मंसिर २९ गते, २०७४

इन्टिग्रिटी आइडलका उत्कृष्ट ५ छनोट

भोटिङ खुला

काठमाडौं । ‘इन्टिग्रिटी आइडल २०१७’ को उत्कृष्ट ५ प्रतियोगी छनोट भएका छन् । छनोट हुनेमा जिल्ला कृषि विकास कार्यालय, काभ्रेका कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभागका सहायक वन अधिकृत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका शिक्षक सबराज बम, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयकी उपसचिव सृजना तिवारी छन् । यीमध्येबाट एसएमएस, इन्टरनेट र निर्णायक मण्डलबाट सर्वाधिकको मत पाउनेलाई बिजेता घोषणा गरिनेछ ।

आइडल छनोटका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ, जसमा पूर्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह छन् ।

आयोजक एकाउन्टबिलिटी ल्याबका अनुसार यस वर्ष आइडलका लागि ७१ जिल्लाका १ हजार २० मनोनयन गरेका थिए, तीमध्येबाट सात चरणको छनोटपछि उत्कृष्ट ५ छनोट भएका हुन् ।

राष्ट्रसेवक कर्मचारीलाई जवाफदेही, विश्वसनीय र पारदर्शी बनाउन अभियानको थालनी गरिएको एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताए । एकाउन्टाबिलिटी ल्याबले हरेक वर्ष इन्टिग्रिटी आइडल घोषणा गर्छ ।

सन् २०१४ देखि सुरु भएको इन्टिग्रिटी आइडलको पहिलो संस्करणको बिजेता पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल रहेका थिए । दोस्रो संस्करणको उपाधि गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जिते । अघिल्लो संस्करणमा गुल्मीको सिद्धबाबा माविका प्रअ डोरविक्रम श्रीसले आइडलको उपाधि पाए ।

नेपालबाट सुरु भएको यो अभियान लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया, दक्षिण अफ्रिकालगायत देशमा विस्तार भइसकेको छ ।

भोटिङ खुला

इन्टिग्रिटी आइडलको भोटिङ मंगलबार बेलुकादेखि खुला गरिएको छ । एकाउन्टाबिलिटी ल्याबले विज्ञप्ति जारी गरी मंगलबारदेखि मंसिर २४ गते राति १२ बजेसम्म भोटिङ खुला गरेको जनाएको छ ।

भोट गर्ने तरिका

आफूलाई मन पर्ने प्रतियोगीलाई मोबाइल र इन्टरनेटबाट भोट गर्न सकिनेछ । मोबाइलबाट भोट गर्न मोबाइलको म्यासेज बक्समा गई आइआइएन टाइप गरी स्पेश दिएर आफूलाई मन पर्ने व्यक्तिको भोटिङ कोड लेखी ३४००१ पठाउन सकिनेछ । कृष्ण धितालका लागि भोटिङ कोड ०१, सबनम पाठकका लागि ०२, सबराज बमका लागि ०३, शेषनारायण पौडेलका लागि ०४ र सृजना तिवारीका लागि ०५ कोड निर्धारण गरिएको छ ।

इन्टरनेटबाट पनि भोट गर्न सकिनेछ । त्यसका लागि www.integrityidol.org/countries/nepal/ मा गएर भोट गर्न सकिने छ ।

मंसिर १३ गते, २०७४ - बेलुकी ०३ः५२ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg