कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्


५ कार्तिक २०७४, आइतबार


पथरी । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् ।

कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ ।

भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन् । ती सामग्रीसँग उनीहरूले गाउँ–गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन् । नेपाली बजारमा २० पर्ने आयोनून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ, त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन्, कतिपयले नेपाली बजारमै कवाडी बेच्छन् । पाँच सातजनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री ‘सरी’ (एक किलोमा एक किलो) साट्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी १५, कीटको रु १२ र प्लास्टिकको आठ दिने गर्छन् ।

आठ वर्षयता नेपालमा कवाडी व्यापार गर्दै आएका विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवानका अनुसार नेपालमा १५ मा किनेको फलाम भारतमा भारु १४ मा, १२ मा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ ।

साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनीहरु भन्छन्, “फलाममा प्रतिकेजी साडे सात रुपैयाँ, कीटमा सात रुपैयाँ २० पैसा र प्लास्टिकमा छ रुपैयाँ ४० पैसा फाइदा हुन्छ ।

दैनिक ५०० देखि ७०० सम्म कमाइ हुने बताउँदै विद्यानन्द पासवानले भने, “खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ । विद्यानन्द त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौँ भारतीय कवाडी संकलक मोरङका गाउँ गाउँमा घुमेर कवाडी भेला गर्छन् ।

कतिपय कवाडी संकलक आफूले ल्याएको नून स्थानीय व्यापारीलाई बेचेर नेपाली कवाडी व्यवसायीसँग पत्रु किनेर पनि आफ्नो व्यापार चलाउने गर्छन् । भारतीय बजारमा आठ भारुमा पाइने आयोनून नेपाली बजारका थोक व्यापारीलाई १६ मा बेच्ने गरेको अर्का कवाडी संकलक मोहम्मद उल्लकले बताए । नूनमा तीन चार बच्छ, कवाडीबाट राम्रै आम्दानी हुन्छ । मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का कवाडी संकलकहरू फाट्टफुट्ट मात्र देखिने भएकाले उनीहरूलाई प्रहरीले खासै जाँच नगरेको स्वीकार्छन् । उनले भने, “हाम्रो ध्यान नपुगेकै हो । अब जाँच शुरु हुन्छ ।

विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२/७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो । त्यस्तै आव २०७३/७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन । २०७३/७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ ।

आव २०७२/७३ मा कूल एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३/७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ ।

अघिल्लो आवको तुलनामा रु १४ लाख १९ हजारले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस