समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समाजसेवी अनुराधा कोइराला कांग्रेस प्रवेश


२६ कार्तिक २०७४, आइतबार


काठमाडौं । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गरेकी हुन् ।

‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजानसक्ने काँग्रेस मात्रै हो’– कोइरालाले पार्टी प्रवेश पछि भनिन्, ‘लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताइन् । उनले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान गरिन् ।

‘म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउनसक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु,’ उनले भनिन् ।

सामाजिक क्षेत्रमा लामो समय योगदान गरेकी कोइराला अहिले कांग्रेसका पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउछिन् ।

‘अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार कांग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ’– उनले भनिन्, ‘त्यसैले संविधान कार्यान्वयनको चुनौतिपूर्ण अहिलेका अवस्थामा कांग्रेसका पक्षमा मतदान गरेर छ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ ।’ रासस

Tags :
प्रतिक्रिया दिनुहोस