मंसिर २९ गते, २०७४

अपराधीको राजनीतिकरण डरलाग्दो छ

पूर्वप्रहरी उपरीक्षक रविन्द्र नाथ रेग्मी लामो समय मानव संशाधनमा काम गरे । केही समय अघि मात्रै अनिवार्य अवकास लिएर रेग्मीको अनुभवमा नेपाल प्रहरी र यसका बिबिध पक्षबारे प्रशासन डट कमका एसराज उपाध्यायले कुराकानी गरेका छन् ।

प्रहरीप्रति पहिले जस्तो आकर्षण रहेन नि, किन ?
यसमा अख्तियार दुरूपयोगको सम्भावना पनि पहिला जस्तो छैन । राजाको सिन्दुर हालेर जे पनि गर्न सक्ने ‘सैया होगए ठानदार भैया, अब डर कायका’ वाला अवस्था चाहिँ छैन ।

अहिले प्रहरी जिम्मेवार बन्नुपरेको छ । जनताले किन र कसरीको जवाफ खोज्छन् । कहिलेकाहीँ त गल्ती नगरे पनि आरोप लाग्छ । त्यसकारण यो ढुंगा खाने र गाली पाइने जागिर बनेको छ । पहिले यसलाई रोयल पावर एक्सरसाइज गर्ने जागिर मानिन्थ्यो । त्यतिबेला ‘सुट हिम’ भनेर हिँड्ने वा जे गरे पनि हुने अवस्था थियो । तर, अहिले छैन । यो आकर्षण घट्नुको एक कारण हो ।

हामी पढ्दा त राम्रो अंक ल्याउनेहरू डाक्टर वा इन्जिनियर पढ्थे । त्यसपछिका प्रहरी वा सरकारी जागिर गर्थे । तर, अहिले राम्रो अंक ल्याएकाहरू बिजनेस म्यानेजमेन्ट र बैंकर बन्छन् । उनीहरू डाक्टर वा इन्जिनियरमा मात्रै सीमित भएनन् । अन्य क्षेत्रमा आकर्षित भए । त्यसकारण पनि प्रहरीमा आकर्षण घटेको हो ।

संगठनमा हुने चरम राजनीतिले पनि आम प्रहरीको मनोबल घटेको देखिन्छ नि, यहाँलाई के लाग्छ ?
हो, वास्तवमा राजनीतिक हस्तक्षेपका कारण प्रहरीले पनि आफ्नो क्षमता देखाउन सकेको छैन । र, काम गर्दा पाउने पुरस्कार र सजायमा पनि जब प्रभाव पर्छ, त्यसपछि तपाईँ प्रोफेसनल काम गर्नुभन्दा स्पियर टाइम निकाल्नुस् र रिझाउनुस् । त्यसो गरे सुरक्षित भइन्छ । तर, जसले त्यो काम गर्न चाहँदैन तिनीहरूको मनोबल स्वभाविकरूपमा कमजोर हुन्छ ।

यसरी कति दिन चल्छ प्रहरी ?
यसमा त सुधार भइहाल्छ । एउटा परिस्थिति आउँछ त्यसपछि यसले फङ्सन गर्न सक्दैन । तर, यो परिस्थिति नआओस् । त्यसकारण त्यसअघि नै हामी सुध्रिनुपर्छ ।

कल्पना गरौं, ट्राफिक पुलिसले आजबाट काम गर्न सकेन वा गरेन । त्यसपछि काठमाडौंमा कोही पनि मान्छे घरबाट बाहिर निस्किन सक्दैनन् । द्वन्द्वकालमा माओवादी आउँदैछन् भनेर ठानामा फोन आउँदा पनि पुलिस समयमा नपुग्ने अवस्था थियो । अनि पुलिस किन चाहियो भन्ने प्रश्न उठ्यो ।

जनतालाई राइट टाइममा सुरक्षा दिन नसकेकाले त्यतिबेला विद्रोही पक्षले आफ्नो नियन्त्रणमा लिए भन्ने कुरा पनि सुन्नमा आउँछ नि । गुन्डागर्दी त बढेको छ । हिजो एउटा चरम अवस्थामा पुगेको थियो । त्यसलाई सतही नियन्त्रण त गरियो । तर, सुन्य अवस्थामा त पुगेको छैन । अहिले पनि गुन्डागर्दी गर्नेहरूले व्यवसायी वा अरुबाट अनावश्यक रकम लिइरहेका छन् । गुन्डागर्दी गर्नेहरू राजनीतिक पार्टी वा अन्य व्यवसायीको आवरणमा रहेका छन् । प्रहरी जति कमजोर हुँदै जान्छ, यिनीहरू बलियो हुँदै जान्छन् ।

राजनीतिमा अपराधीकरण एकदमै बढिरहेको छ, प्रहरीको मस्ट वान्टेडको सूचीमा रहेको व्यक्ति राजनीतिमा आउँछ र प्रहरीले त्यसलाई स्यालुट हान्नुपर्ने अवस्था आउँछ भने अप्ठेरो पार्ला नै ?
यसले धेरै अप्ठ्यारो पारेको छ । हाम्रो समाज यस्तो भयो की पुरानो कुरा बिर्सिदिन्छ । अत्यन्त माफिवाला समाज भयो । शक्तिको पुजा गर्ने र व्यक्तिगत स्वार्थ शिद्ध गर्न पाइयो भने जोसँग पनि हात मिलाउने भयो । यो हाम्रो समाजको बेसिक क्यारेक्टरका रूपमा बिकसित भयो ।

तपाईँले अहिले कुनै गुन्डागर्दी गर्ने व्यक्ति राजनीतिक पोजिसनमा पुग्यो भन्नुहोला । हाम्रो समग्र पोल्टिसियनलाई हेर्यो भने मानवता र मानवअधिकारविरूद्ध सहभागी नभई बसेका को को पाउनुहुन्छ ? कानुनको पालना गर्ने र असल नागरिक को को छन् भनी खोज्यो भने निरासाजनक नतिजा आउँछ । चाहे ती देशका बरिष्ट पोलिटिसियन नै किन नहुन् । तिनलाई एसेप्ट गर्ने की नगर्ने ? जस्तो उदाहरणको लागि अहिले गिरिजाप्रसाद कोइराला हुनुहुन्न उहाँलाई एसेप्ट गरियो । त्यसपछि केपी ओलीलाई एसेप्ट गरियो । उहाँहरूले पनि टाउको त काट्या हो नि । जहाज अपहरण पनि गरेको हो नि । त्यसपछि माओवादीलाई पनि एसेप्ट गरियो । यी सबैलाई एसेप्ट गर्नुहुन्छ भने बबनलाई पनि गर्नुस् अथवा सञ्जय शाहलाई पनि गर्नुस् वा चक्रे मिलन आदि सबैलाई गर्नुस् भन्ने किन आउँदैछ ? जसले जे–जे कुरामा गल्ती गरेको छ, त्यसबाट उन्मुक्ति कसैले पनि पाउँदैन है भन्ने हाम्रो समाजको भइदिएको भए यो स्थिति आउँदैनथ्यो ।

हाम्रो समाज ढोङी छ । सायद यो छलफलको विषय पनि हुन सक्ला । किनकी हामी पोलिटिसियनलाई अत्यन्त आदर्श सोच्छौं, स्वार्थरहित समाजसेवीको । अलि पावरमा भएका ति सबै देउताहरू हुन्छन् । तिनलाई त्यति धेरै पोजेटिभ्ली हेरिन्छ । मान्छेभन्दा माथि राखेर हेरिन्छ ।

अपराधीलाई राजनीतिकरण गरिएको छ । यो डरलाग्दो ठाउँमा पुगेको त छ । तर, रोक्ने ठाउँमा हामी यति धेरै फसिसकेका छौं । राजनीतिक गुट/उपगुटले सिंगो संगठनलाई रस्सा तालमा पुर्याउन सक्छ भन्ने हेक्का नेतृत्व तहलाई छ । तर, आफू नेतृत्वमा टिकिरहन यी सबै कुरासँग सम्झौता गरेको हुन्छ ।

