मंसिर २९ गते, २०७४

यस्ता छन् इन्टिग्रिटी आइडलका उत्कृष्ट ५ प्रतियोगी

कृष्ण धिताल

नेपाललाई ‘कृषिप्रधान’ देश भनिए पनि अझै कृषिमा भने आत्मनिर्भर बन्न सकेको छैन । कृषिमा थुप्रै नयाँ प्रविधिको विकास भइसकेको छ, यद्यपि नेपालमा ती प्रविधि खासै प्रयोग भएको पाइँदैन । यसको कारण हो– सरकारले कृषि क्षेत्रलाई खासै प्राथमिकता नदिनु र कर्मचारीको उदासिनता ।

कर्मचारी उदासिन हुने गरेको सेवाग्राहीको गुनासो भए पनि त्यसको अपवाद हुन्, जिल्ला कृषि विकास कार्यालय काभ्रेका कृषि प्रसार अधिकृत कृष्ण धिताल ।

अहिले काभ्रेका किसानमा छुट्टै किसिमको ऊर्जा देखिन्छ । प्रविधिको प्रयोग गरेर व्यावसायिक कृषि खेती गरिरहेका थुप्रै किसान भेट्न सकिन्छ । व्यावसायिकरूपमा खेती गर्न कसले सिकायो भनेर उनीहरूलाई सोध्ने हो भने, आधाभन्दा बढी किसानको जवाफ आउँछ, ‘धिताल सर ।’ अर्थात् कृष्ण धिताल ।

उनी जिल्लाका मात्र हैन, देशभरका किसानलाई कसरी निर्वाहमुखीबाट व्यवसायमुखीतर्फ आकर्षित गर्न सकिन्छ भनेर लागेका छन् । र, यसैमा सम्भावना खोजिरहेका छन् । नयाँ पुस्तालाई कसरी कृषि पेशामा आकर्षित गर्न सकिन्छ भनेर योजना बनाउँछन् र प्रयोग गर्छन् । उनलाई लाग्छ पुरानो पुस्ताले बीउ जोगाउन परम्परागत शैलीमा काम गरिरहेको छ ।

उनी काभ्रेमा आउनुभन्दा एक वर्षअघि किसानले उन्नत जातको धान लगाए । तर, धानमा बाला लागेन । त्यसपछि किसान आन्दोलित भए । र, जिल्ला कृषि कार्यालयसम्म पुगे । यो घटनाले उनलाई तानिरहेको थियो ।

काभ्रेमा सरुवा भएपछि उनले धान उत्पादन बढाउन एसआइआई प्रविधि भित्र्याए । सुरुमा किसानले उनको कुरा पत्याएनन् । तैपनी उनले हरेस खाएनन् । त्यसपछि उनले जग्गा भाडामा लिएर एसआइआई प्रविधिबाट धान खेती गरे । फलतः राम्रो उत्पादन भयो । त्यसपछि किसानको उनीप्रति विश्वास बढ्दै गयो ।

उनले सुरुमा ४० किसानलाई एसआरआई प्रविधिसम्बन्धी तालिम दिए । स्थानीय जातको ‘मकवानपुर १’ जातको धान उन्नत प्रविधि प्रयोग गरेर खेती गर्दा उत्पादन पनि राम्रो भयो । तर, किसानले धानको उचित मूल्य पाउन सकेनन् । त्यो कुरालाई मध्यनजर गर्दै उनले स्थानीय जातको हावापानी सुहाउँदो धान खेतीलाई नयाँ प्रविधि प्रयोग गर्न सिकाए ।

महादेववेशीका किसान गोविन्द नेपालको भनाई मान्ने हो भने त्यहाँका किसान निर्वाहमुखी खेती छोडेर व्यावसायिकतर्फ अग्रसर भएका छन्, जसमा कृष्ण धितालको भूमिका महत्वपूर्ण छ । उनकै सहयोगमा जिल्लाका तीन सय पाँचभन्दा बढी किसानले एसआरआई प्रविधि प्रयोग गरेर बेमौसमी धान र व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

दोब्बर मुनाफा आर्जन गरिरहेका छन् । गोविन्द भन्छन्, ‘पहिला बीउ जोगाउन खेती गर्थे भने धिताल सरको सहयोगबाट ५ रोपनी जग्गामा २८१९ किलो धान फलाउन सफल भएँ । उहाँ बोलाएका बेला खेतमै आउनुहुन्छ र उचित सल्लाह दिनुहुन्छ ।’

साथै, उनी तरकारी बालीमा प्रयोग हुने विषादीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर लागिपरेका छन् । त्यसका लागि उनले तालिममा विषादी बिक्री–वितरण गर्ने पसलेहरूलाई पनि बोलएर त्यसको प्रयोगसँगै सुरक्षाका उपायबारे जानकारी गराउने र प्रयोगकर्तालाई, विषादीको प्रयोगले खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि असर पर्छ भनेर सचेत गराइरहेका छन् ।

किसानका गुनासा सुन्ने, सुझाव दिने र सूचना प्रवाह गर्ने गरी उनको अग्रसरतामा जिल्ला कृषि विकास कार्यालय अन्तरगत ‘हेलो कृषि’ नामक फेसबुक पेज सञ्चालन भइरहेको छ । जसबाट किसानले आफ्नो खेतबारीमा देखिएका समस्या सजिलै राख्न पाएका मात्र छैनन् । कृषि प्राविधिक किसानकै खेतबारीमा गएर समस्या पहिचान गरी समस्या हल गरेर फर्किरहेका छन् । किसानको बारीमै जाने, परामर्श दिने, आवश्यक तालिम दिने र बजार प्रवद्र्धन गरिदिने काम पनि गर्छन् त्यसकारण उनी किसानका एकमात्र ‘भरोसाका विन्दु’ हुन् ।

उनी सेवाग्राही कार्यालयमा आउला अनि काम गरौंला भनेर बस्दैनन् । कतै समाचारमा किसानको समस्या देख्यो भने पच्छ्याएर किसानको खेतबारीमै पुगेर समाधान गरेर फर्किन्छन् ।

सबनम पाठक

हाल वन विभाग बबरमहल, काठमाडौंमा कार्यरत सहायक वन अधिकृत सबनम सानैदेखि प्रकृतिपे्रमी थिइन । बिहानै रुखको कापबाट चियाउने सूर्यको किरण र चराहरूको चिरबिराहटले उनको मन लोभ्याउथ्यो । त्यसैले उनले वन विज्ञान अध्ययन गरिन् । २०४९ सालमा पहिलो पटक सरकारी सेवामा प्रवेश गरेकी पाठक पहिलो पटक कञ्चनपुरमा खटिइन् । त्यसबेला वनमा महिला कर्मचारी थोरै थिए । कामप्रति उनको लगाव देखेर स्थानीय अचम्म पर्थे ।

उनलाई देखेर एकपटक टक्क रोकिन्थे । पुलुक्क हेर्थे । अनि आफ्नो बाटो लाग्थे । सरल भाषामा भन्ने हो भने, महिला कर्मचारीप्रति आम मानिसले भरोसा गर्दैनथे । चुनौतिपूर्ण काम त उनीहरू गर्नै सक्दैनन् भन्ने एक किसिमको भ्रम थियो ।

चितवनमा पहिलोपटक खटिएर जाँदाको घटनाले पनि यो कुरालाई पुष्टि गर्छ । त्यहाँ, कार्यालयभित्रकै पुरुष कर्मचारीमा पनि महिला कर्मचारीले टाइप मात्र गर्ने हो भन्ने मानसिकता थियो । त्यसबेला लिथो मेसिनबाट टाइप गर्ने चलन थियो । उनलाई पनि त्यही गर्न भनियो । तर, उनको जिम्मेवारी फिल्ड र योजना शाखाको थियो । जिम्मेवारीअनुसार काम पाउनुपर्ने र त्यसका लागि सक्षम भएको कार्यालयभित्रै आवाज उठाइन् ।

२०५२ सालमा चितवनमा सामुदायिक वनको अवधारणा अघि सारेर वन जोगाउने अभियानमा लागिन् । उनकै अगुवाईमा ‘कंकाली सामुदायिक वन’ गठन भयो । समितिमा ५० प्रतिशत महिला हुनुपर्ने अनिवार्य सर्त राखिन् । घाँसदाउराकै सिलसिलामा वन्यजन्तुको आक्रमणमा महिलाले ज्यान गुमाउनुपर्ने अवस्था उनले बुझेकी थिइन । जबसम्म महिलामा वन र वन्यजन्तुको संरक्षणबारे चेतना जगाउन सकिँदैन, तबसम्म समस्या जस्ताको त्यस्तै रहने छ भन्नेमा उनी विश्वस्त थिइन् । तर, यो अवधारणा ल्याउँदा उनी हासोको पात्र बनिन् । हुन पनि, सुरुसुरुमा महिला पूर्णरूपमा निष्कृय जस्तै थिए । उनीहरू नाम मात्रका सदस्य थिए । बिस्तारै उनीहरू बुझ्दै गए ।

सहभागिता बढ्दै गयो । रुचि अनि चासो पनि बढ्दै गयो । सामुदायिक वनको नेतृत्व महिलाले नै गर्न थाले । नजिकै अरु समूह पनि त्यहि अवधारणामा गठन भए ।

त्यसपछिको उनको लक्ष्य भनेको चेपाङलाई वन संरक्षणमा सहभागी गराउनु थियो । उनीहरूको समय हरेक वर्ष खोरिया फँडानीमै बित्थ्यो । खोरिया फँडानी गर्नु उनीहरूको परम्पराजस्तै थियो । त्यसबखत चेपाङहरू बाहिरी मान्छेसँग कुरा गर्नसम्म डराउँथे । यस कुराले उनको योजनालाई थप चुनौती दिइरहेको थियो । उनले योजना बनाइन् । १५ दिनसम्म उनीहरूसँगै बस्ने । उनीहरूसँगै गिठ्ठा भ्याकुर खोज्न जाने, सँगै बसेर खाने । उनीहरूको बोलीभाषा र रहनसहन सिक्ने । उनीहरूका पिरमर्का बुझ्ने र वन संरक्षणको महत्व बुझाउने । अन्त्यमा उनी सफल भइन् । १५ दिनको बसाइँमा २० समूह बनाइन् । उनीहरूका लागि जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषि सम्बन्धि तालिमको व्यवस्था गरिन्, जसले उनीहरूलाई व्यावसायिक खेती र पशुपालन गरेर आत्मनिर्भर बन्न सिकायो । उनीहरू वन संरक्षणमा लागेपछि पहिलेका नांगा डाँडाहरू हरिया भए । नजिकै जंगल भएपछि पशुका लागि घाँसपात गर्न टाढाटाढा जानुपरेन । उनीहरूमा वनजंगलप्रति अपनत्वको विकास भयो । आफै वन संरक्षणका अभियन्ता बने ।

त्यसपछि पनि उनले थुप्रै जिल्लामा रहेर काम गरिन् । तर, आफ्नो कामप्रति शंका गर्ने ठाउँ कतै छोडिनन् । ‘मैले बुझे अनुसार उहाँ (सबनम)को कामप्रति सेवाग्राही सन्तुष्ठ छन्,’ वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य भन्छन्, ‘उहाँको सवल पक्ष भनेको कार्ययोजना बनाएर काम गर्नु र त्यसको कार्यान्वयन गर्नु हो । उहाँ कुनै पनि काम गर्दा किन, कसका लागि र परिणामबारे बोध भएर काम गर्नुहुन्छ ।’

त्यसैले विभागले पनि उनीमाथि भरोसा गरेको छ । हाल उनी वन र वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु व्यवस्थापन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको समन्वयलगायत कामको जिम्मेवारी छ । उनले सरकारी सेवामा रहेर गरेको योगदानलाई कदर गर्दै, सरकारले २०७४ सालको उत्कृष्ट निजामती कर्मचारी पुरस्कारबाट सम्मानित गरेको छ ।

सबराज बम

सरकारी विद्यालयमा प्रायः विद्यार्थी गणित विषय भनेपछि डराउँछन् । रुचि राखेर पढ्दैनन् । परीक्षाफलमा पनि यो कुरा प्रष्ट झल्किन्छ । अनुत्तीर्ण हुने विद्यार्थीमध्ये आधाभन्दा बढी गणित विषयमा अनुत्तीर्ण भइरहेका हुन्छन् । गुणस्तरीय शिक्षाको कुरा गर्दा यो चुनौती सबैसामु पहाड जस्तै बनेर आउँछ । यसकै एक जना भुक्तभोगी हुन्, पञ्चदेव मावि मान्म, कालिकोटका गणित विषय शिक्षक सबराज बम । सानो छँदा गणित विषय भन्नेबित्तिकै उनलाई पनि झर्को लाग्थ्यो । लामा–लामा सूत्रहरू पढ्दा त अझै उदेक लाग्थ्यो । कालिकोट जस्तो विकट क्षेत्रका विद्यालयमा विषयगत शिक्षक पाउनै मुस्किल हुन्थ्यो । गुणस्तरीय शिक्षक पाउनु त धेरै परको कुरा भयो गणित, विज्ञान र अंग्रेजी शिक्षक पाउँदा मात्रै पनि खुसी हुनुपर्ने अवस्था थियो । त्यही धरातलमा टेकेर उनले उच्च शिक्षा हासिल गरे । यो समस्या नयाँ पुस्ताले भोग्नु नपरोस् भन्ने उनलाई लागिरहन्थ्यो । त्यसैले उनी शिक्षण पेशामा होमिए ।

उनलाई गणित विषय कसरी रुचिको बनाउने भन्ने उनलाई लागिरहन्थ्यो । यसलाई सृजनात्मक तरिकाले कसरी पढाउने ? साहित्यप्रेमीसमेत रहेका सबराज बम कविता प्रतियोगितामा सहभागी भइरहन्थे । उनी गणितलाई साहित्य जोडेर कसरी प्रभावकारी बनाउनेबारे सोचिरहन्थे ।

२०७१ सालमा कालिकोट साहित्य महोत्सव भयो । महोत्सवले उनलाई उत्साहित बनायो । र, उनले गणित साहित्य लेखन सुरु गरे । उनले लेखेका कवितालाई विद्यार्थीहरू लयबद्ध रमाइलो मानेर पढ्न थाले । कवितालाई गीतका रूपमा पनि प्रस्तुत गरे । कठिन सूत्र छन्दबद्ध कविता र गीतका रूपमा पढ्न पाउँदा विद्यार्थीलाई लामा र कठिन सूत्रहरू कण्ठ गर्नुपरेन ।

६१ ओटा कविता राखेर गणित–साहित्य नामक किताब प्रकाशित गरे । दश हजारभन्दा बढी पुस्तकहरू कालिकोटकै प्रायः विद्यालयले प्रयोग गरिरहेका छन् । सुरुमा विश्वास नगरेका शिक्षक पनि शैक्षिक क्षेत्रमा नयाँ शैलीको विकास भयो भनेर हौसला दिइरहेका छन् । गणित विषयमा उनको नयाँ प्रयोग देखेर उनलाई तालिम प्रदान गरिदिन भनेर निम्तो दिने विद्यालयको पंक्ति लामो छ । प्रत्येक वर्ष जिल्ला शिक्षा कार्यालयको अनुरोधमा एसइई परीक्षा आउनुभन्दा दुई महिनाअघि हरेक दिन एफएम रेडियोमार्फत स्वयम्सेवकका रूपमा गणित विषय पढाइरहेका छन् । जसले गर्दा जिल्लाका हजारौँ बालबालिकाहरू लाभान्वित भएका छन् ।

उनी सुनाउँछन्, ‘नानीबाबुहरू अर्थ थाहा नभए पनि आफूले लेखेका गणित कविताहरू गाउँदै गुनगुनाउँदै हिँडेको देख्दा एक किसिमको सन्तुष्टि पाइन्छ । केही गर्न सके भन्ने महसुस हुन्छ ।’ धेरै फड्को मारेको भन्न नमिल्ला । तर, समग्रमा हेर्ने हो भने जिल्लाको गणित औशत उत्तीर्ण प्रतिशत बढेको छ । उनीसँग ट्युसन पढ्न टाढाटाढाबाट आउने विद्यार्थीको संख्या बढिरहेको छ ।

शिक्षण पेशालाई सम्मानको रूपमा लिने । आफूले पढाएको विद्यार्थी भोलि के बन्नुपर्छ भनेर गहन चिन्तन गर्ने र त्यही अनुसार रात–दिन मेहनत गर्ने बम, अझै यसलाई कसरी सबैको पहुँचमा पु¥याउन सकिन्छ भनेर लागिपरेका छन् । हाल उनी कवितालाई श्रव्य–दृश्य सामग्रीमा रूपान्तरण गर्ने र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीले पनि उपयोग गर्न सकुन् भन्नका लागि यसलाई अंग्रेजीमा उल्था गर्ने प्रकृयामा छन् । साथसाथै, किताबलाई सहपाठ्यक्रमका रूपमा प्रयोग गर्ने सकिन्छ कि भनेर सम्भावना खोजिरहेका छन् ।

उनी सृजनात्मक त छन् नै साथसाथै उनी आफ्नो जिम्मेवारी प्रति पनि त्यतिकै प्रतिबद्ध छन् । उनी शिक्षाको गुणस्तरियतामा सम्झौता गर्दैनन् । दुर्गमका जिल्लामा एसएलसी परीक्षामा विद्यार्थिलाई चिट चोराउन शिक्षकबीच नै होड चल्ने गर्छ । यसका विपरित उनले आफ्नै भाईबुहारीलाई चिट चोरिरहेको भेट्दा परीक्षाबाट निष्कासन गर्नसम्म पछि परेनन् । परीक्षाताका थुप्रै विद्यार्थी र अभिभावक उनीविरुद्ध नारा जुलुस लाउँथे । तर, उनलाई त्यसले फरक पारेन । बरु उनी विद्यार्थीलाई कक्षामा नबुझेको कुरा पटक–पटक सोध्न प्रेरित गर्छन् । कमजोर विद्यार्थीका लागि निःशुल्क उपचारात्मक कक्षा सञ्चालन गर्छन् । जिल्लामा उनको परिचय नै बनेको छ, इमानदार र असल शिक्षकका रूपमा ।

शेषनारायण पौडेल

उनी जुन ठाउँमा खटिएर जान्छन्, पहिले त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गर्छन् । र, योजना बनाउँछन् । बाग्लुङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर जाँदा पनि पहिलो एक हप्ता गुल्मी र प्युठानको सिमानामा पर्ने बुर्तिबाङमा अनुगमनका लागि गए । सेवाग्राही सामान्य सेवा लिन पनि सदरमुकाम आइरहेको देखे । त्यतिखेर इलाका प्रशासन कार्यालयबाट नागरिकता मात्र जारी भइरहेको थियो । त्यो पनि सबै अधिकार थिएन । सबैभन्दा पहिला नागरिकता सिफारिस गर्न इलाका प्रशासन कार्यालयलाई सबै अधिकार प्रत्यायोजन गरे । राहदानी त्यहाँबाट जारी हुने चलन थिएन । सेवाग्राही निवेदनका लागि मात्र बुर्तिवाङबाट ९५ किलोमिटरको कच्ची बाटोमा जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम आउनुपथ्र्यो । होटेल खर्चको जोहो गर्नुपथ्र्यो र एक महिनापछि फेरि सोही प्रकृया दोह¥याउनुपर्ने अवस्था थियो । कहिले राहदानी बनेकै हुँदैनथ्यो । पटकपटक ओहोरदोहोर गर्दा थुप्रै व्यक्ति दुर्घटनाको सिकार भइरहेका थिए । त्यसलाई मध्यनजर गर्दै बुर्तिबाङबाटै राहदानी दिने व्यवस्थाको थालनी गरे । सदरमुकाममा केही स्वार्थ समूहको दबाबमा राखिएका मालपोत र नापी कार्यालय पनि बुर्तिवाङमै स्थापना भए । केही व्यक्तिले आफ्नो स्वार्थका कारण विरोध गरे । तर, उनले यो प्रमुख जिल्ला अधिकारीकोे अधिकार हो । यसलाई सरकारको निर्णय पर्खिरहनु पर्दैन भनेर तत्काल लागु गरे । सुरुमा स्थानीयलाई विश्वास भएन । बाग्लुङ बजारको ब्यापार चौपट भयो भन्नेहरू पनि थिए । तर, उनी आफ्नो अठोटबाट एक कदम पनि पछाडि हटेनन् । आफ्नै हातबाट पहिलो दिन ८ ओटा राहदानी वितरण गरे । स्थानीय खुसी भए । उनले राहदानी वितरण गरिसकेपछि मात्र गृह मन्त्रालयलाई खबर गरे । उनी भन्छन्, ‘अनुमति पाउँ भनेर निवेदन दिएर बसेको भए के हुन्थ्यो भन्न सकिँदैन । असल कामका लागि जोखिम पनि लिन सक्नुपर्छ । कतै कार्यसम्पादन मूल्यांकनमा पछाडि पर्छु भनेर पछाडि हट्यो भने वास्तविक पीडित सेवा पाउनबाट वञ्चित हुन्छ ।’

उनी कार्यालय समयमा मात्र हैन, कार्यालय बिदाका दिनहरूमा गाउँगाउँ पुग्छन् । स्थानीयवासीलाई उनीहरूको समस्याबारे सोध्छन् । एउटा जिल्लाको प्रमुख व्यक्तिले घरदैलोमै आएर सोधिसकेपछि उनीहरू निःसन्देह आफ्नो समस्या सुनाउँछन् । समस्या सुनिसके पछि, हुने काम भए तत्कालै गरिदिन्छन्, नभए यो कागजात लिएर कार्यालय आउनुस् भनेर आवश्यक कागजातको विवरण तयार गरिदिन्छन् । त्यसपछि सेवाग्राही कार्यालयमा आउँछ र सहजै काम सकेर फर्किन्छ ।

विनासकारी भूकम्प आउँदा उनी रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । जिल्ला प्रशासन कार्यालयसँग भवन बनाउने एक करोड रकम थियो । तत्काल राहतका लागि रकम निकासा गर्ने अवस्था थिएन । तर, उनले सो रकम तत्काल राहतमा प्रयोग गरे । जिल्लाको प्रमुख भइसकेपछि सही समयमा सही निर्णय लिन सक्नुपर्छ भनेर उनको जताततै प्रशंसा भयो ।

मन्थली बजारभर सार्वजनिक शौचालय थिएन । सेवाग्राहीहरू टाढाबाट आउँथे । उनीहरूको असहजतालाई ध्यानमा राखेर सर्वपक्षीय बैठकमा यो कुरा राखे । शैनिक रथिले श्रमदान जति सैनिकले गर्छ भनेपछि । अरु स्रोत साधन पनि जुट्यो । सुविधा सम्पन्न शौचालय तयार भयो ।

त्यसैबेला देशले नाकाबन्दीको सामना गरिरहेको थियो । जिम्मेवार ठेकेदारले विभिन्न बहानामा विकास निर्माणका कार्य ठप्प पार्न खोजेका थिए । तर, उनले त्यसो हुन दिएनन् । अमलेखगन्ज डिपोबाट इन्धन माग गरेर भए पनि नाकाबन्दीकै समयमा विमानस्थल निर्माण भयो । पुल बने । बाटोघाटो बने । सोही वर्ष विकास निर्माणमा रामेछाप मध्यमाञ्चलमै प्रथम भयो ।

गाडी प्रयोग गरेरै दुई दिन लाग्ने जिल्लाका दुर्गम ठाउँहरूमा घुम्ती सिविर पुगेका थिएनन् । थप्रै वृद्धवृद्धाले नागरिकता पाएका थिएनन् । जसले गर्दा उनीहरू सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिए । उनले बृहत एकीकृत घुम्ती सिविर लिएर गए । उनी भन्छन्, ‘पहिलो दिन राति ११ बजेसम्म नागरिकता बाँडियो । अर्को दिन राति १२ बजेसम्म पनि लाइन बाँकी छ । छोडेर हिँड्न सकिएन । राति जति बेर भए पनि बाँड्नु पर्छ भनेर सहकर्मीलाई सम्झाइबुझाई गरियो । अर्को गाविसमा लामो लाइन लागिसकेको छ । दुई दिनमा प्रिन्ट गरेरै १०१५ नागरिकता मात्र बाँडियो ।’

हाल उनी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी छन् । त्यहाँ पनि उनले ती हरेक अभ्यासलाई निरन्तरता दिइरहेका छन् । उनकै अग्रसरतामा गत वर्ष बाढी आउँदा सबैभन्दा पहिला मोरङले सबैभन्दा पहिला पीडितलाई राहत वितरण गरेको थियो । कर्मचारी स्वयं पीडितको घरदैलोमा पुगेका थिए । उनी भएपछि नियमसम्मत हुने काम रोकिँदैन भनेर सेवाग्राही ढुक्क हुने वातावरण तयार भएको छ ।

समयसापेक्ष कार्यशैलीमा परिवर्तन हुनुपर्छ भन्ने उनले जिल्लाभरका पत्रकार, नागरिक समाजलगायत सरोकारवाला सबैका इमेल र एसएमएसबाटसुचना प्रवाह गर्न सूचना डेस्कको स्थापना गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले गरेका निर्णय, कार्यक्रमबारे सजिलै जानकारी लिन सकिन्छ । महत्वपूर्ण कुरा उनले आफ्नो कार्यालयलाई भनसुनरहित कार्यालय बनाएका छन् ।

समग्रमा भन्नुपर्दा उनी जिल्ला प्रशासन कार्यालय जनतालाई दुःख दिने थलो हैन भनेर जनतालाई विश्वस्त बनाउन रात दिन एक भएर लागिपरेका कुशल कर्मचारी हुन् ।

सृजना तिवारी

सरकारी सेवाको सुरुवात वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट गरेकी सृजना तिवारी, विस्तारै त्यसै क्षेत्रमा दक्षता हासिल गर्दै गइन् । काम गर्दै जाँदा उनको झुकाव पनि त्यस क्षेत्रमा बढ्दै गयो । वैदेशिक रोजगारमा जाने हरेक नेपालीले भोग्नुपर्ने समस्याले पनि उनलाई पिरोल्दै गइरहेको थियो । उनलाई लाग्थ्यो, ति वैदेशिक रोजगारीमा जाने पीडित कामदार ठगिनबाट बचाउन सकियो भने ठुलो उपलब्धि हुने थियो । त्यहि सिलसिलामा करिब ३१ महिना कुवेतस्थित नेपाली दुतावासमा श्रम कर्मचारी भएर काम गर्दा ती सबै कुरालाई नजिकबाट अनुभूत गर्ने मौका पाइन् । थुप्रै कामदारले सम्झौता पत्रमा तोकेजति पारिश्रमिक नपाएका, शारीरिक हिंसाको सिकार भएका र लामो समयसम्म काम गर्दा पनि तलब नपाएकालगायत थुप्रै मुद्दा दुतावासमा आउँथे । त्यसभन्दा अगाडि पनि दूतावासमा मुद्दा दर्ता नहुने त हैन । तर, प्रगति शून्य जस्तै थियो । जब उनले जिम्मेवारी पाइन, उनले कम्पनीका मानव संसाधान अधिकृतसँग कुरा गर्न थालिन् । थुप्रै समस्या समाधान हुँदै गए । लामो समयसम्म तलब रोकिएका कामदारले तलब पाउन थाले । कम्पनीले उनीहरूविरुद्ध गरेको ज्यादती कम हुँदै गयो ।

उनीप्रति कामदारको भरोसा बढ्दै गयो । दिनहुँ सयौं व्यक्ति कुनै न कुनै समस्या लिएर आउँथे । उनीहरू निरास भएर फर्कनु पर्दैनथ्यो । एक–एक गर्दै समस्या समाधान गर्दै जान्थिन् । उनी सबै पक्षलाई समेटेर समग्र समस्याको समाधान खोज्ने प्रयास गर्थिन् । त्यसैको परिणाम हुन सक्छ, कुवेतबाट नेपाल फर्किदा, त्यहाँ नेपाली कामदार कार्यरत कम्पनीका प्रतिनिधि समेत उपस्थित भएर उनको भव्य बिदाई गरेका थिए ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाहरूले भोग्नुपरेका मानसिक तथा शारीरिक शोषणले पनि उनको ध्यान तानिरहेको हुन्थ्यो । उनले त्यसको सुरुवात कुवेतबाटै गरिन् । त्यसपछि सो विषयमा गहन बहस हुन थाल्यो । अन्त्यमा, सरकारले घरेलु कामदारको रूपमा महिलालाई खाडी मुलुकमा जान कानुनी तवरमै रोक लगायो । त्यसबेला उनलाई डर धम्की र लोभलालचका प्रस्ताव लिएर आउने पनि थुप्रै थिए । तर, उनको अठोटका आगामी उनीहरू निरास भएर फर्कनुको विकल्प थिएन ।

कुवेतमै रहेर नेपाली कामदारको हकहितमा कलम चलाउँदै आएका पत्रकार राजन रिमाल भन्छन्, ‘मैले चिनेको एकजना दाई मानसिक रोगी भइसकेका थिए । उनी कुवेत आएको मात्र ७ दिन भएको थियो । कम्पनीले १५ जना कामदारलाई एउटै कोठामा राखेको थियो । सम्झौतामा भए अनुसार तलब पनि थिएन । काम पनि तोकिएभन्दा छुट्टै थियो । उनी थकित भएर आत्महत्या गर्ने मनस्थितिमा पुगिसकेका थिए ।
सृजनाजीलाई यसबारे जानकारी दिएपछि उहाँले तुरुन्तै कम्पनीको मानव संसाधान अधिकृतसँग कुरा गरी सम्झौतामा भएअनुसार सेवा सुविधा दिन र दिन नसके अनुमति खारेज गर्ने बताउनुभयो । त्यसपछि कम्पनीले कामदारकै ईच्छा अनुसार नेपाल फकाईदियो ।’

उनले अरु पनि थुप्रै जिम्मेवारीमा रहेर काम गरिन् । सोलुखुम्बुको नाम्चेमा सहायक प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा काम गर्दा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गरिन् । सेवाग्राही टाढाटाढाबाट आउँथे, कसैलाई प्रक्रिया थाहा हुँदैनथ्यो, कसैसँग कागजातको प्रतिलिपि हुँदैनथ्यो । त्यही बहानामा कर्मचारी आफ्नो जिम्मेवारीबाट पछि हटेको उनले नियालिरहेकी थिइन । जब उनी त्यो जिम्मेवारीमा आफै आइन, उनले ति सहजै हुने कामलाई प्राथमिकतामा राखिन । जसका कारण अहिले पनि सोलुखुम्बुवासीले उनलाई सम्झिरहेका हुन्छन् ।

छोटो समय सामान्य प्रशासन मन्त्रालयअन्तर्गत योजना तथा अनुगमन शाखा प्रमुख भएर काम गरिन् । त्यो छोटो अवधिमा उनले आफ्नै नेतृत्वमा अवकासप्राप्त उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने उद्देश्ले मापदण्ड तय गरेर वेवसाइटमा राखिन् । यसले आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेका कर्मचारी अवकासपछि पनि सम्मान अनुभूति गर्नेछन् भने बहालवाला कर्मचारी जिम्मेवार भएर काम गर्ने हौसला दिएको उनको विश्वास छ ।
उनी विभागले दिएको जिम्मेवारी मात्र पूरा गर्नुलाई पर्याप्त ठान्दिनन् । सरकारी संयन्त्रभित्रका बेथिति, विसंगती र सुधार्नु पर्ने क्षेत्रबारे निर्णयक तहलाई सचेत गराउने दायित्व विभागकै कर्मचारीको हो भन्ने मान्यता उनी राख्छिन् । यही सन्दर्भमा लेखिएका उनका थुपै्र लेख रचना विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशित भएका छन् ।

हाल कर्मचारी स्थानीय निकायमा समायोजन हुँदै गर्दा, कसले के गर्ने भन्ने अन्योलता छ । थुप्रै कर्मचारी जिम्मेवारविहिन जस्तै छन् । त्यसमध्येकै एक जना कर्मचारी उनी पनि हुन् । तर, उनी हाजिर गर्नमात्र कार्यालयमा आउँदिनन् । भावी योजनाबारे सहकर्मीसँग छलफल गर्छिन् । बचेको समयमा मन्त्रालयभित्रकै पुस्तकालयमा गएर प्रशासन सुधार सम्बन्धि पुस्तक अध्ययन गर्छिन् र समसामयिक प्रशासनिक अभ्यास र सुधार्नुपर्ने क्षेत्रबारे सुझाव सहितका लेख रचना सृजना गर्छिन् ।

समग्रमा भन्नुपर्दा, उनी इमान्दार, मेहनती, स्पष्ट र जनताले बुझाएको करको महत्व बुझेकी कर्मचारी हुन् ।


र यो पनि,

इन्टिग्रिटी आइडलका उत्कृष्ट ५ छनोट

मंसिर १४ गते, २०७४ - बेलुकी ०२ः५९ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg