मंसिर २९ गते, २०७४

लोकसेवा पढाइको ट्रेन चेन्ज गर्न जरुरी छ

लोकसेवा सम्बन्धी पुस्तक लेख्नेमा पर्छन्, तुल खड्का । उनले अहिलेसम्म लोकसेवा सम्बन्धी १० पुस्तक प्रकाशित गरिसकेका छन् । केही दिनयता मात्रै नायब सुब्बा र अधिकृतका थप दुई वटा पुस्तक बजारमा आएका छन् । उनले समसामयिक पुस्तक मात्र होइन, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, नायब सुब्बा, खरिदार तहका पुस्तक पनि लेखेका छन् । पुस्तक लेखनमा नयाँ ट्रेन चेन्जर लेखकका रूपमा उदाएका खड्कासँग पुस्तक लेखन, लोकसेवाका विविध पक्षलगायत विषयमा प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

पुस्तक लेखन कहिलेबाट सुरू गर्नुभयो ?
पुस्तक प्रकाशनको योजना २०७१ चैतमा बनेको थियो । त्यसअघि म नायब सुब्बा, खरिदार, इन्सपेक्टर, र असईको आइक्यु तथा समसामयिक पढाउन धेरै ठाउँमा जान्थे । फेसबुकमा पनि ‘लोकसेवा सारथि’ नामक पेज बनाएको थिएँ । त्यो पेजमा धेरै जसो समसामयिक घटना विवरणहरु पोष्ट गर्थे । पोष्ट गर्दै जाँदा म्याटर कलेकन हुँदै गयो । र, त्यहाँ कलेक्सन गरेका म्याटर बजारमा आएका पुस्तकभन्दा स्तरीय र बढी भयो । त्यसमा धेरै मान्छेहरू जोडिँदै गए । उहाँहरूको सुझाव अनुसार नै मैले पुस्तक निकाल्न योजना बनाएँ । र, २०७२ वैशाख पहिलो साता पुस्तक बजारमा आयो । त्यतिखेरैबाट मैले ‘समसामयिक विशेष’ भनेर किताव लेख्न सुरु गरेको हुँ ।

तपाईँको पहिलो पुस्तकले कतिको बजार पायो ?
मेरो पहिलो पुस्तक ‘नासु र खरिदार समसामयिक विशेष’ २०७२ वैशाख पहिलो साता बजारमा आयो । पाठकले अत्यधिक रुचाएको पुस्तक थियो, त्यो । तर, पुस्तक बजारमा आएको हप्ता दिन नबित्दै भूकम्प गएकाले अलिकति डिस्र्टब गरेता पनि अपेक्षाभन्दा बढी नै सफलता हासिल गर्यो । राम्रो प्रतिक्रिया पाएर नै पुस्तक लेखनलाई अगाडि बढाउने योजना बनाएँ ।

लोकसेवाको पुस्तक लेखनमा ट्रेन चेन्जर लेखकका रूपमा पहिचान बनाउनुभएको छ, परम्परागत प्रणालीलाई तोड्न कतिको च्यालेन्ज छ ?
परम्परागत हाजिरीजवाफ शैलीमा पढ्न अभ्यस्त बजारलाई नयाँ प्याटर्नमा ल्याउन केही चुनौती छ । मेरो नयाँ ट्रेन भनेको कुनै पनि विषयवस्तु माथि के, कहाँ, किन, कस्तो, कसले, कुन, कहिले, केका लागि र कति जस्ता प्रश्न एकै साथ गरेर पढ्नुपर्छ भन्ने हो । मैले मेरा पुस्तकमा यसरी प्रस्तुत गर्ने गरेको छु । जस्तो :
मुख्यसचिवमा रेग्मी नियुक्त
 को रेग्मी ? ➥लोकदर्शन रेग्मी
 कसको मुख्यसचिव ? ➥ नेपाल सरकारको
 कसले नियुक्त गर्यो ? ➥नेपाल सरकाले
 कहिले नियुक्त ? ➥ २०७४ कार्तिक ६
 कति औँ मुख्यसचिव भए ? ➥२४ औँ
 मुख्य सचिवको कार्यकाल कति हुन्छ ? ➥३ वर्ष
 पहिलो मुख्यसचिव को हुन् ?➥ चन्द्रबहादुर थापा

यसरी एउटै टपिकमा को, कहिले… जस्ता प्रश्नको ओइरो एउटै टपिकमा लगाउनुपर्छ । जुन स्टाइललाई म जिके इन लेयर भन्छु । यसरी पढ्दा सम्झन सहज मात्र हुँदैन, पढ्दा पनि बोर लाग्दैन, खेल्दै पढेकोजस्तो हुन्छ ।

सुर्खेतमा सरकारी जागिरे हुनुहुन्छ, पर्याप्त स्रोत साधन अभावका बीच पनि पुस्तक लेखनलाई कसरी निरन्तरता दिन भ्याउनुभएको छ ?
निरन्तरता दिने की नदिने रुचिले निर्धारण गर्छ । रुचि हुने ठाउँमा हमेशा योगदान गर्न सकिन्छ । तर, कहिलेकाँही रुचि, चाहना र इच्छा हुँदाहुँदै पनि मोफसलमा हुनका नाताले भने जसरी समयमा नै काम गर्न सकिँदैन । लेखनका लागि आवश्यक स्रोत साधनको अभावमा कतिपय काम सोचेजस्तै गर्न सकिँदैन । सहर–राजधानीमा छापिएका पत्रपत्रिका, बुलेटिन, पुस्तक, लेखरचना, कार्यपत्र, खोज र सन्दर्भ सामग्री अहिले पनि केन्द्रीकृत छन् । विकेन्द्रीत हुन समय लाग्ने भएकोले काममा असहजता हुन्छ नै । तर, अहिलेका सूचना प्रविधिमा आएको महाविकासले असहजतालाई बिसाई दिएको छ ।

विभिन्न पत्रपत्रिकामा पनि लेख लेख्दै आउनुभएको छ, त्यसमा पनि समसामयिक विषयका जल्दाबल्दा समस्यामा गहिरो खोजसहित, कर्मचारी भएकैले पनि सहज भएको हो ?
कर्मचारी भएर समाज, व्यवस्था र परिपाटी बुझ्न सजिलो भयो । र, लेखन त्यति सजिलो कार्य होइन, जस्तो लाग्छ । लेखनका लागि खोज, अध्ययन र विश्लेषणको पाटो बलियो हुनुपर्छ । अध्ययन, अनुभव र अनुभूतिको संयोजन गर्ने कला चाहिन्छ, लेखनमा । र, अर्को कुरा रुचि हो । रुचिले मान्छेलाई अन्तरहृदयबाट कन्भिन्स गरिदिन्छ । र, मान्छे स्वतःस्फूत काम गर्न सक्छ । साथै अभाव, दबाब र प्रभावलाई सहजैरूपमा चिर्न सक्छ । तर, किताव लेख्नकै लागि वा पैसा कमाउन र अरुको उत्प्रेरणाबाट मात्रै लेख्न खोज्यो भने तपाईँले भनेजस्तो सोचेजस्तो तरिकाले लेख्न सकिँदैन । त्यसैले मनबाट लेख्ने अठोट गर्नुपर्छ । जहाँ मान्छेको रुचि छ, त्यही सफलता पाइन्छ ।

लोकसेवासम्बन्धि पुस्तक लेखनमा रुचि बढ्नुको कुनै कारण ?
सुरुमा रहर…हा हा…। अमूल्य सल्लाह, उत्कृष्ट सुझाव र ओजिलो रचनात्मक सुझाव पेश गर्ने पाठक वर्गको अमिट माया, अहिले । साथै प्रेरणा, उत्प्रेरणा, हौसला र ऊर्जाको कमी हुन नदिने आदरणीय सम्पूर्ण ऊर्जावाजहरू पुस्तक लेखनका स्रोत हुुनुहुन्छ । स्वभावले नै मलाई केही नयाँ जानकारी भयो र पाए भने कसलाई सुनाउन कसलाई सुनाउ हुन्छ । म आफूले सिकेका कुरा अरुसमक्ष प्रस्तुत गर्न रुचाउँछु ।

मैले समसामयिक विषयमा पढ्दा सबैसँग म्याटर थिएन । कलेक्सन गरेर पढ्न गाह्रो थियो । किनकी सबै इन्टरनेटको पहुँचमा थिएनन् । मलाई के लाग्यो भने समसामयिक म्याटर दिन सके धेरैले राहत पाउथे । त्यसकारण लेख्न सुरु गरेको हुँ ।

सोच र इच्छाशक्तिले पुस्तक लेख्नुभयो की कसैको प्रेरणा पनि थपियो ?
पहिलो कुरा पुस्तक लेख्नु मेरो रुचि हो । यो स्वतःरूपमा स्खलित तथा पोखिएर आउँछ । पोखिएर आयो भने थाम्न सकिँदैन । यसलाई म बाँध्न सक्दिनँ, त्यसकारण प्रस्तुत गर्नैपर्छ । पब्लिस होला/नहोला, म टिपेर राख्छु ।

पहिलो पुस्तक बजारमा आएपछि धेरै साथीहरूले ‘राम्रो रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँहरूले निरन्तरताका लागि सल्लाह दिनुभयो । मेरो रुचि त छँदै नै थियो । त्यसमा उहाँहरू नै प्रेरणाको खानी बन्नुभयो । त्यसपछि पुस्तक प्रकाशन भएपछि पाठकहरूले पनि अमिट माया गर्नुभयो ।

यहाँले प्रायः पुस्तकमा ‘विशेष’ शब्द बढी प्रयोग गर्नुहुन्छ, किन ?
हरेक समसामयिक घटनालाई मान्छेले विशेष महत्वका साथ हेर्न थालेका छन् । अरू विषयमा बजारमा जति पनि पुस्तक पाइन्छन् । जस्तैः भूगोल, इतिहास र धर्मसंस्कृति । यसबारे हामी कलेजदेखि नै पढ्दै आएका छौं । लाइब्रेरीमा पनि जति पनि पुस्तक पाइन्छन् । बजारमा पनि छ्याप्छ्याप्ती । जताततै यसबारे पुस्तक पाइन्छन् । तर, समसामयिक भन्ने यस्तो विषय हो, जो सहजै खोजेर पाउन सकिँदैन । त्यो विषयमा लोकसेवाले समसामयिक भनेर टपिक नै राखिदिएपछि म्याटर पाउन गाह्रो हुने भयो । त्यसलाई सहज गर्न मैलै यो विषय पुस्तकमा समेट्ने प्रयास गरेको छु । किनभने त्यो विशेष पनि हो ।

कहिलेकाही विभिन्न पुस्तकमा तथ्य तथा तथ्यांकमा फरक देखिने गरेको छ, त्यसलाई कसरी आधिकारिक बनाएर पुस्तकमा समावेश गर्नुहुन्छ ?
पहिलो कुरा त्यसको अथेन्टिसिटी के हो भनेर चेक गर्ने गर्छु । ‘सामान्य’ पत्रपत्रिकामा आएको कुरा अथेन्टिक नहुन पनि सक्छ । जस्तोः राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन्यजन्तु आरक्ष र शिकार आरक्षले ओगटेको क्षेत्रफल, अवस्थिति, अवस्था र स्थापना मिति बोर पत्रपत्रिकामा आउने जानकारी फरक फरक हुन सक्छन् त्यसको अथेन्टिक जानकारी लिदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गर्ने सूचना र पुस्तक आधिकारिक मान्नुपर्छ । एवम् प्रकारले सम्बन्धित विषयवस्तुका जानकारी त्यसरी भेरीफाई गरेर पुस्तकमा समेट्ने गर्छु ।

अन्य विधा र लोकसेवाको पुस्तक लेख्दा के फरक छ ?
अन्य विधामा पुस्तक लेख्ने कतिपयले मनका भावना पोख्छन् त केहीले समाजका यथार्थ । यी विधामा वास्तविक जीवनमा घटेका घटनालाई पनि प्रस्तुत गर्न सकिन्छ । तर, लोकसेवामा अनेन्टिसिटी हुन्छ । यसमा टु दी प्वाइन्ट कुरा लेखिन्छ । त्यसकारण लोकसेवा एकदमै संवेदनशील विधा हो । अहिले पनि बजारमा आएका धेरै कितावका डाटाबारे भ्रम छ । त्यसकारण यसमा सत्य तथ्य खोज्नका लागि गहिरो खोजको आवश्यकता पर्छ ।

बजारमा थुप्रै पुस्तक छन्, सबै किनेर पढ्न पनि सम्भव छैन, परीक्षार्थीलाई त अन्योल हुन्छ त ? कसरी छान्ने सही पुस्तक ?
यो त बोझ नै भयो । कुनै पनि लोकसेवा सारथिको लागि पहिलो सफलता भनेको उसले छनोट गर्ने सामग्री हो भन्ने गरिन्छ । कुन पुस्तक छनोट गर्ने ? यसका लागि पुस्तक हेरेर वा अग्रज तथा पढिरहेको मान्छेसँग सल्लाह लिन सकिन्छ ।

अर्को कुरा पढ्दा सहज हुने पुस्तक छान्नुपर्छ । विषयवस्तु एउटै भएकाले सबै पुस्तकमा उस्तै उस्तै कुरा लेखिएका हुन्छन् । तर, प्रस्तुति भने फरक हुन्छ । लेखकको प्रस्तुतिले पनि पढाइलाई प्रभाव पार्छ । त्यसकारण यी कुरा ख्याल गरी सामग्री छनोट गर्न सकियो भने सफल हुन सकिन्छ । साथै पढ्दा म्याटरमा अली बढी सम्बेदनशील हुनुपर्छ ।

तपाईँका पुस्तक पढेर सफलता पायौं भन्ने रेस्पोन्स आएको छ ?
छ, धेरै म्यासेज आएका छन् । कतिले ‘तपाईँको कितावलाई बेस बनाएर पढ्दा पास भएँ’ भनेर म्यासेज गरेका छन् ।

लेखाइमा ट्रेन चेन्ज गर्ने सोच कसरी आयो ?
म जनरल नलेज (जिके) विषयमा ट्रेन चेन्ज गर्ने भन्छु । जिके परम्परागत ढाँचामा पढेर हुँदैन । किनकी लोकसेवाले प्रश्न सोध्ने ट्रेन चेन्ज गरिसकेको छ । त्यसकारण पढाइको ट्रेन चेन्ज गर्नुपर्छ । हिजो सिंगल प्याटनको प्रश्न हुन्थ्यो । जस्तो: नेपालको क्षेत्रफल कति छ ? यो हाजिरीजवाफ जस्तो थियो । अब लोकसेवाले त्यसरी सोध्दैन ।

त्यसकारण हामीले फरक तरिकाले अध्ययन गर्न सक्नुपर्छ । जस्तो : पहिले हामी नेपालको जनघनत्वबारे पढ्दा नेपालकै मात्रै पढ्थ्यौं ।

अब त्यसरी होइन । नेपालको जनघनत्वबारे पढेपछि हिमाली, पहाडी तथा तराई प्रदेश र ग्रामीण तथा सहरी क्षेत्रको पनि पढ्नु आवश्यक छ । त्यसपछि जनघनत्व बढी र कम भएको क्षेत्र तथा जिल्लाबारे पनि जानकारी लिनु आवश्यक छ । यसरी पढ्यो भने प्रभावकारी हुन्छ जस्तो लाग्छ ।

त्यसकारण पढाइमा पनि ट्रेन चेन्ज गर्नु जरुरी छ । अन्यथा लोकसेवा र परीक्षार्थीबीचमा सधै ग्याप भइरहने छ । जिके इन लेयर भन्ने मेरो ट्रेन छ ।

तपाईँलाई केमा सन्तुष्टि लाग्छ, लेखक भएकोमा कि सरकारी जागिरे ?
सरकारी जागिरे भएर नै पुस्तक लेख्ने प्रेरणा आएको हो । लेखनमा पनि सन्तुष्ट नै छु । लेखाइमा बेग्लै किसिमको प्यासन छ ।

तपाईँको लेखनीले कहिलेसम्म निरन्तरता पाउँछ ?
पाठवर्ग एवं हौसलावाजहरूको स्नेह, सहयोग, सद्भाव र सुभेक्षा रहेसम्म निरन्तर चलिरहन्छ । पाठकको माया, हौसला पाइरहँदासम्म निरन्तर लेखन जारी रहनेछ ।

नयाँ पुस्तक कहिलेसम्म बजारमा पुग्छ ?
नायब सुब्बाको प्रथम चरणको किताव बजारमा आएको हप्ता भईसक्यो । शाखा अधिकृत प्रथम चरण भर्खरै प्रकाशित भएको छ । खरिदार, आइक्यु फर अल र समसायिक विशेष पाइप लाइनमा छन् ।

अन्त्यमा भन्न मन लागेको केही छ ?
लोकसेवा मनहरूमा अनुरोध छ । लोकसेवाको तयारी गर्दा अरुले तयार गरेको पुस्तकमा मात्रै डिपेन्ड नहुनुस् । आफै पनि खोज्नुस् । अनुसन्धान गर्नुस् । संकलन गर्नुस् । बजारमा भएका पुस्तकबाट डाटा फिल्टर गरेर पढ्नुस् । किताबमा भएको म्याटर प्रति कन्भिन्स हुनुस् । म्याटरमा कुनै सम्झौता नगरिएको पुस्तक तपाईँको रोजाइको विषय बन्नुपर्छ । तपार्इँ सम्पूर्ण लोकसेवा सारथिहरूको सुन्दर, उज्जवल र समृद्ध भविष्यको कामना । मेरा सोच राख्ने यो ग्राण्ड अवसर दिनुभएकोमा प्रशासन डट कम परिवार र विशेषगरी तपार्इँलाई विशेष धन्यवाद दिन चाहान्छु ।


र यो पनि

आरक्षणका पूर्वसर्त

राजनीतिक भ्रष्टाचारको विश्वव्यापी तरंग

लोकसेवाको प्रश्न कसरी हल गर्ने ?

यसरी गर्न सकिन्छ भ्रष्टाचार नियन्त्रण

मंसिर १४ गते, २०७४ - बिहान ०६ः५४ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg