साहित्य शोषित र पीडितको मात्र होइन, सम्पूर्ण मान्छेको तस्बिर हो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साहित्य शोषित र पीडितको मात्र होइन, सम्पूर्ण मान्छेको तस्बिर हो


१६ मंसिर २०७४, शनिबार


 

नेपाल आर्मीका पूर्वजर्नेल राजेन्द्र थापा राम्रा गीतकार पनि हुन् । उनका थुप्रै गीतहरू हिट भएका छन् । थापाका मुक्तकहरू पनि त्यतिकै चर्चित छन् । साहित्यकै माध्यमबाट नेपाली शब्दकोषमा नयाँ शब्दको जन्म दिने बहुप्रतिभाशाली थापासँग गरिएको लामो भलाकुसारीको पहिलो खण्डमा साहित्य र सैनिक जीवनबारे प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

यहाँको साहित्यिक यात्रा कसरी सुरु भयो ?
साहित्यमा बाल्यकालदेखि नै लेख्न थाले । आठ वर्षको छँदा मैले कविता लेख्न सुरु गरेँ । त्यसपछि लेखनी यात्रा सुरु भयो । बुबा प्रहरीमा भएकाले तराई–पहाड पुग्ने अवसर पाएको थिएँ । त्यसैक्रममा वीरगन्ज र गोरखामा पनि बसेँ । यहाँका परिवेशबारे बुझ्ने मौका पाएँ । आठ वर्षमा म वीरगन्ज गएको थिएँ । त्यतिबेला बुबा नारायणी अञ्चलको प्रमुख हुनुहुन्थ्यो । मैले त्यतिबेला हिन्दी साहित्य धेरै पढ्न पाएँ । काठमाडौंमा बसेको भए सायद म हिन्दी साहित्य पढ्न पाउँदैनथे होला । हिन्दी साहित्य पढ्न नपाएको भए सायद मेरो क्षमता एक्सपोज हुने थिएन होला । किनकी हामीसँग सीमित किताव थिए । त्यतिबेलाका साहित्यकार देवकोटालगायत सबैले पढेकै हुन् । मेरो विविधता पनि यसको उपज हो । साहित्य भनेको क्रियसन मात्र होइन । यो अरूसँग लिने हो । मैले बाल्यकालमा अरू कितावबाट लिए ।

जस्तै: अहिले म फेसबुकमा जनताको विचार लिन्छु । त्यहाँ कसैले कमेन्ट गरेको हुन्छ । मलाई त्यसमा चित्तबुझ्दो लाइन आउँछ, जुन शब्द मैले सुनेकै छैन त्यही मन पर्छ । मलाई लाग्छ, यसमा गीत, गजल, मुक्तक बन्न सक्छ वा कुनै घटनाबाट कथा, कविता आदि ।

जागिरे जीवन, त्यसमा पनि कडा अनुशासनको सीमाभित्र बसेर जिम्मेवारी पूरा गर्नुपर्ने अवस्थामा कसरी साहित्यलाई जीवितै राख्न सक्नुभयो ?
सिर्जना भनेको जन्मसिद्ध हो । जागिर भनेको पेसा हो । जन्मसिद्ध कुराका लागि तपाईँलाई विविध परिस्थितिले समय दिँदैन, त्यो बेग्लै कुरा हो । तर पेसाले नै रोक्छ भन्ने होइन । म त्यतिका वर्ष आख्यानबाट टाढा रहें । १४ वर्षमै मैले स्कुलदेखि युनिभर्सिटीसम्मका कविता प्रतियोगितामा सिल्भर मेडल पाएको थिएँ । मैले जिन्दगीमा आजसम्म पनि सबैभन्दा ठूलो ठानेको सम्मान त्यही हो । त्यतिबेला छन्दको जमानामा छन्दहीन श्लोक या गद्यले त्यो पनि पूmच्चेले जित्नु सोच्नै कठिन थियो ।

जागिरले गर्दा कविताबाट केही टाढा भए पनि धेरै लेखँे । तर, थोरै मात्र बाहिर आए । मेरा सुरुदेखि धेरैै गीत हिट भए । त्यसपछि स्रोताले नै मलाई कतै जान दिएनन् । कनेक्सन त भइरह्यो । त्यसरी सुरुदेखि लगातार एकपछि अर्को गीत हिट नभएको भए सायद म गीतमा ध्यान घट्थ्यो कि ! वा कविता र कथामै लागिरहन्थे की !

साहित्य कसका लागि लेखिन्छ ?
साहित्य शोषित र पीडितको मात्र होइन, सम्पूर्ण मान्छेको तस्बिर हो । त्यो मान्छे शोषित या शोषक जो पनि हुनसक्छ । पीडित पनि हुनसक्छ या पीडक पनि । त्यो मान्छेको मनोभावलाई लेख्ने हो ।

यदि शोषितको लेख्ने हो भने शोषक नभइकन शोषितको कथा बन्दैन । बन्छ र ? राणाकालको अन्त्यमा एक ताका साहित्यको लहर आयो । त्यसपछि २०१६/०१७ सालतिर साहित्य भनेको राजनीतिक विद्रोहमा जोडियो । त्यसपछि साहित्य प्रगतिशीलवादमा आयो । त्यसलाई साहित्य भनियो । तर, त्यो साहित्य हो कि राजनीतिक विज्ञापन या पार्टी र वादको दस्तावेज ? साहित्य भनेकै गतिशिलता हो मान्छे र समाजजस्तै । अनि मान्छेको चित्रण त सबै नै गतिशिल या भनम् प्रगतिशिल हुन्न र ? अनि यो फलानो भनेको प्रगतिशिल भन्नासाथ त्यो त पार्टीशिल भएन र भन्या ? साहित्य एक माध्यम भएकाले आफ्नो राजनीतिक विचारलाई साहित्य माध्यम अर्थात बसमा चढाइएकोले पेसेन्जर स्वयं आफै बस नभए जस्तै हो ।

यहाँको बुझाइमा साहित्य के हो ?
एउटा कमैया हलीको विषयमा मैले लेखेको छु । डोटीका धनिरामको बारेमा मैले अखवारमा समाचार पढेर लेखेको । त्यसको मनोभाव लेखेँ । साहित्य त्यो मनोभाव हो । उनको मनको तस्बिर र उनले दिमागले सोचेको तस्बिर लेखे । धनीरामलाई गरिएको शोषण त मेरो विम्ब मात्रै, मसाला मात्रै हो नि । उनलाई शोषण गरिएको कुरा मात्रै लेख्यो भने त्यो त नाराबाजी भइहाल्यो नि । धेरैले त्यस्तै नारावाजीलाई नै साहित्य मानिरहेका छन् । तर, साहित्य सिधा तस्बिर हो जनताको । हरेक चित्रकारले अलगअलग रङ प्रयोग र रेखा प्रयोग गरी अलग बनाए पनि तस्बिर त त्यही व्यक्तिकै हो नि । साहित्यकार भनेको त्यो चित्रकार र साहित्य त्यो तस्बिर । हो, आजकल देशका हर कुरामा राजनीति भएकोले साहित्यकार पनि त्यही रङ बोकेर दौडिरहेका छन् । यौटा पिछडा जात समुदाय या क्षेत्रको पात्र समात्यो, त्यस्को बयान गरेपछि साहित्य भइहाल्यो । गाउँबाट सहर पसेकालाई गाउँ नोस्टालजिक हुने हुँदा गाउँ, गोठ, आमा र चाडवाडको कुरा लेखेर इमोसनल ब्ल्याकमेलिङ गरेपछि वाह ! वाह ! हुन त ति सहर पसेका पात्रलाई गाउँ या आमाको याद नोस्टाल्जिक होला । तर, के त्यो गाउँ गएर आमासँग बस्न सक्छ ? सक्दैन, तसर्थ साहित्यको नाममा भावनाको नगदीकरण हुन्छ । ती तत्कालिक चल्ती साहित्य भए पनि सर्वकालिक मानवीय भाव या मनोवृत्ति या घटना आदि विषयक साहित्य भने सही अर्थमा साहित्य मान्छु म ।

यहाँको लेखनीमा कडा प्रहार गरिएको हुन्छ, लेखेकै कारण जागिरे जीवनमा कुनै अप्ठ्यारो परेन ?
अहँ, परेन । जागिरले गर्दा मैले धेरै कुरा लेखिनँ पनि । फुर्सद पनि भएन र वातावरण पनि बनेन । कति लेख्नुपर्ने पनि लेखिनँ । गीत आदि मात्र लेखिरहेँ । हाम्रो सेनामा राजनीतिक विषयबाहेक अरू विषयमा लेख्न छुट छ । कुनै पनि बन्धन छैन । सेनामा प्रोत्साहन दिइन्छ प्रतिभालाई ।

राजनीति दल या विचारको पक्ष र विपक्षमा म अहिले पनि लेख्दिनँ नि । म देश लेख्छु, जनता लेख्छु । मैले एमाले, कांग्रेस या माओवादी विषयक लेख लेखेँ भने त्यही दलका इमान्दार योङ जेनेरेसनले के सोचिरहेको छ, त्यही मात्र लेख्थें । तर, त्यो लेख्दा माथिल्लो तहका लागि नकारात्मक हुन्छ । त्यसैले कतिपय अखवारमा सम्पादकबाट स्वागत भए पनि डेस्कवालाले मेरो लेखलाई अभ्वाइड गर्न पर सार्न खोजेकाले घटनामा लेखिएका मुद्दा पुराना हुन जाने हुँदा बरु नलेख्नु जाती भनी दूर भएको हुँ । तर, अचम्म माथिल्ला तहदेखि आम साधारण नागरिकसम्मका मेरा लेखका प्रष्टता, तर्कसंगत र निष्पक्षताका प्रशंसा गर्दै पुन लेख्न आग्रह गरिरहन्छन् । दुई वर्षअघि परराष्ट्रबाट संचालित एक छलफल कार्यक्रममा चार÷पाँच जना पूर्व राजदूत तथा इन्टलेक्च्यूलले एक स्वरमा भने कि अखवारमा तपाईँको लेख देख्यो भने पूरा पढिन्छ, नत्र आजकल… । यस्तो भनाईं नियमित सुनिरहको छु, आम मान्छेबाट पनि । कमाउन भने कमाइया रैछ पाठक ।

पुरानो पुस्ताको खिलापमा किन ? नयाँलाई स्थापित गर्न पुरानोलाइ विस्थापित गर्नुपर्छ भन्ने सोच हो ?
पुस्ता हैन प्रवृतिको खिलाप हो । खाली लुट र झुटले मात्र तीन दशक त चल्यो । के अझै अरु कति समय यसरी पुराना पुस्ताले देशलाई रसातलमा पुराउँदै आफु अरबपति बन्दै जाने हो ? अब आश भनेकै नयाँ पुस्ताले लुट र झुट नसिकी जनताको स्तर उचाल्ने परिवर्तन ल्याउलान् कि भन्ने मात्र हो । तर, फेसबुकमा हेर्दा भने नयाँ पुस्ता त पुराना नेताबाट केही पाउने आशमा पुच्छर हल्लाउने र अन्धभक्त तथा उग्र एकाहोरिएको दृश्य देख्दा भविष्य डरलाग्दो छ । म त खाली जे देख्छु त्यही हालिदिन्छु । देश भनेको जनताको आर्थिक उन्नति हो । खाली राजनीतिक व्यक्तिको लेनदेन खेलबहाड मात्र हैन । देशको मुद्दा अर्थ हो, राजनीति हैन ।

नेपाली साहित्यमा पक्ष/विपक्ष पनि खुबै चल्छ नि, तपाईँ आधुनिक पुस्ताको पक्षमा हो ?
पक्ष पनि बनाउँदिनँ म । जे देख्यो त्यही तस्बिर हाल्दा कसरी पक्ष हुन्छ । क्यामेराले तस्बिर खिँच्दा कसरी पक्ष हुन्छ ? जे देख्यो त्यही गरिदिने र त्यसको मनोभाव बाहिर निकालिदिएपछि त कहाँ पक्ष र विपक्ष हुन्छ र ! चोर छ भने चोरै निस्किन्छ । त्यसको भित्रि मनस्थिति बाहिर आउने भइसकेपछि त मेरो कुनै पनि लेखमा यो चोर असल, यो खराब भन्ने कुरा कुनै पनि लेखमा पाउनु हुन्न । तर, नयाँ पुस्ताका साहित्यकार पनि साहित्यकारभन्दा बढि दल या विचारका ‘झण्डे’ पो भइरहेका छन् । हेर्नुस् त एकेडेमी, दलको अखडामा दलका पहलमानहरू । एकेडेमीका कार्यक्रममा की फलानो दल नजिकका, कि पलानो एकै जातका साहित्यकारको जुलुस । ती बाहेकलाई त आजकल निम्ता पनि बन्द छ । यही कारणले आफैले छापेको शब्दकोष आफैले रद्द गर्ने स्थितिमा नि खै कुनै प्राज्ञ लज्जित भएको विज्ञप्ति या आत्मलोचना आएको छैन । अबको चुनावमा कसले जित्छ, हेरिरहेका छन् एकेडेमीमा को जान पाउने, को नपाउने जोखाना हेर्दै ।

तर, यस्तो साहित्य नेपाली समाजमा पाच्य हुँदैन नि ?
समाजको तस्बिर समाजलाई पाच्य नभए कसलाई हुने ? अपाच्य त पढ्दै, पढ्दैनन् नि कसैले । पाच्य भएरै पढ्ने हो समाजले । समाजले रुचाउनासाथ समाजका ठेकदारसा’पहरू बहुलाउँछन् र सुरु गर्छन् विरोध आलोचना आदि । हुन त आफ्ना जात, भेग र विचारका लाई भने जनताले रुचाए पनि या नरुचाए पनि महान बनाएर समीक्षा, समाचार, अंशआदिको ओइरो गरी जनतालाई भ्रमित बनाउँछन् । समाजलाई मूर्ख ठान्छन् यी । तर, आजको समाज सचेत छ । आपैm छान्छ । केही भ्रमित भने बनाउन सकिन्छ । जसरी खेलौनाले ब्रम्हाण्डै सिद्ध्याएजस्तो गरी एकै जातका केही ठेकेदारले युद्ध छेडे पनि जनता जनार्दनले कति पढे, कति पढ्दैछन्, बेहिसाव ।

भनेपछि पक्ष र विपक्ष र वादहरू साहित्य होइनन् र वास्तविक तस्बिर मात्रै साहित्य हो, यहाँले त्यति भन्न खोज्नुभएको हैन त ?
हो नि पक्ष/विपक्ष त दृष्टिकोण हो । दुवैतिरबाट समाज हेरिन सक्छ । घाम छाया दुवै नै समाजको प्रतिविम्ब हो । त्यही नै साहित्य हो ।

यहाँ त नेपाली सेनाको जर्नेल पनि भइसकेको मान्छे, सेना र साहित्य कुन प्यारो ?
प्यारो भन्ने नै हुँदैन । म सैनिक हुँ, जीवनको १८ वर्षदेखिको सेनासँगको आबद्धता अहिले पनि म हरेक दिनजसो हरेक बहानामा क्लबमा या सेनाकै ब्यारेकभित्र हुन्छु ।

त्यतिबेला पेसा थियो तर म सैनिक त सैनिक हुँ नि त । मेरो लेखनलाई सेनाले के फाइदा भएको छ भने म डिल्लीबजारको मान्छे, बानेश्वरलाई ‘पाखे’ भन्ने परिवारको मान्छे । मेरो गीतमा मेरो कवितामा तपाईँले भुइँमान्छे कसरी पाउनुभयो त ? किनभने मलाई सेनाले संसार घुमायो । यदि म सुदूरपश्चिम नगएको भए भुइँमान्छे नेपाली भाषामा आउथ्यो र ?

नेपालमा त अकृतज्ञ बुद्धिजीवीको बुद्धि वेश्यावृत्ति भएकाले भुइँमान्छे मैले गरेको भन्ने कहीँ नाम आउँदैन । अहिले सबैले भुइँमान्छे भन्ने गरेका छन् । सुदूरपश्चिममा म पुग्थेन भने त्यो भुइँमान्छे भन्ने कहिले आउथेन किनभने यताको सबैभन्दा पिछडिएको मान्छे उताको सबैभन्दा माथि गएको मान्छेभन्दा तलै भुइँमै देखिएको अवस्थाले जन्मायो शब्द भुइँमान्छे । हुन त हरेक ब्यारेकमा हरेक जातका मान्छे, भाषा, गीत र संस्कृति भेटनु हुने छ । ती पनि भुइँमान्छे नै हुन् । भुइँमान्छेहरूसँग मैले ३७/३८ वर्ष काम गरेको छु । त्यस्तो वातावरणले पक्कै पनि मलाई साहित्यमा दृष्टि दियो, ज्ञान दियो र ऊर्जा दियो होला ।

भन्नुहुन्छ भने त्यतिबेलाको सोच र अवस्था अनुसार त म त सामन्ती वर्गको । काजीसा’पको छोरो । सहरिया हौं भन्ने त्यो घमन्डको हुने खाने मान्छे । स्कुल जाने ठाउँ पाँच मिनेटमा, कलेज जाने ठाउँ पाँच मिनेटमा । पछि जागिर खाएपछि पनि जागिर खान जाने ठाउँ पाँच मिनेट टाढा । एकैचोटी अठार वर्षे केटो त अफिसरसा’प । त्यो फ्यासिलिटी पाएर हुर्केको मान्छेका रचनामा जुन क्रिटिकलटी पाउनु हुन्छ, त्यो भुइँमान्छेकै व्यथा र पीडाको अनुभूतले नै हुनुपर्छ ।

भनेपछि यहाँको साहित्यिक यात्रामा सैनिक पेशा सहयोगी नै रह्यो ?
मलाई त प्लस प्वाइन्ट नै लाग्छ । म सेनामा नगएको भए मेरा पचासौं किताव निस्किसक्थे, त्यसमा शंकै छैन । पढेका मान्छे बन्ने प्रोफेसर नै त हो नि हैन र ! सेनामा नगएको भए प्रोफेसर बनिन्थ्यो होला, कि जागिर खाइन्थ्यो वा कर्मचारी भइन्थ्यो । सायद निजामतीमा त असफल हुन्थें । हाम्रो परिवार निजामतीलाई हैट त्यस्तो पनि खान्छ भन्ने परिवार । त्यसैले गर्दा निजामतीमा जाने मेरो कल्पनामा हुने नै भएन । सेना नभएको भए म यति प्रस्ट र आँटिलो हुने नै थिएन । न त जनताको कथा म देख्न नै पाउथेँ । सुदूरपश्चिममा मात्रै पोस्टिङ नभएको भए नेपाली भाषामा भुइँमान्छे भन्ने शब्द हुन्थेन । नेपालको बौद्धिकताको वेश्यावृत्ति भएको हुनाले त्यो राजेन्द्र थापाले जन्माएको शब्द हो भनेर कोही बोल्दैनन् नि । यो शब्द नेपाली भाषामा छ त ? तर, कसैले भन्छ राजेन्द्र थापाको हो भनेर !

सैनिक त कठोर हुन्छ नि, त्यो कठोर मनमा कोमल साहित्यले कसरी बास पाउँथ्यो ?
जुन टाइममा म पृतनापति भएर बसेँ, म भयानक पृतनापति थिएँ । भयानक युद्ध गर्न तयार हुन्थे । जब मेरो हातमा कलम हुन्थ्यो नि म कवि हुन्थे । जब म ट्वाइलेटमा हुन्छु नि मेरो मन ट्वाइलेट गर्ने कर्ममै हुन्छ । भान्सामा खाना खाँदा मेरो ध्यान शुद्धरूपमा खाना खानमै केन्द्रित हुन्छ । त्यतिबेला मलाई ट्वाइलेटको कुरा याद आउँदैन । त्यो त्यही थियो यो यही हो । दुःख–आनन्द हिजो पनि थियो । अहिले पनि छ । अहिले मैले हिजोको कुरालाई पोजेटिभ या नेगेटिभ लिएर केही अर्थ छ त ? यसो गरेको भए मेरो दिमागमा आउला । मेरो आर्थिक स्थिति ज्यादै कमजोर हुँदा लाग्थ्यो होला । मैले पनि अरूजस्तै धन कमाउन लागेको भए हुन्थ्यो भन्ने होला । तर, त्यो बेलामा किन लागेन मलाई मैले त्यो सोचेर केही फाइदा भयो त ? अथवा अरू कतिपय जस्तै म पनि कम्प्रोमाइजमा गएको भए मेरो पनि अरूको जस्तै हुन्छ भन्ने ठान्छ । त्यसबारे सोचेर मात्रै केही भएन । आज आर्मीकोे हरेक सिपाहीले मलाई चिन्छ । सेनाका पार्टीमा ठुल्ठूला गाडीमा आउनेहरूको स्थिति र आफ्नो स्थिति हेर्छु क्या । जुन मैले सम्मान प्रेम पाउँछु नि कमाई त्यही रहेन छ त आखिर ।

आफ्नो जीवनमा कुनबाट धेरै आर्जन गरेजस्तो लाग्छ, सैनिक कि साहित्य ?
सेनाको त मेरो वृत्ति हो । आर्थिकरूपमा त सेनाले नै बढी दियो । म सैनिक सहचारीमा नभएको भए यो घर पनि बन्थेन । सेनाले नै मलाई विदेश घुमायो । संसारभरि घुमे । अहिले म जसरी बसेको छु नि मलाई सेनाले नै गरेको होइन र ? मलाई बाहिर ल्याएको, चिनाएको त सेनाले हो ।

र्याङ्कसँग मलाई कुनै मतलब भएन । मान्छेले र्याङ्क सम्झिन्छन् । आम नेपालीले मलाइ चिन्छन् । अरु जर्सा’पको आफ्नो व्यक्तित्व होला । तर, मलाई तपार्इँ जर्सा’प पनि हुनुहुन्थ्यो भनेर अचम्म मानेर सोध्छन् अर्थात मेरो अर्को व्यक्तित्वलाई चिनेछन् जनताले । त्यो व्यक्तित्व त मेरो सेनाले दिएको होइन । त्यो व्यक्तित्व त साहित्यले दिएको हो । राजेन्द्र थापा भन्ने व्यक्ति उनीहरूको मनपर्ने मान्छे हो । उनीहरूको मनपर्ने गीत लेख्ने मान्छे हो । उनीहरूको मनपर्ने लेखक हो । त्यो त मलाई साहित्यले दियो । जर्सा’पको व्यक्तित्व त सेनाले दियो । कहाँनिर कुन व्यक्तित्व ठूलो कुन सानु किन छुट्याइरहनुप¥यो र ?

साहित्य वा सेना, कुनबाट राष्ट्रलाई बढी योगदान दिन सकेजस्तो लाग्छ ?
मैले राष्ट्रलाई कुनै योगदान दिएको छैन । जागिर खाएँ, कर्तव्य पूरा गरेँ । के योगदान दिएँ भन्नुस् त ? मैले गीत, साहित्य लेखेँ मलाई लेख्न मन लागेर लेखेको हो । मान्छे मेरो गीतमा रमाए, मेरो पपुलारिटी भयो । राष्ट्रलाई के योगदान गरेँ र ? आप्mनो कर्म गरेको अवस्थालाई योगदान भन्नेहरूको लस्करमा कृपया मलाई नराखिदिनु होला कसैले पनि । मैले किताव लेखेँ । मान्छेले किताव पढ्यो, खुसी भयो । मैले राष्ट्रलाई योगदान गरेँ भन्ने झुट कुरा हो । मेरो कर्मले यो राष्ट्रमा कतै हित भयो की भएन । मैले केही गरेको छ भने अरूले हेर्ने कुरा हो । मैले राष्ट्रका लागि योगदान गरेँ मलाई दिएन भन्ने नेपालमा मात्रै हो । मैले राष्ट्रलाई योगदान गरेकै छैन । लेख्ने कुरालाई भन्नुहुन्छ भने मैले इन्टेन्सनली लेखेको हो, मैले राष्ट्रका लागि लेखेकै होइन । जागिर खाँदा पनि मैले आफ्नै लागि खाएको हुनाले मैले त्यो काम गरेको हो । मैले युद्धमा लडेको मेरो ड्युटी पनि त्यही भएर गरेको हो । त्यसैले म के भन्छु भने म राजेन्द्र थापाको तर्फबाट मैले राज्यको लागि योगदान गरेको छैन । अरूले योगदान सोच्छ भने त्यो उसको सोच हो ।

Tags :
प्रतिक्रिया दिनुहोस