सिंहदरबारभित्रकै कर्मचारी आचरणविरोधी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरबारभित्रकै कर्मचारी आचरणविरोधी


७ मंसिर २०७४, बिहिबार


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले केही दिनअघि गरेको छड्के अनुगमनमा सिंहदरबारभित्रै विभिन्न मन्त्रालयमा कार्यरत पाँच सय २१ जना कर्मचारीले आचरणविरोधी काम गरेको पाइएको छ । निजामती सेवा ऐनमा रहेका कर्मचारीको आचरण र अनुशासन पालनासम्बन्धी व्यवस्थालाई कर्मचारी आफैंले उल्लंघन गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ ।

केन्द्रको यो ठहरसहित आचरणविरोधी कार्य गर्ने कर्मचारीको नाम र विवरण उल्लेख गर्दै आवश्यक कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले त्यस्ता कर्मचारीलाई कारबाही नगरी उन्मुक्ति दिन खोजेको पाइएको छ ।

सतर्कता केन्द्रले गरेको आकस्मिक छड्केमा तोकिएको पोसाकबिनै ढिलो गरी कार्यालयमा आउने ५ सय २१ जना कर्मचारीलाई कारबाही सिफारिस गरेको हो । छड्केमा परेका कर्मचारी निर्धारित समय १०/१५ भन्दा निकै ढिलो गरी बिनापोसाक कार्यालयमा आएको केन्द्रले जनाएको छ । कर्मचारी मन्त्रालय ढिलो आउँदा सेवा प्रवाह प्रभावित हुने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता सहसचिव विष्णुराज लामिछानेले पोसाक नलगाउने, ढिलो आउने, कार्यालय आएर हाजिर गर्दै टाप कस्नेजस्ता आचरणविरोधी कर्मचारीलाई कारबाही गर्न मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए । प्रवक्ता लामिछानले धेरै मन्त्रालयमा पत्र पठाइए पनि मन्त्रालयबाट कारबाही गरिएको जानकारी आउन नसकेको बताए । केन्द्रले आचरणविरोधी कार्य गर्ने कर्मचारीलाई आवश्यक कारबाही गरी त्यसको जानकारी छिटोभन्दा छिटो गराउन भनेको छ ।

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रकै कर्मचारी अराजक बन्दै जाने प्रवृत्ति अत्यधिक बढेको गुनासा आएपछि सतर्कता केन्द्रले आकस्मिक छड्के जाँच गरेको हो । जाँचका क्रममा १८ जना सहसचिव र ४५ जना उपसचिव पनि छड्के कारबाहीमा परेका छन् । नीति नियम निर्माण तहमै महत्वपूर्ण भूमिका खेल्ने सहसचिव र उपसचिव नै नियम उल्लंघन गर्ने सूचीमा परेको सतर्कता केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सबैभन्दा बढी व्यवस्थापिका संसद्का ४८ जना, गृह मन्त्रालयका ३४ जना कर्मचारी छड्के कारबाहीमा परेका छन् । गृह मन्त्रालय आफैं कानुन पालना गराउने निकाय हो । यस्तै छड्के कारबाही पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १८ जना, नेपाल टेलिभिजनका २६ जना, राष्ट्रिय योजना आयोगका १४, ऊर्जा मन्त्रालयका १०, कृषि विकास मन्त्रालयका १५, खानेपानी तथा सरसफाइ मन्त्रालयका १२, अर्थ मन्त्रालयका २४, सूचना तथा सञ्चार मन्त्रालयका १३, मुद्रण विभागका १०, रेडियो नेपालका २८, वन मन्त्रालयका १० जना कर्मचारी छड्के कारबाहीमा परेका थिए ।

शिक्षा मन्त्रालयका १०, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका १०, युवा तथा खेलकुद मन्त्रालयका १०, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १४, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४, सामान्य प्रशासन मन्त्रालयका २३, सहरी विकास मन्त्रालयका १३, रक्षा मन्त्रालयका ११ जना कर्मचारी पनि आकस्मिक छड्के कारबाहीमा परेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

सतर्कता केन्द्रका प्रवक्ता सहसचिव लामिछानेले एकै दिन त्यति धेरै कर्मचारी छड्केमा पर्नुले कर्मचारीमा आचरणविरोधी प्रवृत्ति बढेको स्पष्ट भएको बताए । मन्त्रालय र कर्मचारी कार्यरत विभिन्न निकायमा कर्मचारीमाथि अनुगमन नहुँदा उनीहरूले निर्धारित पोसाक नलगाउने र ढिलो गरी कार्यालयमा आउने प्रवृत्ति बढेको हो । कर्मचारी केन्द्रीय निकाय (सीपीए) का रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारी आचरणमा बसे नबसेको बारे खासै अनुगमन गर्न सकेको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले कर्मचारी आफैं आचरण र नैतिकतामा बस्नुपर्ने तथा शिष्ट भएर सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

सहसचिव न्यौपानेले आचरण पालान गर्ने पहिलो जिम्मेवारी कर्मचारी आफैंको हुने र प्रत्येक निकाय र विभागीय प्रमुखले आफूमातहत रहेको कर्मचारीले आचरण पालना गरे/नगरेको बारेमा नियमित निगरानी गरेमा कर्मचारी आचरणमा रहन सक्ने बताए । सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले प्रत्येक निजामती कर्मचारीलाई अनिवार्य पोसाक लगाउन सर्कुलर गर्दै पोसाकका लागि वार्षिक सात हजार पाँच सय रुपैयाँ प्रदान गर्दै आएको छ तर कर्मचारीले पोसाक भत्ता बुझे पनि नियमित पोसाक नलगाएको सतर्कता केन्द्रले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस