अपराध नियन्त्रण गर्न ‘प्रहरी हाम्रो टोलमा’ अभियान थालेका हौं « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अपराध नियन्त्रण गर्न ‘प्रहरी हाम्रो टोलमा’ अभियान थालेका हौं


९ आश्विन २०७४, सोमबार


गृहमन्त्री जनार्दन शर्माले ‘शान्ति सुरक्षा र सुशासन : जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको औपचारिक सुरुवात गरेका छन् । गृहमन्त्री शर्माले प्रस्तुत गरेको ८४ बूँदे ‘गृह प्रशासन सुधार मार्गचित्र’को लक्ष्य नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने हो । यद्यपि, अभियान प्रभावकारी भए/नभएको त समयले देखाउँछ नै ।

अभियान के हो ? कसरी काम गर्छ ? यही सेरोफेरोमा रही प्रशासन डटकमका विशेष प्रतिनिधि एसराज उपाध्यायले नेपाल प्रहरीका डिआइजी तथा प्रवत्ता मनोज नेउपानेसँग गरेको कुराकानी:

 

‘प्रहरी हाम्रो टोलमा’ कस्तो अभियान हो ?
‘शान्ति सुरक्षा र सुशासन: जनमैत्री प्रहरी र प्रशासन’ नारा सहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान थालेका हौं । टोलटोलमा स्थानीय जनतासँग हातेमालो गर्दै उनीहरूकै सहकार्यमा शान्ति सुरक्षासँग जोडिएका समस्याको त्यही समाधान गर्न अभियान सुरु भएको हो ।

यस अभियानले कसरी अपराध न्यूनीकरण गर्छ त ?
प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र शान्ति सुरक्षासँग नागरिकको सहभागिता बढाउने अभियानको लक्ष्य हो । सुरक्षाको मूल आधार जनता बनाई नागरिक केन्द्रित सुरक्षा प्रणालीको स्थापना गर्ने, प्रहरी–स्थानीय निकायबीचको सम्बन्धलाई सुमधुर बनाउने र सहरी तथा ग्रामीण क्षेत्रमा हरेक टोलमा ब्लकिङ पुलिसको अवधारणालाई लागू गर्ने यसको उद्देश्य हो ।

टोलटोलमा स्थानीयसहितको टोली गठन गरी उनीहरूकै सहभागितामा हरेक समस्याको समाधान गरिने भएकाले यसले अपराध न्यूनीकरणमा ठूलो भूमिका निर्वाह गर्छ ।

यो अभियानबाट आम नागरिकले कसरी फाइदा लिन सक्छन् ?
प्रहरीको काम भनेको समाजमा शान्ति सुरक्षा कायम गर्ने हो । यसका लागि प्रहरीले अपराध रोकथाम तथा अनुसन्धान गर्छ । अपराधिक घटनामा समाजकै मान्छे संलग्न भएकाले त्यसको असर पनि समाजमै पर्छ । तसर्थ हरेक नागरिकको सहभागितामा समाधान खोजियो भने त्यसको प्रभावकारिता देखिन्छ । यसमा स्थानीयवासीको सहयोग महत्वपूर्ण रहन्छ । जब समाज अपराधरहित भयो तब हरेक नागरिकले शान्तिपूर्णरूपमा बस्न सक्छन् ।

अभियानमा प्रहरी कसरी परिचालित हुन्छ ?
प्रहरीले सुरुमा वडाका प्रतिनिधिसँग त्यहाँका समस्याबारे छलफल गर्छ । त्यसपछि त्यहाँ घट्दै आएका आपराधिक गतिविधिको प्रकार छुट्याई रोकथाम गर्ने योजना बनाउँछ । जस्तोः अपराध न्यूनीकरणका लागि महिला हिंसा, लागूऔषध दुव्र्यसनी, मदिरा सेवन रोकथाम, जुवातास, चेलीबेटी बेचबिखन, तस्करी नियन्त्रणलगायत स्थानीय स्तरमा पहिचान भएका र हुनसक्ने घटनाबारे योजना बनाई न्यूनीकरण गर्ने कार्यक्रम तय गरिनेछ, जसमा जनताको प्रत्यक्ष सहभागिता रहन्छ ।

टोलटोलमा प्रहरी पठाउँदैमा अपराध कम हुन्छ भनेर विश्वास कसरी गर्ने ?
नागरिक, प्रहरी र प्रशासनबीच सम्बन्ध स्थापित हुन्छ । जब नागरिक र प्रहरी संयुक्तरूपमा हातेमालो गर्दै काम गर्छन् तब धेरै अपराधका घटना न्यूनीकरणमा सहज हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको नागरिकले अपराधरहित समाज निर्माणमा मेरो पनि भूमिका महत्वपूर्ण छ÷हुनेरहेछ भन्ने बुझेर प्रहरीलाई सहयोग गर्नुपर्छ । प्रहरी–नागरिक मिलेर अघि बढ्यौ भने आपराधिक घटना न्यूनीकरण गर्न सकिन्छ । यसले प्रहरीप्रति नागरिकको अपनत्वसमेत बढ्छ । यसबाट सुरक्षित, अपराधरहित र शान्त समाज निर्माणमा मद्दत पुग्छ ।

यसअघि पनि प्रहरीले विभिन्न अभियान सञ्चालन ग¥यो, तर कतिपय अभियान केही समयपछि सेलाए, यो अभियानले निरन्तरता पाउँछ भन्ने आधार के ?
अपराध न्यूनीकरण गर्ने कतिपय कुरा आवश्यकताले जन्माउने हो । अपराध बढ्न थाले या नयाँ अपराधिक घटना घट्न थाले भने त्यसलाई जरैबाट निर्मुल गर्न विभिन्न योजना ल्याइने हो खास रुट कज पत्ता लगाएपछि मात्रै अपराधको अन्त्य गर्न सकिने भएकोले पनि स्थानीय स्तरबाटै अपराध रोक्न र हुन नदिने योजना अनुसार यो अभियान सुरु गरिएको हो । त्यसैले यो अभियानको आवश्यकता छ र निरन्तर चल्छ ।

अपराधरहित समान निर्माण गर्ने यस अभियानमा नागरिकको तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
यो अभियान शुरुवात भएको छ । देशका सबै जिल्लामा औपचारिक रूपमा अघि बढेको छ । यसको मोडालिटी र कसरी अगाडि बढाउने भन्नेबारे कतिपय कुरा तय भइसकेको छ । कतिपय तय गरिरहेका छौं । स्थानीय स्तरबाट सबैको सहयोग रह्यो भने अपराध न्यूनीकरण गर्न सकिन्छ । प्रहरी बर्दीका नागरिक हुन् भने नागरिक बिना बर्दीका प्रहरी हुन् । अपराध समाजबाट उब्जने भएकोले समाजकै सहयोगमा त्यसलाई स्थानीयस्तरमै निर्मुल गर्न सकिन्छ । यसरी सबै लाग्यौं भने समाजमा घट्ने अपराधिक घटना न्यूनीकरण तथा कतिपय अवस्थामा न्यूनीकरण नै गर्न सकिन्छ । जनता पूर्णरूपमा यस अभियानमा सहभागी हुनुस् । प्रहरी र नागरिक हातेमालो गर्दै अपराधरहितको समाज निर्माणमा सरिक होऔं ।

Tags :
प्रतिक्रिया दिनुहोस