नेपाल प्रहरीको करियर प्लानिङमा जहिले विवाद हुन्छ, समाधानको उपाय के देख्नुहुन्छ ?
मुख्य कुरा त अभिलेखीकरण नै हो । सफ्टवेयरमा हरेक कर्मचारीको हरेक क्रियाकलाप राख्न सकिन्छ । मैले काम गर्दा पनि रेडिमेट सफ्टवेयर थियो । मलाई के लाग्छ भने, कामका आधारमा वृत्ति विकासमा मूल्यांकन भए प्रहरीमा चमत्कारिक सुधार हुन्छ ।

पिजिडिपिएसका बारेमा पनि हरेक पटक जसो कुराहरु उठ्ने गरेको छ, किन कुरा मात्रै उठ्छ काम हुँदैन ?
पिजिडिपिएस र सम्पूर्ण ट्रेनिङका कुरा सम्बन्धित छन् । पिजिडिपिएसमा दुई ओटा कुराको कल्पना गरियो । जसमा एउटा आर्मीको कपी गर्ने । पुलिस साइन्स पनि एकेडेमिक पनि सर्टिफिकेट होस् । हाम्रो सर्टिफिकेट मोर सेलेवल होस् र बाहिर पनि मान्यता दिन सकियोस् भन्ने एउटा चाहना थियो । पुलिसको ट्रेनिङको आवश्यकता विश्लेषण गरेर अब यस्ता खाले प्रहरी चाहिन्छ । कस्तो कोर्स डिजाइन गर्ने भन्ने कुरामा हामीले छलफल गरेनौं । हामीले के गर्यौं भने त्यो बनाउने बेलामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धित एक्सपोर्टलाई ल्याउने र हाम्रो परम्परागत तालिममा भइरहेको कुरालाई कसरी त्यो कोर्समा इन्कर्पोरेट गर्ने भन्ने मात्र भयो । त्यसकारण बेसिक प्रिन्सिपल नै त्यहाँनिर चुकेको छ ।

प्रहरीलाई एक तह माथि लैजानेभन्दा पनि दुई थरिलाई मिलाएर एउटा टियुको सर्टिफिकेट दिलाउने भयो । एडिसनल कोर्स हामीले केही पनि गरेका छैनौं । अलिकति स्ट्याटिक्सको कोर्स थपियो । बाँकी कुरा पहिल्यै पढाएको कुरामा एकाध प्रतिशत तलमाथि हुने भनेको कुरा स्वभाविक हो । हैन भने ट्रेनिङको आवश्यकता विश्लेषण गरी त्यो काम भएको होइन ।

एक प्रकारले लहडबाजीमा एकेडेमीको अलिकति इज्जत बढ्ने र सर्टिफिकेटको इज्जत बढ्ने हिसावमा मात्रै भएको हो । पछि के भइदियो भने जब समाजमा भएका समग्र प्रभाव प्रहरीमा पर्यो । परिवर्तन र पिजिडिपिएससँगै सुरु भएपछि जति पनि पिजिडिपिएस निक्लेपछिका समस्या आए तालिमका कारणले भएको हो भनियो तर म त्यसलाइ मान्दिन । म तपाईँलाई तालिमभित्रको क्रियाकलापमा लैजान्छु । केही घन्टा क्लासमा पढाएका कारणले टोली पूरै बिग्रिएको हो त ? त्यो विषय नपढाएको भए बिग्रिदैन थियो भन्ने कुरा म चाही मान्दिनँ । यो झुटो कुरा हो । अहिले आरोप त्यस्तो लाग्छ । पुरानो अफिसरलाई सोध्यो भने पिजिडिएसपी पछि खत्तम भयो भन्छन् । कसरी खत्तम हुन्छ ? एक घण्टा पढाएर बिग्रिने मान्छेलाई त्यत्रो तालिम दिएर किन सुधार्न सकिएन ? एक घन्टा पढाउँदैमा बिग्रिने हो भने त्यो फिल्डमा गइसकेपछि झन् के हुन्छ ?

राम्रो मान्छे नै आउन नसकेर हो की आएकालाई पनि राम्रा बनाउन नसकिएर हो, प्रहरी आम नागरिक नजरमा सम्मानको पात्र बन्न सकेको छैन, किन ?
राम्रो मान्छे नआएको कुरा पनि होइन । आएको मान्छेलाई राम्रो बनाउने हो । सधै राम्रो खोजेर मात्रै पनि राम्रो पाइँदैन । उपलब्ध मान्छेहरूलाई राम्रो बनाउने हो । त्यो गर्नलाई संगठनसँगै केही कानुनी कुराहरू आउँछन् । भएको प्रहरी ऐन नियमलाई समसामयिक सुधार गरेर त्यसलाई इमान्दारीका साथ कार्यन्वयन नगरून्जेलसम्म प्रहरीको गरिमा बढाउन सकिँदैन ।

‘जापानीले विहारलाई यति वर्षमा जापानसरह बनाइदिने भनेपछि विहारवासीले पनि दुई वर्षमा जापानलाई विहारजस्तो बनाइदिने’ भनेका थिए अरे भनेजस्तै प्रहरीमा त्यो मान्छे आउँछ जुन मान्छे समाजमा छ । हाम्रो समाज जस्तो छ, प्रहरी पनि त्यस्तै हुन्छ । त्योभन्दा राम्रो मान्छे पाउन सकिँदैन । त्यो ल्याउनुभयो भने त्यो एलियन नै हुन्छ । तालिममा खुब आदर्श र राम्रा कुरा पढेको हुन्छ, फिल्डमा जाँदा केही पनि देख्दैन नि अनि फ्रस्टेसन डेभ्लप गर्छ । राम्रोका नाममा बेस्ट क्वालिटीको मान्छे छानेर ७२ हजारै बेस्ट मान्छे छान्नुभयो भने पनि संगठनले राम्रो पफर्म गर्न सक्दैन । मुख्य कुरा भनेको काम गर्ने वातावरण राम्रो हुनु आवश्यक छ । उसबाट काम लिने र त्यो काम वाफत उसको इनर्जीको रिटेन पनि दिने हुनुपर्यो । जनताप्रति समर्पित वा संगठनप्रति अनुशासित इमान्दार बनाउन यो नियमितरूपमा दिनु पर्ने कुरा हो । अर्थात, अनिवार्य चाहिन्छ नै ।

बाहिरबाट जतिसुकै राम्रो मान्छे ल्याए पनि हामीले सुरूमा भर्ना गरेका र तालिम केन्द्रभित्र छिरेका मान्छे लगभग सबै एउटै अवस्थाका हुन्छन् । सामाजिक एउटा मान्यता लियर आएका मान्छेहरू जब तालिमबाट बाहिर निस्केर काम गर्दै जान्छ, अनि देखिदै आउँछ । यो राम्रो यो नराम्रो उस्तै वातावरणमा काम गरिरहेको छ । कसैले अपरच्युनिटीलाई क्याच गर्दै व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै माथि पनि गएका हुन्छन् । अहिले त मिडियालाई किनेका तथा मिडिया नै सञ्चालन गर्नेहरू छन् । तिनीहरू एउटा हुन् । अर्को करियरलाई मात्रै ध्यान दिएर सामान्य तया चिनिएकै हुँदैन । गएर उसले काम गरेकै ठाउँको जनतालाई सोध्ने हो भने चाहिँ त्यो मान्छे राम्रो भनेर भन्छ । अब ती मान्छेहरूको प्रतिष्ठा बढाउने । तिनका कामहरूको उजागर गर्ने । तिनलाई संरक्षण र संवद्र्धन कुराहरू यदि संगठनले गर्दै गयो भने राम्रा देखिन थाल्छन् । राम्रा हुन थाल्छन् । नराम्रा पनि राम्रोमा कन्भर्ट हुन्छ । होइन, शक्ति केन्द्र स्वार्थ आदि इत्यादिमा गर्ने हो त राम्रो पनि नराम्रो हुन बाध्य हुन्छ ।

असल प्रहरी हुनका लागि प्रहरी अधिकारीमा हुन पर्ने गुण के हो ?
जो प्रहरी काममा आनन्दित हुन्छ, जस्तो घरमा बसिरहनुभन्दा थानामा गएर काम गर्ने । थानामा पनि बसिरहनुभन्दा गस्ती जाने, जनतासँग इन्ट्रयाक्सन गर्ने र त्यहाँ गएर पुलिसिङ गर्दा जसले स्याटिस्फ्याक्सनको अनुभूति गर्छ । उसले पुलिसिङमा बास्तवमै इन्जोए गरेको हुन्छ । कुनै काम गर्दा मानसिक रूपमा थकान हुँदैन । ति मान्छे अल्टिमेल्टी राम्रा हुन्छन् । अन्य कुरा भनेको कहिलेकाहीँ क्लिक हुने कुरा हो । जस्तोः अपराध अनुसन्धान एकदम जटिल कुरा हो ।ठ्याक ठ्याक भनेजस्तै हुने हुनको लागि भाग्यले पनि साथ दिनुपर्छ । अपराधी समातिने, प्रमाणहरू फेला पर्ने, र अदालतबाट पनि सजाय हुने गर्दा काम गर्दा आनन्द आउने अर्को पक्ष हो ।

अधिकांस कामकारवाही राजनीतिक आस्थाका आधारमा गरिने अहिलेको परिवेशमा कसरी एउटा प्रहरी अधिकारीले इन्जोए गर्न सक्छ ?
प्रहरी एउटा यस्तो संगठन हो जसले पीडितलाई इमिडियट्ली मानसिकरूपमा आश्वासन र राहत दिन सक्छ । यो सबैभन्दा ब्युटी पक्ष मानिन्छ । आफुले गरेको कामबाट उसले राहतको अनुभूति भएको कुरामा इन्जोए गर्न सक्नुपर्यो । लुटिएको मान्छे, बलात्कृत महिलालाई न्याय दिलाउन सक्दाको आनन्द लिन सक्नुपर्यो, जसलाई यस्ता कुरामा आनन्द आउँदैन । त्यस्ता मान्छेले पुलिस हुन खोज्नुभएन ।

भिड नियन्त्रणमा खटिँदा न्युनतम् क्षतिमा म्यानेज गर्न सक्नुभयो र त्यो गर्दाखेरी एस आई डिड इट भनेर सम्झिँदा पनि पुलकित हुने रमाइलो हुने हो भनेदेखि तपाई कन्टिन्यु गर्न सक्नु हुन्छ । आफ्ना कुरा पत्रिकामा छापियो र टेलिभिजनमा आयो भने आनन्द आउने तर, एउटा केस बिग्रियो वा कसैले गालि गर्यो भने दुःखी हुने ती मान्छे अल्टिमेट्ली राम्रो पुलिस पनि बन्दैनन् । राम्रो पुलिस ती हुँदा पनि होइनन् । त्यस्ता मान्छेले पुलिसमा अड्की रहन पनि हुँदैन । उसले आफ्नो फिल्ड खोज्नु पर्छ । सर्वसाधारण नागरिकलाई सेलिब्रेटीको भान पारेका आफ्नो कार्यक्षेत्र र अफिसको जिम्मेवारी सन्तोषजनक ढंगले गर्न नसक्ने कस्मेटिक कामहरुमा ज्यादा समय खर्च गर्ने ति नक्कली सेलिब्रेटी हुन् । । सक्कली त ति हुन् जसले कामबाट भित्रैदेखि इन्जोए गरिरहेको हुन्छ ।

मंसिर १८ गते, २०७४ - बेलुकी ०५ः०२ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg