ट्राफिक प्रहरीलाई कन्ट्रोल गर्ने मेकानिजम बलियो हुनुपर्छ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ट्राफिक प्रहरीलाई कन्ट्रोल गर्ने मेकानिजम बलियो हुनुपर्छ


२७ कार्तिक २०७४, सोमबार


पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ औलामा गन्न सकिने ट्राफिक प्रहरीभित्र पर्दछन् । लामो समय ट्राफिक प्रहरीमा रही काम गरेका श्रेष्ठसँग देश मात्रै हैन, ट्राफिक व्यवस्थापनमा उत्कृष्ठ मानिएका दर्जनौ बिदेशी मुलुकको पनि अनुभव छ । बिदेशमा लिएको तालिमपछि नेपालको ट्राफिक सुधारका लागि उनले केही योजना पनि ल्याएका थिए । ट्राफिक प्रहरी, ट्राफिक व्यवस्थापन तथा नेपालमा ट्राफिक अवस्थालगायत विषयमा उनीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

ट्राफिक प्रहरी कस्तो जागिर हो ?
ट्राफिक प्रहरीको जागिर भनेको टेक्निकल हो । यो जो पायो त्यसैले गर्न पनि सक्दैनन् । टेक्निकल जब भएकाले यसमा राज्यले तोकेका केही सर्टेन क्राइट एरिया हुन्छन् । नेपालमा कम्तिमा एसएलसी पास गरेको, पाँच फिट छ इन्च हाइट भएको व्यक्ति ट्राफिक प्रहरीका लागि योग्य हुन्छ । जो त्यसमा इन्ट्रेस्टेड छन्, ती सफल भइरहेका पनि छन् ।

ट्राफिक प्रहरीमा गाह्रो पनि छ । हाम्रो देशमा कहिलेकाहीँ १२–१६ घन्टासम्म उभिनुपर्छ । किनकि नेपालमा मान्छेले ट्राफिक कन्ट्रोल गर्ने गरेको छ । तर, विकसित मुलुकमा भने मेकानिजमले ट्राफिक कन्ट्रोल गर्छ । यो पेशामा खतरा पनि छ । गाडीले हिर्काएर कति जवानले ज्यान गुमाएका छन्, कति घाइते र अपाङ्ग पनि छन् । पोलुसनको कारण कति बिरामी भइरहेका छन् । तर, पनि यही पेशामै कति रमाइरहेका छन् । मान्छेलाई सेवा गर्दा मान्छेलाई गर्व हुँदोरहेछ । त्यस्तोले मात्रै यो पेसा गर्न सक्छ ।

ट्राफिक प्रहरीले अनिवार्यरूपमा पालना गर्नुपर्ने सर्त के–के हुन् ?
एउटा आफू अनुशासित हुनुपर्यो । सबैभन्दा ठूलो कुरा ट्राफिक सम्बन्धमा जानकारी हुनैपर्यो । परिस्थितिको मूल्याङ्कन गर्न सक्नु पर्छ । ट्राफिक प्रहरीको एउटा सिग्नल मात्रै गलत भयो भने पनि मान्छेको ज्यान जान्छ । अर्को महत्वपूर्ण कुरा आफ्नो सेल्प कन्फिडेन्ट र सेल्फमोटिभेटेड पनि हुनुपर्छ । जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ जस्तो मलाई लाग्छ ।

ट्राफिक प्रहरीले के कुरा जानेकै हुनुपर्छ अर्थात जान्न अति जरुरी हुन्छ ?
एउटा, क्विक डिसिजन गर्न सक्नुपर्छ । अर्को ट्राफिक नियमबारे जानकार हुनुपर्छ । पूर्णरुपमा त जानेको हुँदैन । तर धेरै हदसम्म जानेको हुनुपर्ने हुन्छ । ड्राइभरको एटिच्युट के छ त्यो कुरा ट्राफिक प्रहरीले बुझ्नुपर्छ । यो बुझ्न सक्ने खुबी भयो भने अति नै राम्रो हुन्छ ।

यहाँले यतिकुरा भनिरहँदा के ट्राफिक प्रहरीमा यि सबै कुराले परिपूर्ण जनशक्ति छ त ?
छैन, पहिला केही हदसम्म थियो । अहिले हचुवाको भरमा ठाउँ खाली छ/राखिदिए । खटाएको व्यक्तिले ट्रेनिङ गरेको र त्यहाँ जाने इच्छा छ कि छैन बुझ्ने गरिन्थ्यो, अहिले छैन ।

यहाँको अनुभवमा ‘ट्राफिक’लाई कसरी प्रभावकारी र नतिजामुलक बनाउन सकिन्छ ?
नेपालमा सिपाही, असई र इन्सपेक्टरमा भर्ना लिइन्छ । त्यसकारण बेसिक ट्रेनिङमा ट्राफिक कोर्स राख्नुपर्छ । अहिले सानो मात्रामा मात्रै छ । हामीले एउटा योजना पनि बनाएका थियौं । इन्सपेक्टर र डिएसपीलाई ट्रेनिङ दिने । चाहे नेसनल होस् यो इन्टरनेसनल, ट्रेनिङ पाएको व्यक्ति मात्रै त्यहाँ आउन पाउँछ भन्ने नियम बनाएका थियौं । तर, कार्यान्वयन भएन । यसका लागि असईदेखि डिएसपीसम्म स्पेसल ट्रेनिङ दिनुपर्छ । कतै जाँदा केही त जानकारी हुनुपर्यो नि । जानकारी नभई आयो भने ‘कुहिरोको काग’ भइन्छ ।

ट्राफिक प्रहरी भनेको फिल्डमा बस्ने भएकाले ट्राफिकबारे जानकारी भएको मात्रै आउनुपर्छ भन्ने नीतिगत कुरा गरेका थियौं । त्यो पनि कार्यान्वयन भएन । अहिलेको जुन पोस्टिङ गर्ने कुरा छन् । यो गलत छ । ट्राफिक पुलिसको पोस्टिङ एक वर्षका लागि हुन्छ । सिक्दासिक्दै उसको एक वर्ष बित्छ । यद्यपी ट्राफिक सम्बन्धी जान्ने भएपछि धेरै बसेका पनि उदाहरण छन् । तर, धेरै बस्नु पनि राम्रो होइन । मान्छेलाई चेन्ज चाहिन्छ । एकदम थोरै बस्नु पनि राम्रो होइन । सिक्दै समय लाग्छ । त्यसकारण सिकेका र बुझेका मान्छे मात्रै त्यहाँ भयो भने योभन्दा प्रभावकारी काम हुन्छ ।

ट्राफिक प्रहरीले गर्नै नहुने काम के–के हुन् ?
ट्राफिक प्रहरीले दबाब र प्रभावमा पर्नु हुँदैन । ट्राफिक नियम नजानिकन फिल्डमा पठाउनु र जानु हुँदैन ।

ट्राफिक प्रहरीले गर्ने ‘ब्यवहार’ र ‘घुस’ का विषयमा बढी नै आलोचना हुन्छ, किन ?
मान्छे हो, राम्रै मात्रै छ भन्ने चाहिँ म मान्दिनँ । बात लागेका प्रहरी पनि छन् । आर्थिक प्रलोभनमा परेर कारवाही भएका पनि छन् । अख्तियारसम्म धाएका ट्राफिक प्रमुख पनि छन् । जवानदेखि सिनियर अफिसरसम्म छन् । त्यो ह्युमेन नेचरमा भरपर्ने कुरा हो । ह्युमेन नेचर अनुसार बद्मासले मौका पायो की बदमासी गरिहाल्छ । त्यसैले यसमा यही हो भन्दा पनि कन्ट्रोल मेकानिजम बलियो हुनुपर्छ । ट्राफिक प्रहरीभन्दा पनि ट्राफिक प्रहरीलाई कन्ट्रोल गर्ने मेकानिजम बलियो भयो भने उसले केही गर्न सक्दैन ।

तपाइलाई एउटा कुरा भनौं । हाम्रो कुनै छाता ओड्नुपर्ने अवस्था हुन्छ । छाता ओडेपछि पानीले भिजाउँदैन नि । कस्तो र कुन छाता ओड्ने ? सानो लेडिज ओड्ने कि ठूलो बाँसको ? कि ठूलो विज्ञापन भएको छाता ओड्ने ? भन्ने कुराहरू छन् । कसैको ठूलो छाता हुन्छ पानीका बाछिटा आए पनि भिज्दैन । कसैले बल्लबल्ल सानो छाता पाएको हुन्छ त्यो बाछिटाले भिजिहाल्छ । यति भनेपछि तपाइले बुझिहाल्नु भयो होला । त्यसैको परिणाम हो भन्छु मैले । चाह्यो भने असम्भव केही छैन ।

सर्वसाधारण नागरिकले सजिलै बुझ्ने गरी भनिदिनुहोस् कि ट्राफिक प्रहरीले पैदलयात्री, सवारी चालक तथा आम नागरिकसंग कस्तो व्यवहार गर्नुपर्छ ?
यो व्यवहारको विषयमा ट्राफिक पुलिसमा धेरै गुनासो आयो । अहिले धेरै हदसम्म सुध्रेको छ । म नै हुँदाखेरी दिल्लीबाट समेत ट्रेनर बोलाएर बडी ल्याङगोइज क्लास पनि गरायौं । जवानदेखि अफिसर लेवल सबैलाई । ड्राइभरले कस्तो व्यवहार गर्यो भने हामीले कस्तो गर्नुपर्छ ? त्यो ट्रेनिङ पनि हामीले नगराएको होइन । त्यसपछि पनि केही सुधार भयो ।

पहिले ‘ए ड्राइभर कहाँ जानलागेको’ भनेर बोल्ने ट्राफिक ‘अहिले सर तपार्इं कहाँ जान लाग्नुभएकोे’ भनेर सोध्छन् । त्यो सुधारिएको पक्ष हो । यसमा ट्राफिक प्रहरी धेरै हदसम्म सुध्रिसकेको छ । तर पनि पाँच–सात प्रतिसत राम्रो व्यवहार नभएका पनि छन् । कारवाही गर्दा पनि पहिले ठाडै ‘तेरो लाइसेन्स ल्या’ भन्थे । तँ नै भनेर रूखो व्यवहार गर्थे । यो भने केही कन्ट्रोल भएको छ । ट्राफिक प्रहरी पैदल यात्रु र चालकसँग प्रत्यक्ष भिज्ने भएकाले व्यवहार नरम हुनैपर्छ । गल्ती गरे पनि नराम्रो त बोल्नै पाइँदैन । कारबाही गरे पनि राम्रो हिसावले कारबाही गर्नुपर्छ । कारवाही गर्दा ‘तेरो ड्राइभिङ लाइसेन्स दे’ भन्नु र ‘तपाईंको ड्राइभिङ लाइसेन्स दिनुस्’ भन्नुमा त फरक पर्छ नि । त्यसैले तपाईंभन्दा के बिग्रिन्छ र ? समग्रमा भन्नुपर्दा अहिले तपाईँ या हजुर भनेर सम्बोधन गर्ने चलन छ । व्यवहार पनि अति नम्र छ ।

एक पटक त चालकलाई सलाम गरेर लाइसेन्स माग्ने नियम पनि बनाइयो क्यारे, हैन ?
हो । पहिले प्रत्येक सवारी चालकलाई सलाम गरेर मात्रै लाइसेन्स माग्ने नियम बनायौं । त्यो गर्दा गलत व्याख्या भयो । हाम्रो नेपालमा त्यो इम्प्लिमेन्ट गर्न गाह्रो भयो । म तपाईंलाई एक घटना सुनाउँछु । २०५२÷०५३ सालतिर सलाम गरेर लाइसेन्स माग्दा ट्याम्पो ड्राइभर हेरेको हेरेई भएर दुर्घटनामा पर्यो । धेरै ट्याम्पोहरुले अगाडीको गाडी ठोक्काए । त्यसपछि हामी यसलाई रोक्न बाध्य भयौं । यो कार्यान्वयन गर्ने अझै बेला भएको छैन भन्ने निष्कर्षमा पुग्यौं । त्यसपछि त्यो अभियान रोकियो ।

ट्राफिक प्रहरीले गर्ने व्यवहारको कुरा गरिरहँदा ‘सवारी चालक’ र ‘यात्रु’ले सुधार गर्नुपर्ने कुराहरु पनि होलान् नि, हैन ?
यहाँले अति महत्वपूर्ण प्रश्न गर्नुभयो । यसमा गलत अर्थ नलागोस्, हाम्रो व्यवहार बिग्रिने भनेको सार्वजनिक सवारी साधनका चालकसँग नै हो । हाम्रो ड्राइभरको प्रोडक्सन कस्तो छ ? हाम्रो ड्राइभर हुने स्तर के छ ? कहाँबाट कसरी ड्राइभर बनेको छ ? सबैलाई भन्दिनँ म, धेरै हदसम्म दुःख पाएकै मान्छे त्यहाँ छन् । उसले व्यवहार भन्ने कुरा के हो ? सडक नियम के हो ? जानेको छैन । कल्चर भन्ने बुझेको छैन । उसले संस्कार केही पनि पाएको हुँदैन । ग्रास रूटकै मान्छे ड्राइभर भएको छ । ऊ त खरो छ, त्यसैले खरै बोल्छ ।

हामी उदाहरण दिन्छौं नेपालको पुलिस पनि जापान र बेलायतजस्तो हुनुपर्यो भनेर । जो सुकैको पनि चाहना त्यही हुन्छ । अब हाम्रो ड्राइभरको स्तर तल्लो छ, अनि पुलिस ब्रिटिस र जापनिजजस्तो खोज्छौं । त्यो त मिल्दैन नि । यहाँ समस्या यही नै हो । मैले धेरै ठाउँमा भन्थे पनि कि त ड्राइभरलाई पनि ब्रिटिसस्तरकै बनाऊ । अनि बल्ल कुरा मिल्छ, पुलिसको व्यवहार धेरै राम्रो खोज्ने हो भने । हैन भने पुलिसलाई पनि ड्राइभरजस्तै बनाऊ । अनि मात्रै कुरा मिल्छ । स्ट्यान्डर्ड बराबर गर्नुपर्यो । त्यसैले ड्राइभरको प्रोडक्सन पनि राम्रो गर्नुपर्यो । ड्राइभरलाई कल्चर सिकाउनुपर्यो । ड्राइभिङ कल्चर के हो ? ड्राइभिङ नियम के हो ? त्यो सिकाउनुपर्यो ।

बराबर स्ट्याण्डर्डमा कसरी ल्याउने त ? तत्कालै गर्न सकिने सुधार के हुन सक्छन् ?
मुख्य समस्या भनेकै सार्वजनिक सवारीसाधनमा हो । पुलिस पनि प्राइभेट कारमा चढेर आएकासँग अलिकति हच्किन्छ । हाम्रो कल्चरै त्यसरी विकास भएको छ । ओ हो, यो त ठूलो मान्छे भनेजस्तो हुन्छ । यद्यपी त्यो पनि गलत हो तर पनि यो चलिरहेको छ । सार्वजनिक सवारी साधन माइक्रो, ट्याम्पु, बस, ट्रक होस् जे होस् त्यो चलाउन मापदण्ड तोक्नुपर्छ । भलै पढेको नहोला, परेको त हुनुपर्यो नि । उसलाई कल्चर सम्बन्धि जानकारी हुनुपर्यो । व्यवहार कसरी गर्ने ? चालकको दायित्व के हो ? त्यो बारे बुझेकै हुनुपर्यो ।

त्यस्तै उमेरले पनि धेरै ठूलो प्रभाव पार्छ । ३० राख्ने की ३५ वर्ष ? जस्तो विदेशमा हेर्ने हो भने कोही पनि योङ मान्छेले चलाउन पाउँदैन । यति वर्ष पुगेकोले चलाउन पाउने भन्ने नियम छ । परेको हुन्छ उनीहरू । ४० वर्षको मान्छेले १८ वर्षको पुलिससँग झगडा गर्दैन । ए भाई आऊ, आउनुस् भन्छ । यसको मतलब पुलिस यस्तो हुनुपर्छ भन्ने होइन । जवान पुलिसलाई त तालिमले ढालिसकेको हुन्छ । एक वर्षको तालिमले उसलाई अर्को साँचोमा हालिसकेको हुन्छ । केही जानेको हुन्छ । त्यस्तै गरेर सवारीचालकलाई पनि त्यस्तो सिस्टमेटिक साँचो बनाउनुपर्ने हो की ? भन्ने मलाई लाग्छ ।

ट्राफिक प्रहरी जो दिनरात डिउटी त पुरा गरिरहेका छन् तर आवश्यक ज्ञान, सिप र चेतनाको अझै अभाव खड्किरहेको छ, उनीहरुका लागि यहाँको सुझाव के छ ?
हामी ट्राफिक प्रहरी भनेको हाम्रो लागिभन्दा पनि पैदल यात्रु र सवारी चालकका लागि प्रोडक्सन भएका हुन्छौं । हामीले आफ्नो दायित्व के हो ? त्यो बुझ्नुपर्यो । एउटा गाडी मात्रै रोकिदयो भने त्यसको पछाडि कति गाडी रोकिन्छ ? ट्राफिक प्रहरीको सानो गल्तीले गर्दा ठूलो क्षति हुन्छ । समय, सम्पत्ति र ज्यान । त्यो बुझ्न सक्नुपर्यो ट्राफिक प्रहरीले । उत्तरदायित्व बहन गर्न सक्ने हुनुपर्यो । सेवा दिन आएकाले सेवा दिनुपर्छ भन्ने कुरा उसले बुझ्नुपर्छ । फिल्डमा ट्राफिक प्रहरीलाई हेर्ने आँखाहरू धेरै हुन्छन् । सिभिल प्रहरी जस्तो होइन । ट्राफिक प्रहरी जहाँ पनि देखिएरै बस्नुपर्छ । टाढैबाट देखियोस् भनेर त्यत्रो आइल्याण्ड बनाएको हुन्छ । चारैतिरबाट सबैले हेरिरहेका हुन्छन् । भनेपछि ऊ कति अनुशासित हुनुपर्छ होला ? उसले टाउको कन्याउनु पनि हुन्न । उसले फोन पनि चलाउनु हुन्न । उसको सामान्य गलत हर्कत भयो भने एक चोटीमा सय जनाले देख्छ । कहिले बोलाउला र जाउला भनेर सबैको उसैतिर ध्यान केन्द्रित हुन्छ । त्यसकारण ऊ बहुत संयमित र अनुशासित भएर बस्नुपर्छ । किनभने ऊ टार्गेट हो । सबैले उसलाई टार्गेट गरिरहेका हुन्छन् । ट्राफिक प्रहरीले गलत हर्कत नगरोस् भन्ने मेरो चाहना हो ।

प्रतिक्रिया दिनुहोस