टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट


२७ आश्विन २०७४, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ ।

उक्त केन्द्रको आज सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने उल्लेख गरे ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमका सामु विविध किसिमका चुनौती पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि केन्द्रले सहयोग पुर्याउने बताए ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले केन्द्रलाई नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको जानकारी दिए । एक सय ९७ नं.मार्फत हुने सोधपुछ सेवा आजैदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नं.मा डायल गरेर ग्राहकले उक्त सेवासम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन् । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् । हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकामा सो सेवा केन्द्रबाट छिट्टै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस