लोकसेवाका परीक्षार्थी र कार्यरत कर्मचारी दुवैका लागि पुस्तक उपयोगी छ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोकसेवाका परीक्षार्थी र कार्यरत कर्मचारी दुवैका लागि पुस्तक उपयोगी छ


१२ कार्तिक २०७४, आइतबार


नेपाल सरकारका सहसचिव हुन्, नेत्र सुवेदी ‘प्रयास’ । सार्वजनिक प्रशासन लगायत बिभिन्न आर्थिक, सामाजिक, राजनीतिक तथा अध्यात्म जस्ता क्षेत्रमा दुई सय भन्दा बढी खोजमूलक र विचारमूलक लेखहरु प्रकाशित गरिसकेका प्रयासले सातौं पुस्तकका रुपमा ‘सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता’ बजारमा ल्याएका छन् । यही पुस्तकका विविध पक्षबारे उनीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता विषय निकै चर्चामा छ, तपाईँले यही यही विषयमा पुस्तक प्रकाशन गर्नुभयो, विषयवस्तुलाई पुस्तकमा कसरी समेट्नु भएको छ ?
जटिल विषय लिएर त्यसका विविध पक्ष समेटी पाठकको आवश्यकता परिपूर्ति गर्नु पक्कै सजिलो काम होइन । नैतिकता, जवाफदेहिता र व्यवसायिकताजस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहार लगायतका विषयमा केही अग्रज विद्वान लेखकहरुले लेख्दै पनि आउनुभएको थियो । तर यी विषयलाई महत्वका साथ पाठ्यक्रममा समेटी परीक्षणको विषय वनाइएको भने गत वर्षदेखि मात्र हो । विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका यिनै नैतिक, पद्धतिगत र क्षमतागत पक्ष जसको अभ्यासका लागि प्रशासनमा रहेका वा नवप्रवेशी सबैले आधारभूत मूल्यहरुलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्वन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ । तसर्थ ती विषयका सम्बन्धमा बूँदागत र सरल तरिकाले केलाउने, सान्दर्भिक व्याख्या गर्ने कार्य यस पुस्तकमा गरिएको छ । सैद्धान्तिक पाटोका अलावा नेपालमा रहेको प्रयोगको पाटो पनि समेटिनु पुस्तकको अर्को दरिलो पक्ष हो ।

राज्यले नै खाँचो महसुस गरेर सदाचार नीति ल्याउदै छ, किन यो विषय सर्वत्र खड्किन पुग्यो ? एक लेखक कर्मचारीको अनुभव बताइदिनुहोस् न ।
प्रधानमन्त्री कार्यालयको अग्रसरतामा राष्ट्रिय सदाचार नीति तयार हुनु सह्रानीय विषय हो । नीतिको ड्राफ्ट बन्दै गरेको र विज्ञकारूपमा पूर्वसचिवद्वय मोहन वञ्जाडे र शारदाप्रसाद त्रिताल रहनुभएको जानकारी पाएको थिएँ । उक्त नीतिले समेटेका विषय मैले अध्ययन गर्न पाएको छैन । नीति तयार हुनु भनेको समग्रमा समस्या समाधानको एउटा पाटो मात्र हो, मार्गदर्शन मात्र हो । नीतिगत दस्तावेज आफैले कायापलट गर्ने हैन । संस्था र पात्र यसको मर्मबमोजिम आ–आफ्नो कार्यक्षेत्रमा जुट्नुपर्छ । शिक्षा, सामाजिक क्षेत्रका संस्था, त्यसलाई संचालन गर्ने नीति तथा कानुनमा समेत सदाचार नीतिले माथिल्लोस्तरको मार्गदर्शन गर्नुपर्दछ । अनि मात्र सदाचार नीतिले कार्यरूप पाउँछ । यसले समय लिन्छ तर संभव छ ।

अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन । लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको जस्तो लागेको हो । हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो । भनिएको छ, ‘अल्टिमेट मनिफेस्टेसन अफ इथिकल डिके इज करप्सन ।’ हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ । अब एक–एक गरी असल गुणहरुको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ ।

मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो । यिनै विषय यो पुस्तकभित्रका विषयसूचि एवं खण्ड र पृष्ठपृष्ठका लाइन हुन् । त्यसबाहेक केही भावनात्मक तर कुशल व्यवस्थापकका लागि जरुरी अध्यात्मवाद, समानुभूति र संवेगात्मक वौद्धिकता जस्ता विषय समेत पुस्तकमा समेटिएका छन् ।

लोकसेवाले लिने सहसचिवस्तरको परीक्षामा एउटा पत्र नैतिक, मुल्य र मान्यतामा आधारित छ, यहाँले पनि त्यही पेपर अनुसार नै जाँच लिएर पास भएर आउनु भएको केही महिना मात्रै भयो, यो पेपरको औचित्य कतिको देख्नुहुन्छ ?
लोकसेवा आयोग भनेको सार्वजनिक सेवामा प्रवेशका लागि आशा एवं भरोसाको केन्द्र हो । परीक्षा र पाठ्यक्रम भनेका योग्यता अनुसारको क्षमताको परीक्षण विधि हुन् । मैले आफ्नो हालसम्मको २२ वर्षे सेवा अवधिमा सेवा प्रवेश र सवै पद परीक्षाबाटै उत्तीर्ण गर्न सफल भएँ । जिल्ला तहमा, सुगमदेखि दुर्गमसम्म र अप्ठेरो नभनी खटाएको ठाउँमा स्वीकार्यभावका साथ खटिएँ पनि । ती सबै अवधिका सिकाइले मेरो कार्यशैली तथा बुझाइलाई खार्दै लगेको अनुभूति गरेको छु । सहसचिवको लागि गत वर्षदेखि नयाँ पाठ्यक्रम लागू भयो । सोही पाठ्यक्रमअनुसारको परीक्षा उत्तीर्ण गर्ने अवसर मैले पाएँ । गत वर्षको अवधिमै मैले एम फिलको अध्ययन समेत पूरा गरेको छु । अध्ययनका क्रममा आफुले संग्रह गरेका विविध सामग्री एवं आफ्नै नोट एवं लेखहरुका आधारमा पुस्तक तयार पारेको हुँ ।

जहाँसम्म पाठ्यक्रममा यो विषयवस्तु थपिनुको औचित्य एवं उद्देश्यको कुरा छ, समसामयिकरूपमा समाज र प्रशासनको संचालनमा के कस्तो मूल्य मान्यता र सिद्धान्तबाट निर्देशित हुने हो ? वर्तमानमा के कस्ता चुनौती छन् ? के कारणबाट ती चुनौती सृजना भए ? समाधान कसरी गर्न सकिन्छ ? यी कुराको परख गर्दा आयोगलाई प्राप्त भएका सुझावका आधारमा मूलतः मानवीय मूल्य मान्यता, नैतिकता, जवाफदेहिताको संयन्त्र र व्यवसायिक कौशलको यथोचित परीक्षणको प्रबन्ध हुनुपर्ने खाँचो महसुस गरेर नै द्वितीय पत्रका रूपमा सार्वजनिक व्यवस्थापनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता नामक १०० पूर्णांकको छुट्टै पत्र राखिएको हो भन्ने मेरो बुझाई छ ।

यो पुस्तक कसका लागि बढी आवश्यक छ, परीक्षार्थी की प्रशासक ?
सार्वजनिक प्रशासन क्षेत्रमा कार्यरत नेतृत्वदेखि हरेक कर्मचारीले अवलम्बन तथा मनन् गर्नुपर्ने र स्थापित मान्यता तथा औजारका सम्बन्धमा आधारभूत जानकारी एवं प्रयोगको पक्ष समेटेर तयार पारिएको यो पुस्तक परीक्षार्थी र प्रशासक सबैका लागि उत्तिकै उपयोगी हुने मेरो ठहर छ ।

सहसचिवको पाठ्यक्रममा आधारित पुस्तक भए पनि उपसचिव र अन्य पदका लागि पठनीय, मननीय र संयोजन गर्न पुस्तक उपयोगी छ । पुस्तकमा अन्य विषयका अलावा हाल प्रयोगमा रहेका चल्तिका महत्वपूर्ण शव्दाबली र सन्दर्भको सूचि समेटिनु यसको थप विशेषता हो ।

‘सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता’ पुस्तकको मुख्य सार के हो ?
सार्वजनिक प्रशासनमा गरिने कार्य नैतिकताले ओतप्रोत भएको हुनुपर्छ । यस क्षेत्रमा सार्वजनिक कोषको प्रयोग हुने, सार्वजनिक नीतिको दायरामा पर्ने हुँदा संलग्न व्यक्ति पनि नैतिककर्ता हुन् । उनीहरूले गर्ने काम, जीवनशैली, व्यवहार, आचरण पनि अनुकरणीय हुनुपर्छ । हुन पनि सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीका काम सबैले नियालिरहेका हुन्छन् । उनीहरूको सफलता भनेको सार्वजनिक प्रशासनका विभिन्न संगठन तथा सरकारको सफलता र नागरिकको सेवा प्राप्तिसँग समेत जोडिएको हुन्छ । यसबाहेक संक्रमण र संकटमा समेत सार्वजनिक प्रशासक धैर्यतापूर्वक आफ्नो कर्मभूमिमा डटिरहन्छन् । प्रशासकको सफलताको कारक एवं कसी दुवै भनेको उनीहरू कति नैतिकवान तथा जवाफदेही छन् र कामअनुसारको कौशल वा कार्यकुशलता छ वा छैन भन्ने नै हो । समयक्रममा वृत्तिका लागि कुन पेशा, व्यवसाय र पदमा सरिक हुने, के जान्ने र के गर्नेको समष्टि नै नेतृत्वका ती महत्वपूर्ण पक्ष भएको हुँदा यी तीनवटा पक्षलाई सहयोगी हुने सहजै नदेखिने तर विकसित हुँदै जाने विषय सम्बन्धमा यथाशक्य सामग्री पस्कनु यो पुस्तकको अभिष्ट हो ।

कसरी प्राप्त गर्न सकिन्छ पुस्तक ?
यो पुस्तक काठमाण्डौका केही प्रमुख पुस्तक पसलमा पाइन्छ । तथापि प्रमुख वितरक भने शंखमुलको चैतन्य इन्स्टिच्युट रहेको छ । सहसचिव र उपसचिव पद समेतका लागि तयारी कक्षा संचालन गर्दै आएको चैतन्य इन्स्टिच्युटलाई यो पुस्तकको प्रमुख वितरक र व्यवस्थापकको जिम्मा दिइएको छ । यसै सन्दर्भमा चैतन्य इन्स्टिच्युटलाई धन्यवाद टक्र्याउन चाहन्छु ।

तत्कालै अरु पनि कुनै पुस्तक लेख्ने योजना छ कि ?
केही अग्रज लेखकसमेत मिलेर छिट्टै नै अर्को पुस्तक प्रकाशित गर्ने योजना छ । उक्त नयाँ पुस्तकमा सहसचिवको पाठ्यक्रमका पहिलो र तेश्रो पत्रका प्रमुख विषय समेट्ने प्रयास गर्नेछौं । सो पुस्तकको लागि सामग्री संयोजन एवं सम्पादनको लागि भूमिका निभाउन पाएकोमा हर्षित समेत छु ।

पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
कार्यव्यस्तताका बाबजूद लेखन र सम्पादनजस्तो प्राज्ञिक एवं रुचिको क्षेत्रमा सानो भए पनि योगदान गर्न पाउनु आफैमा एउटा अवसर हो । पुस्तक लेखन र सहलेखनका दृष्टिले यो मेरो सातौ जमर्को हो । मेरा विभिन्न खोजमूलक र विचारमूलक गरी २०० भन्दा वढी लेख प्रकाशित भइसकेका छन् । लेखमा पनि पाठक वर्गको अपार सद्भाव पाएको छु । आगामी दिनमा पनि पाठक वर्गको पृष्ठपोषण र सुझावको अपेक्षा गरेको छु, जसले आगामी दिनमा पुस्तक वा लेख लेख्न या अध्यावधिक गर्ने क्रममा ऊर्जाको काम गर्नेछ । पुस्तक सम्बन्धमा भनाई राख्ने अवसर दिनुभएकोमा प्रशासन डट कमका तपाईँलाई धन्यवाद दिन चाहान्छु ।

र यो पनि, 

आत्मशुद्धि र शान्तिको प्राप्ति

Spiritualism and Work Life

आउनुहोस् आत्मसमीक्षा गरौँ

संगठनको समग्र वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको प्रयोग

 Revitalizing Disaster Hit Tourism in Bhotekoshi Area

खोटाङबारे बुझेका कुरा

Tags :
प्रतिक्रिया दिनुहोस