई कतिको सके जस्तो लाग्छ ?
यो खुला सम्पत्ति हो । यसलाई जगेर्ना गर्न परीक्षा नलिई सकिँदैन । यो भनेको टिम वर्क हो । समूहमा काम गर्नुपर्छ । सरकारदेखि जनतासम्म सबैले जोगाउन खोज्यो भने मात्रै जोगिन्छ । म एउटाले गरेर हुँदैन । तर, मैले सरकारले दिएको जिम्मेवारीमा रही काम गरेको महसुस गरेको छु । र, केही परिणाम पनि देखिएको छ ।

उसै पनि महिलाहरू घरबाहिर निस्कन हिच्किचाउने समयमा वनको जागिर खान कञ्चनपुर पुग्नुभयो, कस्तो रह्यो अनुभव ?
सुरुमा मलाई साह्रै अप्ठ्यारो भयो । किनकी त्यतिबेला नारायणगढबाट कञ्चनपुरसम्म जाने बस नै थिएन । नेपालगन्ज हुँदै भारत भएर कञ्चनपुर पुगेको थिएँ । त्यतिबेला कर्णालीमा पुल पनि थिएन । फेरीमा बसबाट वारपार गर्नुपथ्र्याे । त्यसरी जागिर गर्नु कम्ता चुनौती थिएन ।

त्यतिबेला त्यहाँ महिला बाहिर निस्कनु हुन्न, घरबाहिर गएर पढ्न जानुहुन्न र एक्लै बसको यात्रा गर्नुहुन्न भन्ने सोच थियो । महिला कर्मचारी आयो भने राम्रो नियत होइन भन्ने त्यहाँको सोचाइ थियो । तर, चितवनमा त्यस्तो अवस्था थिएन । हामी अलिकति खुलै वातावरणमा हुर्किएका थियौं । चितवनमै साइकल सिकेको थिएँ । मोटरसाइकल कञ्चनपुर गएर सिकेको हो । त्यहाँ केटाले मोटरसाइकल चलाएको देखेँ । त्यसपछि मलाई पनि सिक्न मन लाग्यो । र, सिकेँ ।

जब म बाइक चढेर बजार जान्थे । सबै मान्छे अवाक् परेर हेर्थे । चिया पिउन पसलमा जाँदा पसलेले पनि केटी मान्छे चिया खान आयो भनेर छक्क पर्थे । त्यस्तो खालको सोचाइ हुन्थ्यो । अनि म केटा र केटीमा के फरक छ भनी सोच्थे । प्रायःजसोसँगै यसबारेमा बहस गर्थे ।

एक दिन म आफ्नो क्वाटरमा सुतिरहेका बेला डिएफओ सा’प माधव अर्यालले मलाई भेट्ने मान्छे आएको जानकारी दिनुभयो । त्यहाँ जाँदा मलाई हेर्न १०–१२ जना आउनुभएको रहेछ । म छक्क परेँ र उहाँहरूसँग भेट्नुको कारण सोधेँ । उहाँहरूले केटी रेन्जर कस्तो हुँनुहुँदो रहेछ भनेर भेट्न आएको जवाफ दिनुभयो । त्यसपछि त म झन् दंग परेँ ।

केही दिनपछि मैले फिल्डमा जाने निर्णय गरेँ । हाकिम सा’पले अफिसमै काम गर्नुस् भन्नु हुन्थ्यो । तर, मैले फिल्डमै जान चाहेँ । उहाँहरूसँगै जान्थे । मैले अठार वर्षमै जागिर सुरु गरेको हो । त्योबेला साच्चै भन्ने हो भने म फ्रक–स्कट लगाएर जान्थे । कञ्चनपुरमा मैले धेरै काम त गरिनँ । पाँच महिनापछि म चितवन सरुवा भएँ । आफ्नै ठाउँ सरुवा हुँदा मलाई अर्कै फिल भयो ।

भनेपछि महिलाले चुनौतीपूर्ण काम गर्न सक्दैनन् भन्ने आम मानसिकतालाई गलत सावित गरिदिँदा केही हदसम्म भए पनि महिलालाई हेर्ने दृष्टिकोणमा फरक ल्याउन सके जस्तो लाग्छ ?
पक्कै पनि परिवर्तन आयो । अन्त त जानै परेन, हाम्रो अफिसमै परिवर्तन आयो नि । जस्तो : मेरो शाखामा म प्रमुख छु । दुई जना सहयोगीहरू हुनुहुन्छ । बाहिरबाट आएको मान्छेहरू पहिले उहाँहरूलाई नमस्कार गर्छन् । सहयोगीहरुले मेरो बारेमा भनेपछि मात्र दोस्रो चोटी मलाई नमस्कार गर्छन् । मलाई यो हाम्रो हेपाई हो भन्ने लाग्थ्यो । यसलाई चेन्ज गर्नुपर्छ भन्ने लाग्यो ।

कालिका र सिनर्जी एफएमले मलाई अन्तर्वाताका लागि बोलाउँथे । त्यो अन्तर्वाता सुनेर मेरो अफिस हेर्ने आउनेको लाइन लाग्यो । आम जनता मेरो अन्तर्वार्ता सुनेर अचम्म पर्थे । इभन चितवमा पनि ।

चितवनमा कार्यालयमै काम गर भन्दा पनि किन फिल्डमा जान्छु भन्नुभयो, सजिलो काम दिन खोज्दा फिल्डको अफ्ठेरो रोज्नुको कारण ?
मलाई चुनौतीपूर्ण काम गर्न मजा आउँछ । यो मेरो नेचर पनि होला । पहिलो, म जंगलमा रमाउने मान्छे । दोस्रो, मलाई सबै काम सिक्नु थियो । अफिस र फिल्डको । मलाई के लागेको थियो भने प्लान, वन जोगाउने र नर्सरी सम्बन्धी कुरा जाने मात्र म पोख्त हुन्छु । अफिसमा काम गर्दा फिल्डमा जानुपर्यो भने आउँदैन भन्नु भएन नि !

आपूm सक्षम भयो भने कही पनि डराउनु पर्दैन र काम गर्न सजिलो हुन्छ । म बच्चा पाएको ६१ औँ दिनमा बच्चा बोकेर जंगल गएको हो । जनतासँग काम गरेकै हो । कवुलियती वनमा पनि काम गरेको हो । सामुदायिक वनमा पनि काम गरेको हो । चितवनमा रहँदा उतिबेलाको रातो डाँडालाई सामुदायिक वन बनाइ हरियाली बनाइयो । म त्यहाँको उपभोक्ता पनि हुँ । त्यसले गर्दा पनि मलाई सजिलो भयो । यी सबै कुरा उहाँहरूलाई बुझाउँदा हातले लेखेको हस्तलिखित कार्ययोजना पनि मसँग छ । त्यतिखेर अफिसमा कम्प्युटरै थिएन । जुन अहिले सम्झिदा पनि आनन्द आउँछ ।

वन र वन्यजन्तुको संरक्षणका लागि महिलामा चेतना जगाउनु पर्छ भन्ने अवधारणा ल्याउँदा हाँसोको पात्र पनि बन्नुभयो । तर, पनि विचलित नभई लाग्नुभयो ? त्यसको परिणाम देखिन कति समय लाग्यो ?
परिणाम देखिन त निकै समय लाग्यो नि । अवधारणा हास्यास्पद किन भयो भन्दा जंगल पूरा सखाप थियो । अनि जंगली जनावरबाहिर निस्किन थाले । कृषि कर्ममा बढी महिला संलग्न छन् । त्यसकारण उनीहरू सबैभन्दा बढी आक्रमणको सिकार हुन्थे । यसको लागि महिलाहरु मिलेर बनजंगल संरक्षण गर्नुपर्छ भन्दा पत्याएनन् र हासोको रुपमा लिए । तर पछि मैले निरन्तररुपमा उनिहरुलाई सम्झाउदै गएँ । जनावर किन यहाँ आए ? यसको बाटो कुन थियो ? हामीले यसलाई डिस्टप गर्यौं की कसरी तपाईँहरू आक्रमणमा पर्नुभयो ? भनेर सम्झाएँ ।

नेसनल पार्कबाहिर मध्यवर्ती क्षेत्र बनाइयो । मध्यवर्ती क्षेत्र बनाउन आवाज उठाएँ । किनभने जनावर केही खानका लागि निस्कने हो । जनावरको संख्या बढ्यो । जंगलमा खान नपुगेर बाहिर निस्कने हुन् भनेर बुझाएँ । पछि मानव–वन्यजन्तु द्वन्द्व सम्बन्धी चितवन राष्ट्रिय निकुञ्जमा भएको एक सेमिनारमा म पनि सहभागी भएको थिएँ । त्यहाँ मैले एक कार्यपत्र प्रस्तुत गरेकी थिएँ । त्यसपछि उहाँहरूले मलाई बोलाउनुभयो । र, महिला ग्रुप राखेर सामुदायिक वन बनायौं ।

सर्वसाधारणलाई सामुदायिक वनमा जाँदा जनावरबाट कसरी बच्ने तरिका सिकाइयो । वनमा गर्भवती महिला तथा बच्चा लिएर नजाने, घाँस ल्याउँदा कुन बाटो जाने कुरा जानकारी दियौं । अहिले सौराहमा टुरिष्ट आउँछन् । उनीहरू आफ्नो सानो डालो ढक्की बुनेर पनि त्यहाँबाट आयआर्जन गर्नुभएको छ । त्यहाँ जंगली जनावर हेर्न सकिन्छ । नजिकको बाघमारा सामुदायीक वनमा हात्ती पालिएको छ । त्यसले वनको आयआर्जनमा टेवा मिलेको छ ।

जस्तो : त्यहाँ चौधरीहरूले स्टिक डान्स देखाएर आम्दानी गरिरहेका छन् । अहिले उनीहरू कृषिभन्दा त्यो पेसाबाट बढी कमाउँछन् । यसले मलाई खुसी दिएको छ । आम सर्वसाधारण पनि लाभान्वित भएका छन् ।

वन फँडानीलाई परम्पराजस्तै बनाएका चेपाङलाई समेत संरक्षणमा सहभागी गराउनुभयो, कसरी उनीहरूलाई संरक्षणबारे बुझाउनु भयो ?
उनीहरूले काठ बेच्ने उद्देश्यले वन फँडानी गरेका होइनन् । उनीहरूको खान र लाउन समस्या छ । कुनै एक ठाउँमा फाड्यो, त्यहाँ पहिलो र दोस्रो वर्ष खेती हुन्छ । मल नहालेकाले तेस्रो वर्ष खेती हुँदैन । खेती नभएपछि उनीहरू अर्काे ठाउँ जान्छन् र वन फँडानी गरेर बस्छन् । उनीहरूको उद्देश्य फरक थियो । सामुदायिक वन फँडानी हुनु र चेपाङको खोरिया फँडानी हुनुको उद्देश्य फरक हो ।

चितवनको उपरदाङगढी हेर्न जाँदा चेपाङ गाउँ देखेँ । त्यहाँ १०६ घरधुरी रहेछ । बस्तीमा पुग्दा सात–आठ वर्षको बच्चाले लुगै लगाएको छैन । जाडोमा पनि आगोको वरिपरि बस्छन् । सेतो खरानी र तेल दलेर आगोको वरिपरि सुताउने । यसले जाडो कम हुन्छ । तर, त्यसले स्वास्थ्यमा पार्ने असरबारे उनीहरूलाई थाहा छैन । किनभने हातमुख जोड्नै पाइरहेको छैन । एकसरो लुगै लगाउन पाइरहेको छैन ।

वार्षिक आम्दानी २५ सयभन्दा पनि कम र तीन महिनाभन्दा बढी खान नपुग्ने परिवारलाई आबद्ध गराउन सरकारले कवुलियती वनको अवधारणा ल्यायो । त्यसको २० समूह चितवनमा भएकाले म त्यो बस्तीमा कार्यक्रम लिएर गएँ । तर, उहाँहरू भाग्नुभयो । त्यसपछि मैले चिनी, चियापत्ती र भुजा लिएर गएँ । त्यो खान पाइने आशामा उनिहरु मेरो वरिपरि लाग्नुहुन्थ्यो ।

त्यही बेलामा मैले सबैलाई कुरा बुझाए । उहाँहरूलाई समूह बनाउन र जग्गा मासेर अर्काे ठाउँ नजान आग्रह गरेँ । यसका लागि हामीले कृषि कार्यालयसँग पनि समन्वय गर्यौं । त्यसैअनुरूप कृषिले तरकारीको बीउ दियो । हामीले नर्सरीको तालिम दियौं । त्यसपछि उहाँहरूले बिरुवा उत्पादन गरेर बेच्न थाले ।

पर्यटकलाई आकर्षित गर्न होमिस्टे राख्ने सल्लाह दियौं । किनकी पर्यटक उपरदाङगढी हेर्न आउँथे । अहिले होमिस्टे राख्नुभएको छ । नर्सरी गर्नुभएको छ । टन्न बिरुवा लगाउनुभएको छ । त्यहाँबाट कमाउनु हुन्छ । हामीले बाख्रापालन र मौरीपालनको तालिम पनि दियौं । बाख्रा पाल्नुभएको छ । मौरीका घार पनि दियौं । मह बेच्नुहुन्छ । स्कुस राम्रो हुन्छ भनेर तालिम दियौं, स्कुस बेच्नुहुन्छ । डोको डालो बुन्न पनि हामीले तालिम दियौं । अम्रेसोको कुचो बेच्नुहुन्छ । डोको डालो बेच्नुहुन्छ । बच्चाहरू स्कुल पठाउन थाल्नुभयो । अहिले हेर्न जाँदा रमाइलो लाग्छ । त्यही गाउँ हो र जस्तो लाग्छ । त्यहाँबाट एसएलसी पास भइसकेपछि यसरी फरेस्टी पढ्न पाइन्छ भनेर २ जनालाई कलेज जान प्रेरित गरेँ । उहाँहरू पढ्नुभयो, अहिले रेन्जर हुनुहुन्छ । त्यसरी खोरिया फँडानी पनि बच्यो भने अर्कोतिर चेपाङको उद्दार पनि भयो । त्यही खालको अरुतिर विस्तार हुँदै गइरहेको छ । नागरिकता नभएकाहरूले नागरिकता बनाए । अहिले उहाँहरू खुुसी हुनुहुन्छ । मलाई देख्नेबित्तिकै हाम्रो ‘देउता’ आयो भन्नुहुन्छ । उहाँहरूले मेरोबारे गीतै बनाउनुभएको छ । उहाँहरूकै भाषामा बोल्थेँ, सँगै बसेर खाना खान्थेँ । घुलमिल भएपछि २० दिन बसेँ । २०६४ यता १० वर्षमा मैले नसोचेको चेन्ज आयो ।

जसले उपभोग गर्छन् उनीहरूकै सहभागितामा नै संरक्षण गर्दा त्यो दीगो र प्रभावकारी हुन्छ भन्ने हो ?
एकदमै हो । कवुलियती वनमा के छ भने उनीहरूले लगायको बिरूवा उनीहरूले नै काट्न पाउँछन् । उपभोग गर्न पाउँछन् । सरकारसँग सोध्नु पर्दैन । जुन ठुलठूला रूख थिए ती बीउको लागि पनि चाहिन्छ । यसकारण ती रुख काट्नु हुँदैन, काटियो भने हामीलाई बोलाउनु है भनेर नियम बनाएका छौं । किनभने सालको रूखको बीउ भयो भने सबैतिर आउँछ नि । त्यो कुरा उहाँहरूले बुझ्नुभएको छैन । त्यो तरिकाले चेतना जगायौं । जसले संरक्षण गर्छ, त्यसैले उपभोग गर्दा वन जोगिन्छ । यसले वातावरण पनि हराभरा हुन्छ । उनीहरूको पनि जीवनस्तर उकासिन्छ । यसमा सरकार र जनतालाई दोहोरो फाइदा छ ।

‘हरियो वन, नेपालको धन’ भन्ने उखान त एका देशको कथा जस्तै भयो नि, नेपालको वन कसरी जोगाउने ?
पहिला ‘हरियो वन नेपालको धन’ भनिन्थ्यो । त्यतिबेला जनसंख्या थोरै थियो र जंगल धेरै थियो । अहिले जनसंख्या बढ्यो, जंगल बढेको छैन । काठ दाउराको मागसँगै वन दोहन पनि बढ्यो । वन जोगाउन सर्वसारधारण र सरकारको समन्वय चाहिन्छ । त्यतिकै त हुँदैन । अर्काे कुरा ‘हरियो वन नेपालको धन’ हुन नसकेको कुरा म मान्दिनँ । किनभने अहिले हामीले वैज्ञानिक वन व्यवस्थापन ल्याएका छौं । यसमा वनलाई दिगो बनाउन र भावि पुस्तालाई उपभोग गर्न पाउने बनाउने गरी काम गरिरहेका छौं ।

हरेक सामुदायिक तथा राष्ट्रिय वनमा पहिलेभन्दा अहिले क्षेत्रफल पनि बढेको छ । वनको क्षेत्र अहिले ३७ प्रतिशतबाट ४४ पुगेको छ । त्यसैले ‘हरियो वन नेपालको धन’ भन्ने उक्तिमा मात्रै सिमित भयो भन्न म चाहिँ रुचाउँदिन । किनभने अहिले जंगल पनि बढेको छ । सरकारले जनतालाई उपभोग गर्न पाउने गरी सामुदायिक वन सुम्पिएसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाल सामुदायिक वनले चिनिएको छ ।

जनसंख्या बढ्दै जाँदा वन मासिनु स्वभाविकै हो । अर्को राजनीतिक कारणले पनि वन मासिएको छ । चुनावका बेला वन मासिन्छ । किन मासिन्छ ? हामी यसमा सचेत छैनौं । वन मासिने क्रम कर्मचारीले मात्रै रोक्न सक्छ र ? अवश्य सक्दैन । यसको पहरेदार हामी सबै हुनुपर्छ । प्रत्येक व्यक्ति जन्मिनेबित्तिकै प्राकृतिक स्रोतको पहरेदार हो । त्यसकारण यो एक्लैले गर्ने कुरा होइन । टिम वर्क हो यो । सबैजना लाग्नु पर्छ । तब मात्रै ‘हरियो वन नेपालको धन’ उक्तिलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न सकिन्छ ।

समग्र प्राणीको अस्तित्वसँग जोडिएको बिषयमा पनि राज्य किन गम्भीर नभएको होला, राज्यले नबुझेको हो कि नसकेको ?
नसकेर त हुँदै होइन । जनतासँग मिलेर जाने खालको कार्यक्रम ल्याउनुपर्यो । हाम्रो पोलिसी लेवलका मान्छेले पनि यो सोच्नु पर्छ । किन मासिँदैछ ? व्यक्तिगत स्वार्थ हेर्नुभएन । सबै जना यसमा लाग्नुपर्यो । प्राकृतिक स्रोतलाई बचाएनौं भने प्राणि कसैको पनि अस्तित्व छैन ।

वन मन्त्रालयले संसारलाई चेन्ज ल्याउन सक्छ । पहिलादेखि के भन्थे भने, ‘ज्यान मुद्दा लागोस् वन मुद्दा नलागोस् ।’ हाम्रो यति कडा कानुन छ तर त्यो कानुन प्रयोगमै आएन । बदमासीलाई सजाय दिन अदालतमा नपुर्याउँदै नेताको फोन आइहाल्छ । कुनै न कुनै पार्टीमा मान्छे आवद्ध छ । फोन आउँदा यो यस्तो हो भनेर बुझाउँदा बुझाउँदै पनि कर्मचारी राजनीतिक चपेटामा पर्छन् ।

सबैजनाले दिलो ज्यान दिएको भए यो अवस्था आउथेन होला । सबैभन्दा ठूलो कुरा राजनीतिक अवस्थाले कर्मचारीले काम गर्न नसक्नु पनि हो । यसकारण राजनीतिक स्थिरता पनि आवश्यक छ ।

भोटिङ खुला छ, कर्मचारी र हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
एकाउन्ट्याविलिटी ल्यावले भोटिङ कोड जुन राख्नुभएको छ त्यो अलि अफ्ठेरो छ । मेरो पब्लिक भनेको चेपाङ हुन् । उपभोक्ताहरु जसले मलाइ नजिकबाट चिनेका छन् ति सबै ग्रासरूट लेवलमा छन् । त्यो ग्रासरुट लेवलमा मोबाइलबाट भोटिङ गर्न जान्दैनन् । सामुदायिक वनका पदाधिकारीले पनि त्यस्तै भन्नु हुन्छ । त्यस्तो गर्ने हो भने त हामीसँग कयौं समूह छ । भोटिङै गरेर इन्टिग्रिटी आइडल हुने भए मसँग कयौं समूह छन् । यो त शिक्षीत वर्ग र जसको हातमा मोबाइलको पहुँच छ । उसैले मात्रै दिन सक्ने भयो नि, होइन र ? त्यससँगै जान्ने पनि हुनुपर्यो ।

मेरो उपभोक्ता अंग्रेजी जान्दैनन् । एकदम कम जानेका छन् । खान लाउन दुई हात जोर्ने मान्छेले अंग्रेजी जान्दछ त ? उनीहरूको हातमा मोबाइल छ, कुरा गर्न सक्छन् तर नयाँ नम्बर डायल गर्न सक्दैनन् । त्यो खालको अवस्था छ । भोटिङकै हिसावमा आइडल बनाउने हो भने मेरा उपभोक्ताले भोटै हाल्न जानेनन् के गर्ने ? तर यो भोटिंग गराउनुको मुख्य उद्देश्य सबैले चिनुन् भनेर होला । अफिसरले भोट हाल्लान् । तर जुन क्षेत्रमा काम गरेर म इन्टिग्रिटीको उत्कृष्ट ५ मा परे । त्यहाँका मान्छेले मलाइ भोट हाल्नै सक्दैनन् । यो कुरा सबैले बुझ्नु जरुरी छ ।

आगामी दिनमा कसरी यसलाई सहज बनाउन सकिन्छ ? तपाइको सुझाव के छ ?
भोटिङ गर्दा अंग्रेजी शब्द राख्नु भएन । सिधै नम्बर पठाउने व्यवस्था भयो भने सजिलो हुन्छ । जस्तो : मेरो भोटिङ कोड ०२ हो भने ०२ मात्रै लेखेर म्यासेज पठाउँदा सहज हुन्छ जस्तो लाग्छ । यति भयो भने साक्षरलाई पनि सिकाउन सहज हुन्छ । अहिलेको कोडिङ पनि असजिलो भयो । जहाँ काम गरेर म यो स्थानमा पुगे, त्यहाँकै सर्वसाधारणले भोट गर्न पाएनन् भने यसको के अर्थ रह्यो र ?

मंसिर २१ गते, २०७४ - बिहान ०६ः५१ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg