निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुबीच छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुबीच छलफल


४ मंसिर २०७४, सोमबार


काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिका बारेमा आज निर्वाचन आयोगमा छलफल भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलिल निर्वाचन आयोगका पदाधिकारीसँग भेटी निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचार संहितालगायतका विषयमा छलफल गरेको छ ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले निर्वाचनमा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध गर्नुपर्ने र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए । निर्वाचनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले २ सयभन्दा बढी जनशक्ति खटाउने जानकारी गराउदै अध्यक्ष शर्माले भने, ‘निर्वाचन जनताको भाग्य निर्माण र स्थिर सरकार दिने विषय भएकाले सानोतिनो घटनाबाट त्रसित नभई निर्भिक भएर मतदानमा सहभागी हुन आयोगकातर्फबाट आम मतदातालाई आग्रह गर्दछु ।’

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा भोटिङ मेसिनको प्रयोग गर्ने सम्बन्धमा विभिन्न अध्ययन भएपनि समयको चापका कारण प्रयोग हुन नसकेको बताए । उनले विगतका निर्वाचनको तुलनामा यस पटक निर्वाचन प्रचार प्रसारमा संगठितरुपमा बालबालिकाको प्रयोग, भोज भतेर आयोजना र अरुआचार संहिता उल्लङ्घनका घटनामा कमी आएको बताए । निर्वाचन आचारसंहिता पालना गर्न लगाउने विषयमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई अभिप्रेरित गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदातालाई मतदान केन्द्रमा आउन प्रेरित गर्ने वातावरण बनाउने भूमिका खेल्न सुझाव दिए ।

निर्वाचन आयुक्त इला शर्माले मतदान व्यवस्थापनमा बढीभन्दा बढी महिला कर्मचारी र स्वयमसेवीका खटाउन आयोगले निर्देशन दिइसकेको अवगत गराइन् । निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपाली जनताको लामो सघर्ष र बलिदानबाट प्राप्त सघीयता, गणतन्त्र र नेपालको संविधान कार्यान्वयनका लागि हुन गइरहेको निर्वाचनलाई अवरोध पु¥याउने पक्षलाई कानूनी दायरामा ल्याउन अप्ठेरो मान्नु पर्ने अवस्था नरहेको धारणा राखे । छलफलमा राष्ट्रिय मानव अधिकार आयोगकासदस्यत्रय प्रकाश वस्ती, मोहना अन्सारी र गोविन्द शर्मा पौडयाल तथा सचिव वेदमणी भट्टराई र निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस