मुक्तक गागरमा सागर अटाउन सकिने विधा हो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुक्तक गागरमा सागर अटाउन सकिने विधा हो


४ कार्तिक २०७४, शनिबार


समाजको रुपान्तरण र जीवन परिष्करणको प्रभावशाली माध्यम हो कला र  साहित्य । समाजमा दबाएर राखिएका र लुकेका विषयबस्तुलाई मसिनो गरी केलाई शब्दको माध्यमबाट बाहिर ल्याउने काम गर्छ साहित्यले । त्यसैले त भनिन्छ, जहाँ पुग्न सक्दैन रवि त्यहाँ पुग्ने गर्छ कवि ।

साहित्य र रेडियो पारखीकामाझ परिचित नाम हो रमेश पौडेल । लामो समयदेखि रेडियो नेपालमा साहित्यिक कार्यक्रमका संचालक रमेश पौडेल एक कुशल मुक्तककार हुन् । उनले २०५८ सालको राष्ट्रिय कविता महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट स्वर्ण पदक पाइसकेका छन् । यसैगरी उनले २०५० सालमा रेडियो नेपालबाट उत्कृष्ट गीतकारको पुरस्कार पनि पाइसकेका छन् । ५०० भन्दा बढी साहित्यिक कृतिका आवरण बनाइसकेका पौडेल थुप्रै संघसंस्थाबाट अभिनन्दित र सम्मानित पनि भइसकेका छन् । पस्तुत छ, कवि तथा कलाकार रमेश पौडेलसँग प्रशासन डटकमका वरिष्ठ सम्बाददाता यज्ञराज जोशीले ले गरेको साहित्यिक कुराकानीः

 

टीकापुरबाट फर्केपछि एउटा मुक्तक लेख्नुभएको रहेछ, के मुक्तकमा लेखिएजस्तै उर्वरिलो छ त त्यहाँको माटो ?
छ, अहिले झन् उर्वरिलो छ ।

तपाईँले मुक्तकमा लेखेजस्तो यदि त्यहाँको मुक्तक साच्चिकै उर्वरिलो भए किन अहिलेसम्म ओझेलमा रह्यो त ?
ओझेलमा छ पनि भन्न मिल्दैन, राजधानीको दृष्टि नपुग्नु काठमाण्डौको कमजोरी होला । मैले त्यहाँका प्रतिभाहरूलाई दुई दशक अघिदेखि पढ्दै आएको छु, पढिरहेछु ।

मुक्तक मञ्च नेपालबाट सरप्राईज सम्मानित भएर आउनुभयो, त्यस क्षेत्रमा साहित्यिक गतिविधिको अवस्था के देख्नुभयो ?
सरप्राईज नौलो र सुनौलो भनौँ । मुक्तक मञ्च नेपाल दर्ता भएपछि त्यहाँका साथी भाइहरूले पहिलो कार्यक्रममा तपाई नै प्रमुख अतिथि भएर पनि आउनुपर्छ भन्नु भएको थियो । हुन्छ, सकेसम्म आउँछु भनेको थिएँ । पुगेँ, कार्यक्रम उद्घाटनको केही समयमा अभिनन्दन गर्ने भनेर उठाए पछि अचम्मित भएँ । सम्मानित गर्नु हुने टीकापुरकी उपमेयर साहित्यकार केशरी बिष्टलाई समेत जानकारी दिईएको रहेनछ, उहाँ पनि छक्क पर्नु भो । सूचना दिइएकोभन्दा यस्तो सरप्राईज मिठो हुँदो रै’छ । अँ, साहित्यिक गतिविधि पनि राम्रै रहेछ । बरु अचेल साहित्य भनेर समर्पित साथीहरू जागिर र कामको सिलसिलामा छिन्नभिन्न देख्छु –धनगढी, टीकापुरका साथीहरू कोही कता कोही कता । मन भएर पनि गर्न नसक्नु त्यहाँको मात्रै हैन, देशैभरीको समस्या हो ।

नेपालमा मुक्तकको अवस्था कस्तो छ ? नयाँ पिंढीहरूले कसरी मुक्तक लेख्न सक्छन् ?
नेपाली मुक्तकको अवस्था पहिलेभन्दा अहिले धेरै राम्रो छ । पहिले सिर्जना आरम्भ गर्दा कविताबाट गरिन्थ्यो भने अहिले छोटो मिठो अनि चोटिलो, पोटिलो विधा मुक्तकबाट शुरु गर्ने धेरै भेटिन्छन् । मुक्तककै विधागत प्रतिष्ठान र संघ संस्था पनि खुलेका छन् । अहिलेको पुस्तामा विधागत ज्ञान पनि बढी छ । जहाँसम्म मुक्तक कसरी लेख्ने भन्ने कुरा छ ।

मुक्तक समय सापेक्ष विधा हो । अहिलेको समयलाई सूचना र प्रविधिले कुँदाएको छ, सबैलाई समय अभाव छ । मुक्तक गागरमा सागर अटाउन सकिने विधा हो । ठूला ठेलीमा दिन खोजिएको अभिव्यक्ति चतुष्पदीय शैली शिल्पका मुक्तकमा सहजै दिन सकिन्छ ।

मोफसलको साहित्य किन राज्यको मूलधारमा आउन सक्दैन ? के सबैको नजरमा पर्नलाई राजधानीमै आएर साहित्यमा क्रियाशील हुनुपर्छ र ?
साहित्य सिर्जना गर्नलाई काठामाण्डौ नै धाउनु पर्छ भन्ने लाग्दैन मलाई । मैले रेडियोमा बोल्दै र पत्रिकामा पनि लेख्दै आएको कुरा फेरि यहाँ दोहरो¥याँए– मैले आजसम्म मोफसल शव्द भनेको र बोलेको पनि छैन । सिर्जनाधाम भनेको राजधानी बाहिर नै हो । राजधानी सिर्जनाभन्दा प्रचारमुखी छ ।

तर पुरस्कृत हुने र अवसर पाउने कुरा किन राजधानीमा मात्र सीमित हुन्छन् त ?
राजधानी देशकै सम्पर्क केन्द्र हो । काठमाडौं छिरेपछि जिन्दगीका रहरहरु पूरागर्ने क्रममा ती यावत कुराहरु हुन्छन् होला । अवसर र पुरस्कार पाउँदैमा दिगो हुन्छ भन्ने लाग्दैन मलाई त ।

तपाईँ त लामो समयदेखि रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँदै आइरहनुभएको छ, पछिल्लो समयमा कस्ता खाले सिर्जना आइरहेका छन् त ?
समयसँगै साहित्यको टे«ण्ड पनि परिवर्तन भएको छ । उतिवेला भावनात्मक र नीतिपरक अभिव्यक्ति आउँथे भने, अहिले समय र चेतनाका अभिव्यक्ति बढी आउँछन्, यो राम्रो कुरा हो । फरक यत्ति छ – अहिले अर्गानिक बिम्बको खडेरी छ, कस्मेटिक बिम्बको बाहुल्यता छ ।

एउटा सर्जकले ओजिलो सिर्जना सिर्जित गर्नका लागि कुन–कुन पक्षमा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
अभिव्यक्ति र सिर्जना भनेको पाकशिक्षको मरमसला र अल्जेब्राको फर्मूला घोक्नुजस्तो हैन । अध्ययन र प्रतिभा नै ठूलो कुरा हो । यस्तो लेख्यो भने राम्रो हुन्छ, पठनीय हुन्छ भन्ने कुरा जान्दा जान्दै लेख्न नसक्नुको ऐँठन भोग्नेले बुझ्ने कुरा हो यो ।

पछिल्लो समयमा सिद्धान्तविपरित गजल, मुक्तक लेखिएको पाइएको छ, के लाग्छ यहाँलाई ?
मलाई त त्यस्तो लाग्दैन । विधागत ज्ञान नभई लेख्नेहरूको समस्या हो यो ।

Tags :
प्रतिक्रिया दिनुहोस