सिकाइ पछि पुनःनिर्माणले गति लियो रसुवामा

रसुवा । पार्वतीकुण्ड २ हाँकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो । हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन ।

किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठ्यारो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन ।

पुनःनिर्माण लागि सीप परियोजनाले गाउँमै डर्कमी तालीम दियो । गाउँका धेरैजसो युवा तालीममा सहभागी भए र सीप सिके । सोनामको घर पनि पर्मका रुपमा त्यहीँका युवाले बनाइदिए । आज भूकम्प प्रतिरोधी घर बनाएर ढुक्क भएका सोनाम भन्छन्– ‘वास्तवमै मेरा लागि खुशी घरमै आयो । सीप पनि सिकियो । अब रोजगारीको खोजीमा विदेश पनि जानु परेन ।’

हाँकुकै २४ वर्षीय युवक दिनेश तामाङ वैदेशिक रोजगारीका लागि कतार जान राहदानी बनाएर ठिक्क परेका थिए । ऋण पनि खोजिसकेका थिए । पुनःनिर्माण सीप परियोजनाले गाउँमै तालीम दिएपछि कतार जाने मन मै आएन उनलाई । अहिले घरमै बसेर मासिक ३५ हजार आम्दानी गर्छन् । दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म घरमै बसी बसी आम्दानी हुन थालेपछि दिनेशको पनि खुशीको दिन फर्किएको छ । उनी भन्छन्– ‘पहिले हातमा सीप थिएन । तार नै गएको भए पनि हामी जस्ता अदक्ष मान्छेले गर्ने भनेको ज्यामी, कुल्लीको काम नै हो ।’

‘डकर्मीको तालीम लिएपछि एकदिन पनि फुर्सद छैन, विदेश जाने कुरा त अब सोच्न पनि सक्दिनँ, किन जाने विदेश रु’ उनले भने– ‘भूकम्पपछिको पुनःनिर्माणका लागि हामी नै योग्य भएका छौं । अब स्वदेशमै पुनःनिर्माणको अभियान चलाउने हो ।’

हाँकुकै १८ वर्षीय सोनाम पेम्बा तामाङले सवओभरसियर पढेका छन् । भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने तालीममा सहायक प्रशिक्षक भएर काम गरे । अहिले उनलाई फुर्सद छैन । भूकम्पले भत्काएको गाउँको घर, गोठ, विद्यालय बनाउन नेतृत्वदायी भूमिकामा छन् उनी । पहिले पहिले गाउँका बूढापाकाले मात्रै कच्ची घर बनाएको देखेका सोनाम अहिले आफै सुरक्षित घर कसरी बनाउने भनेर तालीम दिँदै हिडेका छन् ।

घरमै बसी बसी मासिक ४० हजारसम्म कमाइ हुने गरेको बताउने सोनाम भन्छन्– ‘हामी नेपाली युवा हातमा सिप नभएर बिग्रिएका हौं । अहिले मेरो हातमा सीप पनि छ । घर कसरी बनाउने भन्ने पनि जानेको छु । अरुलाई पनि तालीम दिन्छु । कोही पनि युवा विदेश जानु पर्दैन अब ।’

हेल्भिटास नेपालको सहयोगमा रसुवा जिल्लाभर नै १६ देखि ४० वर्षसम्मका महिला तथा पुरुषलाई भूकम्पबाट भत्किएका घर तथा आवास बनाउने ५० दिने डकर्मी तालिम प्रदान गरिएको छ । तालिमकै क्रममा १० जना प्रशिक्षार्थी, एक जना मुख्य प्रशिक्षक र एक सहायक प्रशिक्षकले सहजीकरण गरेका छन् । तालीम लिदालिँदै दुई वटा घर ५० दिनको अवधिमा निर्माण गर्ने काम पनि भयो ।

तालीमको अवधिमा हेल्भिटास नेपालले रु ४५ हजार बराबरको निर्माण सामग्री पनि प्रदान गरेको छ । पुनःनिर्माण प्राधिकरणले तय गरेको कार्यक्षेत्र र कार्यविधिमा रहेर निर्माण गरिएका त्यस्ता घरले तीन वटै किस्ता वापतको सरकारी अनुदान समेत पाइसकेका छन् । पुनःनिर्माण सीप परियोजनाअन्तर्गत सिन्धुली, काभ्रेपलान्चोक, मकवानपुर, ओखलढुंगा, धादिङ र रसुवाका साविक ११३ गाविसमा ६ हजार ५०० जनालाई ५० दिने डकर्मी, एक हजार ३० जनालाई ७ दिने सिकर्मी तालीम दिइसकिएको छ । यस्तै स्वीस विकास सहयोगको आर्थिक सहयोगमा रोजगार कोषले रामेछाप जिल्लाका ३५० युवालाई डकर्मी तालीम पनि दिएको छ ।

रसुवा जिल्लाको हकमा साविकको १३ गाविसमा ६८० जनालाई ५० दिने डकर्मी तालीम, १३० जनालाई ७ दिने सिकर्मी तालीम सञ्चालन गरिएको थियो । तालीम अवधिमा मात्रै १३६ घर निर्माण भएका थिए । तालिम पछि हालसम्म ४५ घर निर्माण भएका छन् । सो परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सि ९टिइभिटी० को भूकम्प प्रतिरोधी प्रविधिसहितको डकर्मी तालीम तथा सिकर्मी तालीमका लागि परिमार्जित पाठ्यक्रममा रही निजी क्षेत्रका तालिम तथा रोजगार सेवा प्रदायक संस्थामार्फत तालीम प्रदान गरेको हो ।

तालीम पछि हालसम्म करिब दुई हजार घर निर्माण सम्पन्न भइसकेका छन् । हेल्भिटास नेपाल रसुवाका प्रमुख सञ्जिवकुमार राई तालीमका कारण रसुवाको पुनःनिर्माणले गति लिएको र गाउँमै रोजगारीको अवसरमा समेत वृद्धि भएको बताउछन् ।

‘शुरु शुरुमा तालीम गराउन हामीलाई असाध्यै गाह्रो भयो, हामीले सीप सिकाउन खोज्यौं तर केही संस्थाले सीप भन्दा पनि मोटो रकम भत्तामा खर्च गरेका कारण स्थानीय बासिन्दाको दिमागमा गलत सन्देश पुगेको थियो, हामीले विस्तारै सीप सिकाएपछि रसुवालीमा नयाँ चेतनाको विकास भएको छ, पुनःनिर्माणले गति लिएको छ’– राईले भने ।

पुनःनिर्माणका लागि स्थानीय बासिन्दालाई नै अग्रसर गराउने लक्ष्यका साथ पुनःनिर्माणका लागि सीप परियोजना कार्यक्रम शुरु गरिएको हो । पुनःनिर्माण प्राधिकरणले त्यस्तो कार्यक्रमलाई सूचीकृत मात्रै गरेको छैन कार्यान्वयनका लागि सहजीकरण पनि गरेको छ । हेल्भिटास नेपालका सूचना अधिकृत कृति भुजु तालीम परियोजनाका कारण स्थानीयवासीले प्राप्त गरेको सीप र रोजगारीको अवसर नै सबैभन्दा महत्वपूर्ण काम भएको छ ।

आर्थिक रुपले विपन्न तथा सामाजिक रुपमा विभेदमा परेका व्यक्तिलाई सिकर्मी तथा डकर्मी बनाइएको छ । तालीमका क्रममा निर्माण भएका घर तथा आवासको गुणस्तर निश्चित गर्न फोटोमार्फत अनुगमन गरिएको छ ।

पुनःनिर्माणका लागि सीप कार्यक्रमले नतिजामा आधारित भुक्तानी प्रणालीलाई अवलम्बन गरेको छ । निर्माण क्षेत्रमा सीपयुक्त जनशक्तिको रुपमा काम गरी तोकिएबमोजिमका आयआर्जन गरेको खण्डमा मात्रै रोजगार कोषले तालीम तथा रोजगार सेवा प्रदायकलाई भुक्तानी दिने गरेको क्रियटिभ स्किल नेपालका इन्जिनियर सन्तोष प्रधानको भनाइ छ ।

रसुवाका सातप्रसाद तामाङ तालीम पछि निर्माण भएका अधिकाँश घर तथा आवासले पुनःनिर्माण प्राधिकरणले प्रदान गर्ने तीन वटै किस्ता वापतको रकम आफूहरुले लिएको बताउछन् । उनले भने– ‘हाम्रो गाउँमा सबैले सीप सिकेका छन् । कोही पनि बेरोजगार छैनन् । विदेश जान खोज्ने पनि गाउँमै छन् । सिकेको सीप कहीँ जाँदैन । आगामी दिनमा पनि काम लाग्छ । गाउँको पुनःनिर्माण सकिएपछि अरु गाउँमा गएर घर निर्माण गर्ने योजनामा छौं हामी त ।’

गोरखा भूकम्पका कारण रसुवाको १२ हजार १११ घर क्षति भएको विवरणसहित सर्वेक्षणमा परेको थियो । त्यस्तै, लाभग्राही सूचीमा ११ हजार ६२९ घर परेका थिए । पुनःनिर्माण प्राधिकरणकाअनुसार १० हजार ७०० घर निर्माणका लागि अनुदान सम्झौता भएको छ । यसैगरी नौ हजार ८८० घरले पहिलो किस्ता लिएका छन् भने एक हजार ७५८ घरले दोस्रो किस्ता र ८३२ घरले तेस्रो किस्ता समेत लिइसकेका छन् ।

कार्तिक २८ गते, २०७४ - बेलुकी ०४ः०९ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg