राजनीतिक क्षमता र इमान भएकाले चुनाव जित्नेमा ढुक्क छु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राजनीतिक क्षमता र इमान भएकाले चुनाव जित्नेमा ढुक्क छु


२३ कार्तिक २०७४, बिहिबार


नेपाली कांग्रेसबाट डोटी प्रदेशसभा ‘ख’बाट उम्मेदवार बनेका छन्, योगेन्द्रबहादुर शाही । उनी लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष त्रिलोचन भट्ट प्रतिष्पर्धा गर्दैछन् । चुनावको तयारी, रणनीतिलगायत विषयमा उनीसँग प्रशासन डट कमका यज्ञराज जोशीले गरेको कुराकानी ।

चुनावी दौडमा हुनुहुन्छ, माहौल त निकै तातेको होला नि ?
चुनावी माहोल निकै तातेको छ । तर, मेरा लागी सधै चुनाव लागेजस्तै हुन्छ । राजनीति गर्ने भएकाले सधै जनताको माझमै छु । यो त एउटा महायज्ञ मात्र त हो । जिल्लाका साथीभाइहरू प्रचारप्रसारमा लागिरहनुभएको छ । म पनि यसमै व्यस्त छु ।

प्रदेश सभाका लागि डोटी ‘ख’बाट उम्मेदवारी दिनुभएको छ, चुनाव जित्छु जस्तो लाग्छ ?
चुनाव जित्नेमा म विश्वस्त छु । डोटी कांग्रेसको बलियो जिल्ला हो । डोटी कांग्रेसको किल्ला हो । डोटी हरेक आन्दोलनमा अग्रपंतिमा सहभागी छ । २०३६ सालमा पञ्चायतको सत्ताको छायामा भएको जनमत सङ्ग्रहमा बहुदल जित्ने १० जिल्लामध्ये डोटी पनि थियो । त्यो बेलाको बहुदलको नेतृत्व मैले नै गरेको थिएँ । यही जन्मे, हुर्केँ र शिक्षा आर्जन गरेँ । इष्टमित्र, नातागोता यही छन् । भौतिकरूपमा बाहिर भित्र चलिरहे पनि मानसिकरूपमा सम्पूर्ण शक्ति डोटीमै खर्च गरेको छु । त्यसैले जनताको मागले नै मैले टिकट पाएको हुँ । र, पार्टीले पनि विश्वास गरेको छ । त्यसले मलाई विश्वास छ कांग्रेस प्रतिनिधिसभासँगै प्रदेशसभाका दुवै क्षेत्रमा विजयी हुनेछ ।

स्थानीय निर्वाचन आँकलन गर्दा बाम गठबन्धन भन्दा कांग्रेसको मत निकै कम छ नि, यस्तो अवस्थामा कसरी चुनाव जितिन्छ ?
तत्कालीन दुई नम्बर क्षेत्रमा हामीले जितेका छौं । तर, चुनाव भनेको उम्मेदवारको व्यक्तित्व, योगदान र पहिचानमा भरपर्छ ।

अर्को कुरा काठमाडौंमा बाम गठबन्धन भए पनि जिल्लाको हकमा त्यसलाई जनताले दुई किसिमले हेरेका छन् । यो पवित्र गठबन्धन होइन, सत्ताका लागि बनेको लोभी पापीको गठबन्धन भन्ने जनताले बुझेका छन् । अर्को कुरा ग्रास रूटमा एक–अर्काको ‘जानी दुस्मन’को रूपमा रहेका माओवादी र एमाले कार्यकर्ता कुनै पनि हालतमा एक–अर्कालाई स्वीकार्ने अवस्था देखिँदैन । एमालेका कार्यकर्ता अझै पनि माओवादीले दिएको पीडाबाट मुक्त हुन सकेका छैनन् ।
अर्को कुरा पार्टीको चुनावलाई पनि उनीहरूले व्यवस्थित गर्न सकेको देखिँदैन । उनीहरूको जिल्ला नेतृत्वको बीचमा मतान्तर देखिन्छ । यसपटक डोटी कांग्रेस एक ढिक्का भएर एकै मञ्चबाट सम्बोधन गरिरहेका छन् । त्यसैले हामी अत्याधिक मतले जित्छौं भन्ने लाग्छ । किनभने जनताको बीचमा हाम्रो लामो सामाजिक, विकासगत योगदान र सम्बन्ध छ ।

चुनावका लागि के–के तपाइले गरिरहेको तयारी कस्तो छ त ?
चुनाव भनेको मुख्य स्ट्याटिजिकल्ली जित्ने हो । त्यो स्ट्याटिजी भनेको चुनावको व्यवस्थापन हो । हामीले वडा, बुथ र गाउँ/नगरपालिका स्तरमा कमिटी गठन गरेका छौं । भातृ संस्थालाई सक्रिय बनाएका छौं । मेरो क्षेत्रका पाँच गाउँपालिकामध्ये तीनमा कांग्रेसले जितेको छ । ती साथीहरू असाध्यै लोकप्रिय हुनुहुन्छ । प्रचारप्रसारको लागि कुनै कसर बाँकी राखेका छैनौं । वीरबहादुरजीको पनि एउटा व्यक्तित्व छ । उहाँ पनि प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ । हाड– मासुजस्तो मिलेर अगाडी बढ्दै छौं । आम जनता, मिडियाका मान्छे उल्लासका साथ चुनावमा आएको देखिराखेका छौं ।

तपाईंको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी भनेको सिंगो डोटीको विकासका लागि हो । हरेक तह र तप्काको विकासका लागि हो । विशेषरूपमा मैले युवाहरूलाई रोजगारीमा जोड्ने र डोटीमा उद्योगधन्दाको विकास गर्ने कुरा उठाएको छु ।

मेरो क्षेत्र एकदम उर्वर भूमि हो । यहाँको ७५ प्रतिशत भू–भाग हराभरा जमिन छ । महाभारत क्षेत्र त्यही पर्छ । जलाधार क्षेत्र प्रशस्त छ । खोलाहरू छन् । सेती नदी बग्छ । यहाँको कृषि उत्पादनलाई आधुनिकीकरण गरेर अर्गानिक तरकारी खेती गरेर नजिकमा रहेको भारतको मार्केट समेत लिन सकोस् । अर्गानिक तरकारी र फलफूल उत्पादन गरेर रोजगारी सिर्जना गर्नेतर्फ मेरो ध्यान छ । हरेक वर्ष पाँच सय युवालाई बजारको माग, सीप हेरेर रोजगारीसँग जोड्ने कार्यक्रम बनाएको छु । त्यस्तै विकास निर्माणका काम, सडक, खानेपानी आयोजना निर्माण छँदैछ । सडकमा विशेष जोड दिनुपर्ने अवस्था छ, त्यो हामी दिन्छौं नै । भौतिक पूर्वाधार तथा योजना मन्त्री पनि डोटीकै हुनुहुन्छ । उहाँले डोटीका सबै ठाउँमा यातायात पुर्याउने र खोलामा पुल बनाउने पोलिसीमा राखिसक्नुभएको छ । सबै गाउँपालिकामा बाह्रै महिना चल्ने सडक अबको पाँच वर्षमा पुर्याउने हामीले योजना बनाएका छौं । हामीले उत्तर–दक्षिण र पूर्व–पश्चिम सडकको खाका कोरिसकेका छौं । निर्माण सुरु भइसकेको छ । त्यसलाई हामी द्रुत गतिमा अगाडि बढाउँछौं ।

हाम्रा विद्यालय अत्यन्त कमजोर अवस्थामा छन् । यी विद्यालयको गुणस्तर नबढाइ सशक्त, प्रभावकारी र योग्य जनशक्ति उत्पादन नगरी समाज रूपान्तरण हुन सक्दैन । न त दिगो विकास हुन सक्छ । यसतर्फ पनि मेरो ध्यान रहनेछ । शिक्षकहरूलाई कम्तिमा ५० प्रतिशत थप इन्सेन्टिभ दिन पहल गर्नेछु । ताकी शिक्षकले पठनपाठनमा सीप र दक्षता लगाउन सकुन् । अहिले शिक्षक र अन्य कर्मचारीको सेवा सुविधामा धेरै ठुलो फरक छ । यसका लागि मैले मतदातासँग प्रतिबद्धता गरेको छु ।

राजनीतिबाट शिक्षा क्षेत्रमा सक्रिय हुनुभयो, फेरि किन राजनीतिमा ?
मेरो रगतमा नै राजनीति छ जस्तो लाग्छ । आठ–दस वर्षमा नै मैले भाषण गर्थे । तर, आजभोलि भने भाषण गर्न बिर्सेको छु । त्यो बेलामा समारोहमा जान्थे । बुबा पनि राजनीतिक पृष्ठभूमिको हुनुहुन्थ्यो । माइलो दाई पनि काठमाडौंमा पढ्दा राजनीतिमा सक्रिय बन्नुभयो । त्यसकारण पनि घरको वातावरण पनि राजनीतिको थियो । १४ वर्षमा मैले बुबा र गाउँका भलाद्मीविरुद्ध पम्प्लेटिङ गरेको छु । स्कुलमा आएको पैसा कसैकसैले खाइदिएका थिए । त्यसका विरूद्धमा आवाज उठाएको छु । सामाजिक व्यक्तित्वको मान्छेले सेवा बेच्नु हुँदैन । सेवालाई निःशुल्क दिनु पर्छ । पैसा लिएर सेवा दिने हो भने समाजसेवी भन्न पाइँदैन त्यो किसिमको अपेक्षा राख्नुहुँदैन भन्ने मेरो मान्यता थियो । कपल्लेकी गाउँपालिकामा रहेको केदारेश्वर मावि मेरै नेतृत्वमा स्थापना भएको थियो । २०४१ सालमा विद्यालय सञ्चालन गर्न सबै गाउँले मिलेर एक लाख पाँच हजार रूपैयाँ संकलन गरेका थियौं । मैले यहाँका धेरै स्कुल स्थापना गर्न अभियान चलाएको छु । म राजनीति विकास र समृद्धिका लागि गर्नुपर्छ र राजनीतिज्ञ जनताको जनजीवन परिवर्तनका लागि लाग्नुपर्छ भन्ने मान्यता राख्छु ।

म शिक्षा क्षेत्रलाई बढी महत्व दिएर राजनीतिमा सक्रिय भइरहेको मान्छे हो । शिक्षामा सुधार र गतिशिलता नआएसम्म र गुणस्तर नबढेसम्म समाज बदलिन सक्दैन भन्ने मेरो मान्यता होे । डोटीको राजनीति र शिक्षालाई मैले सँगसँगै अगाडि बढाएको छु । त्यही कारणले पार्टीले अहिले पनि टिकट दिएको छ ।

तपाईंलाई नागरिकले किन मत दिने ?
पहिलो कुरा त मेरो मन डोटीमा छ भन्ने कुरा सबैलाई थाहा छ । मैले डोटी क्याम्पसको लेक्चर पद छोडेर राजनीतिमा लागेको मान्छे हुँ । राजनीतिसंगसंगै शिक्षा पनि अगाडि बढाउँदै लगेको छु । मैले डोटीलाई संगसंगै बोकेर हिँडेको छु । सुदूर पश्चिममा नै शिक्षाको अवस्था अत्यन्तै कमजोर रहेको अवस्थामा मैले शैक्षिक क्षेत्र मार्फत युवाको भविश्य उज्वल बनाउनतिर लागेँ । मैले खोलेको स्कुलमा झन्डै ५०/५५ प्रतिशत डोटीकै मान्छेले जागिर पाएका छन् । म कहाँ छात्रवृत्तिका लागि आउने डोटीका विद्यार्थीले छात्रवृत्ति पाएका छन् । यसै क्षेत्रमा पनि स्कुल/कलेज खोल्न योगदान पुर्याएको छु ।

डोटेली जनतालाई योगेन्द्रबहादुर शाही जितोस् भन्ने चाहना छ भन्ने बुझेको छु । उनीहरूले मेरो राजनीतिक क्षमता र इमान बुझेका छन् । त्यसकारणले पनि म जित्छु भन्ने मलाई लागेको छ ।

अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
अहिलेको चुनाव धेरै गम्भीर छ । प्रजातन्त्र तथा लोकतन्त्र र साम्यवादका बीच चुनाव भइरहेको छ । बामपन्थी पार्टीहरू गठबन्धन गर्दै कम्युनिस्ट शासन व्यवस्थामा जाने भन्दैछन् । कम्युनिस्ट शासन व्यवस्था ‘अस्ताएको सूर्य’ हो । त्यो फेल भइसकेको व्यवस्था हो । किनभने बन्दुकको नालबाट सत्ता चलाइने हुँदा ७० वर्ष आन्दोलन गरेर ल्याएको प्रजातन्त्र खोसिन्छ । त्यसकारण पनि जनताले कांग्रेसलाई जिताउनुपर्छ । कांग्रेस जनताको मुक्तिका लागि लडेको पार्टी हो । जनताबाट रैती बनाउने र प्रजातन्त्र, समाजवाद हुँदै राष्ट्रलाई बलियो बनाउने पार्टी हो । निश्चय पनि पार्टीमा विचलन छन् । त्यो विचलनलाई करेक्सन गर्नु पर्छ । करेक्सन हुन्छन् नै । डोटीको समृद्धि र विकासका लागि कांग्रेसलाई जनताले भोट हाल्नुपर्छ । यसका लागि म अनुरोध गर्न चाहान्छु । समृद्ध डोटी बनाउने आम मतदातालाई विश्वस्त बनाउन चाहन्छु ।

Tags :
प्रतिक्रिया दिनुहोस