पूर्वाधारको अभावमा स्थानीय तह नागरिकलाई सेवा दिन असमर्थ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वाधारको अभावमा स्थानीय तह नागरिकलाई सेवा दिन असमर्थ


१४ कार्तिक २०७४, मंगलबार


बैतडी । मुलुक संघीय संरचनामा गएपछि सिंहदरबारको सेवा घरदैलोमै उपलब्ध गराइने भनिए पनि प्रदेश नं ७ को पहाडी जिल्ला बैतडीमा भने त्यो लागू हुन सकेको छैन ।

यहाँ बैंक, सडक जस्ता भौतिक पूर्वाधार तथा संरचना र जनशक्तिको अभाव छ । यी पूर्वाधारको अभावमा यहाँका जननिर्वाचित प्रतिनिधि र स्थानीय नागरिकले सास्ती खेप्नुपरेको छ ।

बैतडीमा रहेका १० स्थानीय तहमध्ये आठ वटामा बैंक नहुँदा बैंकिङ कारोबार गर्न समस्या छ । बैंक नभएका कारण स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले सहज रुपमा कारोबार गर्न पाएका छैनन् ।

बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा मात्रै बैंकका शाखा रहेका छन् । स्थानीय तहमा बैंक नहुँदा स्थानीय बासिन्दासमेत बैंकिङ कारोबार गर्न सदरमुकाम धाउन बाध्य भएका सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

यहाँका बासिन्दा बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जान बाध्य छन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । उनले भने– “हरेक आर्थिक कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।”

बैतडीको पाटनमा केही बैंकका शाखा सञ्चालनमा रहेको भए पनि अधिकांश बैंक अहिले सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा रहेका छन् । बैंक नभएकै कारण कतिपय स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुने गरेका छन् ।

जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा परिचित पुर्चौडी नगरपालिकामा पनि बैंकको अभावमा बैकिङ कारोबार गर्न मात्रै डेढ दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लालबहादुर भण्डारीले बताए । सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंक शाखा अझै पुनःस्थापना हुन सकेका छैनन् ।

स्थानीय तहमा बैंक नहुँदा कर्मचारीको तलब वितरणदेखि लिएर आर्थिक कारोबारमा समस्या भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए ।

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने वचनबद्धता व्यक्त गरेको भए पनि अहिलेसम्म शाखा खुलेको छैन । वि.सं. २०६८ को जनगणनाअनुसार बैतडीको कूल दुई लाख ५० हजार ८९८ जनसंख्यामध्ये करिब एक लाख ५० हजारलाई बैंकिङ कारोबार गर्न कठिनाइ छ ।

सरकारले गत साउनमा बैतडीका छ वटा स्थानीय तहमा नयाँ बैंकका शाखा खोल्ने भनेको थियो तर अहिलेसम्म शाखा खुल्न सकेका छैनन् । जिल्लाका छ वटा नयाँ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्ने योजना राखिएको थियो । योजना अनुसार पुर्चौडी नगरपालिकामा ग्लोबल आईएमइ बैंक, डिलाशैनी गाउँपालिकामा कुमारी बैंक, मेलौली नगरपालिकामा एनसिसी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक र सिगास गाउँपालिकामा प्रभु बैंकको शाखा खोलिनुपर्ने थियो ।

कर्मचारी नहुँदा कामकाजमा समस्या

बैतडीका स्थानीय तहमा आवश्यक कर्मचारी नहुँदा कामकाजमा समस्या भएको छ । नगरपालिका तथा गाउँपालिकामा प्रविधिज्ञ कर्मचारी नहुँदा समस्या भएको स्वयं जनप्रतिनिधिले बताएका छन् ।

गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत एक, इञ्जिनियर एक, सवओभरसियर दुई, सुब्बा एक र खरिदार एकजना तथा कार्यालय सहयोगी स्थानीय विकासतर्फका कर्मचारी हुने व्यवस्था छ तर जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहमा इञ्जिनियर छैनन् । प्रविधिज्ञ कर्मचारी नहुँदा गाउँसभाले पारित गरेका भौतिक पूर्वाधारका योजना कार्यान्वयनमा ल्याउन समस्या भएको सुर्नया गाउँपालिकाका अध्यक्ष विष्टले जानकारी दिए ।

आवश्यकतानुसारका कर्मचारी नहुँदा नागरिकले चाहेजस्तो सेवा दिन गाह्रो भएको उनले बताए । प्रविधिज्ञ कर्मचारीका साथै गाउँपालिकाका वडामा वडासचिव समेत नहुँदा एकजना सचिवले दुई वटा वडाको काम गर्नुपरिरहेको सिगास गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए ।

गाउँपालिकाले अघिसारेका कतिपय सुधारका योजना कर्मचारी अभावमा सञ्चालन गर्न कठिनाइ भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको दुखेसो छ ।

वडासचिव नहुँदा सेवाग्राहीलाई सास्ती

बैतडीका विभिन्न वडामा वडासचिव नहुँदा सेवाग्राहीलाई सेवा पाउन मुस्किल भएको छ । चौरासी वटा वडामध्ये ६७ वटा वडामा मात्रै वडासचिव रहेका स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिए । वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सामान्य सिफारिश बनाइदिनेदेखि लिएर अन्य कामका लागि समेत अप्ठ्यारो हुने गरेको छ । जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका नौ वडामध्ये पाँच वडामा वडासचिव नभएको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए । अहिले त्यहाँ चार जना वडा सचिवले नौ वडाको काम गर्न परिरहेको छ ।

यस्तै सुर्नया गाउँपालिकाको वडा नं २, ७ र ८ मा वडासचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाका कार्यकारी अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । यस्तै शिवनाथ गाउँपालिकाका तीन वडामा वडासचिव छैन । पाटन नगरपालिकाको वडा नं ८ मा वडासचिव नहुँदा प्रशासनिक सबै काम रोकिएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । पुर्चौडी नगरपालिका–६ मा वडासचिव छैन भने पञ्चेश्वर गाउँपालिकाका तीन वटा वडामा वडासचिव पुगेका छैनन् ।

यस्तै, दोगडाकेदार गाउँपालिका–१ का वडासचिवलाई गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत बनाएर खटाइएपछि वडावासीलाई समस्या भएको छ । जिल्लाका धेरैजसो वडा कार्यालयमा भवनसमेत नहुँदा स्थानीय तहले प्रभावकारी रुपमा सेवा प्रदान गर्न नसकेको यहाँको बासिन्दाको गुनासो छ ।

स्थानीय तहमा सडकको पहुँच छैन

बैतडीका चार वटा स्थानीय तहका केन्द्रमा सडकको पहुँच नै छैन । स्थानीय तहका केन्द्रमै पुग्न ५/६ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको नागरिकले बताएका छन् । जिल्लाको सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको हो । गाउँपालिकाको केन्द्रमा पुग्न पाँच घण्टा हिँड्नु पर्ने बाध्यता रहेको सिगास गाउँपालिका थालाकाँडाका बासिन्दा पदम रोकायाले बताए । उनले भने– “स्थानीय तहको केन्द्रमा पुग्ने सडक नहुनाले स्थानीयवासीलाई सेवा लिन निकै गाह्रो भइरहेको छ ।”

यस्तै सुर्नया गाउँपालिकाको वडा ७ र ८ का नागरिकलाई गाउँपालिकाको केन्द्रमा पुग्न कठिनाइ छ । डिलाशैनी–९ गोकुलेश्वरका कृष्णनाथ योगी गोकुलेश्वरमा सडक पुगेको भए पनि डिलाशैनी गाउँपालिकाको केन्द्रमा पुग्न चार घण्टा उकालो हिँड्नुपर्ने बाध्यता रहेको बताउछन् ।

चार वटा स्थानीय तहका केन्द्रमा सडकले छोएको छैन भने धेरै वडामा पनि सडकको पहुँच छैन । गाउँपालिकाको केन्द्रसम्म सडक नपुगेका स्थानीय तहहरुले सडक पुर्याउन बजेट विनियोजन गरेको भए पनि कहिलेसम्म सडक पुग्ने यकिन छैन । स्थानीय तहमा सडक, विद्युत्, सञ्चारजस्ता अतिआवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा नै समस्या भएको स्थानीय तहहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस