यसरी रोक्छ ‘सेफ्टी पिन’ले महिला हिँसा : डीआईजी भण्डारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यसरी रोक्छ ‘सेफ्टी पिन’ले महिला हिँसा : डीआईजी भण्डारी


१९ श्रावण २०७४, बिहिबार


सार्वजनिक सवारी साधनमा यात्रा गर्दा महिलाहरु यौन हिँसामा पर्ने गरेको घटनाहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि प्रहरीले सेफ्टी पिन अभियान संचालनमा ल्याएको छ । सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिँसा रोक्न अभियान कै रुपमा ल्याइएको सेफ्टी पिन अभियान के हो ? यसले कसरी हिँसा रोक्छ ? लगाएत विषयमा प्रशासन डटकमका लागि विशेष प्रतिनिधि एसराज उपाध्यायले महानगरीय प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक(डीआइजीपी) बमबहादुर भण्डारीसंग कुरा गरेका छन् । प्रस्तुत छ सम्बादको सम्पादित अंशः

 

सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिँसा रोक्न शुरु गरिएको भनिएको सेफ्टी पिन अभियान कस्तो अभियान हो ?

सार्वजनिक यातायातमा महिलाहरुप्रति हुने यौनजन्य दुव्र्यवहारहरु, हिंसाजन्य गतिविधिहरु लगाएत हिंसा आसयका गतिविधिहरुलाई नियन्त्रण गर्न र त्यस्तो गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि यो अभियान संचालन गरिएको हो । साथै महिला माथीको हिंसालाई लुकाएर राख्न हुँदैन, यसलाई सम्बन्धित निकायहरुमा रिपोर्ट गर्नु पर्छ र कानुनको दायरामा ल्याउनु पर्छं भन्ने जागरणका लागि पनि यसको आवश्यकता महसुस भएको हो । सारांसमा भन्नुपर्दा यसका मुख्य दुइटा उद्येश्य मध्ये एउटा अपराध गर्नेलाई कानुनको दायरामा ल्याएर नियन्त्रण गर्ने र अर्को यस्ता घटना सहेर बस्नु हुँदैन, रिपोटिङ गर्नुपर्छ जागरुप हुनुपर्छ सबै भनेर जनचेतना फैलाउने रहेको छ ।

यो अभियान शुरु गर्ने सोच कसरी आयो ?

केही समय अघि केही व्यक्तिबाट सार्वजनिक यातायातमा महिला हिँसाका घटनाहरु बढ्दै गए, यसलाई रोकि दिनु पर्यो भन्ने सुचना हामी कहाँ आयो । हामीले त्यसलाई भेरीफाई गर्यौं । भेरीफाई गर्दा सार्वजनिक यातायातमा महिलामाथी दुव्र्यवहार हुने गरेको देखियो । जुन आपत्तिजनक र अपराधिक गतिविधि पनि हो । त्यस्तो नहोस् र महिलाहरुले सार्वजनिक यातायातमा सुरक्षित र मर्यादापूर्ण तवरले यात्रा गर्न पाउन भन्ने उद्देश्यले यसको आवश्यकता पर्यो र हामीले यसलाई अभियानकै रुपमा लैजाने सोच बनायौं ।

सार्वजनिक सवारी साधनमा कस्ता खाले यौनजन्य हिँसाहरु झेल्दै आएको भेटाउनु भयो त महिलाहरुले ?

यसमा हामीले विस्तृत र लामो समयसम्म सर्वे गरेर होइन, सूचनाको आधारमा त्यसलाई भेरीफाइ गर्दा साँचो ठहरिएपछि अगाडि बढाएका हौं । जहाँसम्म महिलाले भोग्ने गरेका हिँसाजन्य घटनाहरु छन् त्यसमा यात्रा गर्ने महिलाहरुको शरीरमा अनावश्यक टासिन जाने, संवेदनशील अंगहरु छुन खोज्ने, प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अश्लिल शब्द हरु बोल्ने, होहल्ला गर्ने लगाएका कार्यहरु देखिएकोले त्यसलाई रोक्न खोजिएको हो ।

कसरी संचालन हुन्छ यो सेफ्टी पिन अभियान, महिला यात्रीले कसरी राहत पाउँछन् ?

करीब दुई/अढाइ महिनाको तयारी पछि हामीले सेफ्टी पिन अभियान लन्च गरेका हौं । शुरुमा हामीले अध्ययन गर्यौं । त्यसपछि योजना बनायौं र त्यसपछि यो अभियानमा प्रहरी एक्लैले मात्रै सम्भव नभएकोले सरोकारवाला अन्य निकायहरुसंग समन्वय गर्यौं । सबैसंगको छलफलबाट यस अभियानलाई दुइवटा तरिकाबाट लैजाने सोचमा पुग्यौं । पहिलो प्रचारात्मक अथवा जनचेतना फैलाउने किसिमको कार्यक्रमहरु गर्ने, जसअन्र्तगत आम संचारका माध्यमहरु लगाएत प्रहरीको आफ्नो मिडियाहरुबाट र बिभिन्न सामाजिक सञ्जालहरुबाट यस कार्यक्रमको बारेमा जानकारी गराउने योजना बनायौं ।

त्यसमा सामुदायीक प्रहरी सेवा केन्द्रहरु र महिला सेल, मेट्रोको महिला सेल, परिसरको महिला सेल, बृत्तमा भएको महिला सेल लगाएत सबै महिलासेल र सामुदायीक सेवा केन्द्रहरुले सरोकारवाला अन्य संस्थाहरु समेतलाई बोलाएर सूचनामुलक ब्यानर सहित उपत्यकाका मुख्य १९ वटा बसपार्कहरुमा प्रचारात्मक कार्यक्रम गर्नेकुरा तय भयो । प्रचारात्मक कार्यक्रम अन्तर्गत नै महिला हिँसा बिरुद्धका नारा लेखिएको स्टिकरहरु सार्वजनिक सवारी साधनहरु लगाएत बिभिन्न सार्वजनिक स्थानहरुमा टास्ने काम पनि भएको छ ।

त्यसलाई अपे्रसनल हिसाबले गर्नुपर्छ भनेर एक जना महिला सहित तीन जनाको सादा पोसाकको प्रहरी टोली सार्वजनिक यातायातहरुमा पठाएका छौं । टोली सवारी साधनमै हुन्छ र हिँसा गरेको भेटिए त्यहीनेर कारवाही शुरु हुन्छ । त्यसका लागि यातायात व्यवसायीसंग समन्वय गरेका छौं । यो अभियानलाई ब्यापक बनाउनका लागि मोबाइल प्रयोग कर्ताहरुलाई एसएमएस मार्फत जानकारी गराउन नेपाल टेलिकम मार्फत पनि कुरा भइरहेको छ । यो एउटा सामाजिक अभियान भएकोले यसमा सबै क्षेत्रको सहयोग जरुरी पर्ने हुँदा सरोकारवाला सबै निकायहरुसंगको छलफलपछि बुधबारबाट हाम्रो अप्रसन शुरु भएको छ । जस अन्तर्गत काठमाडौंमा २० वटा टोली, पाटनमा १० वटा टोली र भत्तपुरमा तीन वटा टोलिले काम शुरु गरिरहेको छ ।

यो कार्यक्रम कति सिप्टमा चल्छ ?

अहिले हामीले बढी पिक आवरलाई फोकस गरेका छौं । बिहानको अफिस टाइमको पिक आवर र बेलुका अफिस छुट्ने पिक आवरमा जोड दिएका छौं । पिकआवरको समयमा बढी भिडभाड हुने र भिडभाडकै समयमा त्यस्ता गतिविधिहरु हुन सक्ने हिसावले हामीले पिकआवरलाई छानेका छौं ।

हिँसा भनेपछि खुल्लेआम कम लुकिछिपी बढी घढ्ने घटना हुन्, यात्राका क्रममा गाडिभित्र भिडभाडमा हुने यौनजन्य घटनाहरु कसरी पर्चा, पम्पलेटिङ् र प्रचारले मात्रै रोकिएलान् र, यसको दीगो र प्रभावकारी योजना पनि सोच्नु भएको छ कि ?

यातायातका प्रतिनिधिहरुसँग कुरा गरेर सम्भव भएसम्म प्रत्येक गाडीमा सिसि टिभीको व्यवस्था गरिदिनुहोला भनेका छौं । उहाँहरुले प्रयास गर्छौ भन्नु भएको छ । सिसि टिभी भयो भने एउटा त अपराध गर्ने मान्छे क्यामेरामा रेकर्ड हुन्छ भन्ने हिसावले सतर्क हुन्छ भने अर्को कुनै आपराधिक घटना घटिहाल्यो भने पनि क्यामेरामा कैद भएको फुटेजलाई प्रमाणको रुपमा पेश गरेर अपराधिलाई कारवाहीको दायरामा ल्याउन सजिलो हुन्छ । खासगरी सार्वजनिक यातायातको सवारीमा सचेतना नै मुख्य कुरा भएकोले त्यसमा नै पहिलो जोड दिइका छौं ।

हरेक सार्वजनिक सवारी साधनमा प्रहरी टोली खटाउन कति सम्भव छ ? यो अभियान पनि सस्तो लोकपृयताका लागि केही समय सम्म मात्रै त पक्कै होइन नि ?

सबै सार्वजनिक सवारी साधनहरुमा प्रहरी टोली खटाउन त जनशक्तिको कारणले सम्भव नहुँदो रहेछ । मैले उपत्यकाभित्र चल्ने गाडीहरुको तथ्यांक पनि लिएको छु । हाल उपत्यकामा १० हजार ३ सय ७९ बस, ९ हजार ५ सय ७५ मिनीबस, २ हजार एक सय २३ माइक्रो बस, दुई हजार २८ वटा ट्याप्पो छन् । रुटहरु पनि प्रसस्त छन् । अब यि सबै सवारी साधनहरुमा सधै प्रहरी पठाइ राख्न पनि सम्भव हुँदैन । आम मानिसहरुमा जनचेतना जगाउनु नै मुख्य कुरा भएकोले पहिलो चरणमा उपत्यकाका सबै बसपार्कहरुमा जनचेतनामूलक कार्यक्रम गर्ने र सार्वजनिक सवारी चालक, सहचालक लगायतलाई सुसुचित गराउदै यात्रुहरुलाई सचेत गराउने हिसावले अगाडि बढेका छौं ।

साच्चिकै यस अभियानले सार्वजनिक यातायातमा महिलाहरुप्रति हुने यौनजन्य हिँसा कम गर्ला त ?

गर्नुपर्छ भन्ने हाम्रो विश्वास हो र गर्छ पनि । किनभने कतिपय अवस्थामा मान्छे जानी नजानी अथवा मैले गरे भने पनि कहिँ रिपोर्ट हुँदैन, कहीँ जानकारी हुँदैन भन्ने कुराले पनि त्यस्तो काम गर्न मलजल गरिरहेको हुन्छ, त्यस्तो क्रियाकलापलाई बसपार्कमा भएका हाम्रा सचेतनामुलक कार्यक्रम र अप्रेसनल्ली सादा पोसाकमा खटाएका प्रहरीहरुले रोक्छ भन्ने हाम्रो विश्वास छ ।

सार्वजनिक यातायातमा यौनजन्य दुव्र्यवहार गर्ने व्यक्तिलाई कस्तो कारवाही हुन्छ ?

अपराधको गाम्भिर्यता अनुसार कारवाही हुन्छ । महिला तथा वालबालिका बिरुद्धको अपराधमा पनि त्यसलाई डिफाइन गरेका छौं, सार्वजनिक ऐनले पनि त्यसलाई डिफाइन गरेको छ, मुलुकी ऐनले पनि त्यसलाई डिफाइन गरेको छ । त्यसैले सानातिना अपराधहरुलाई सार्वजनिक अपराधको रुपमा अगाडी बढाउँछौं र र अपराधको प्रकृति हेरी अन्य शिर्षकमा मुद्धा चलाउँछौं ।

बेला बेलामा यस्ता अभियानहरु चलाउने गरिएको छ तर निरन्तरता नहुँदा केही समयपछि सेलाउने गरेका छन्, सेफ्टी पिन अभियान पनि त्यस्तै हुने त होइन ?

यो आफैमा एउटा गम्भिर अपराध हो । महिला माथीको हिंसा भनेपछि सरकारले र सिँगो नेपाल प्रहरी संगठनले पनि गम्भिर रुपमा लिएको छ । त्यही अनुसार हाम्रो हेडक्वार्टरमा पनि महिला तथा वालवालिका हेर्ने सेल छुट्टै छ । क्षेत्रीय प्रहरी कार्यालय, मेट्रो, परिसरहरु महिला तथा बालबालिका सेल बनेको छ । उपत्यकाको हकमा बृत्तहरुमा पनि महिला सेल भएको अवस्था छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय, सबैमा महिला सेलहरु छन् । प्रहरीले यस्ता खाले अपराधलाई गम्भिर रुपले हेरिरहेको छ । अहिले हामीले तीन महिनाको लागि सुरु गरेका छौं । तीन महिना पछि यसको प्रभावकारीता र अपराधको स्थितिबारे मूल्याङ्कन गर्छौ र कार्यक्रम प्रभावकारी भए पुनः संचालन गर्छौ ।

ज्यादै महत्वपूर्ण र संवेदनशिल क्षेत्रमा प्रहरीले शुरु गरेको यस अभियानमा क कसबाट कस्तो सहयोगको अपेक्षा गनुहुन्छ ?

नेपाल प्रहरी त भइ नै हाल्यो । त्यसमा सामूदायिक प्रहरीको भूमिका अझ बढी महत्वपूर्ण रहन्छ । विशेष गरी सचेतनामुलक कार्यक्रमहरुमा उहाँहरुको संलग्नताको भूमिकाको अपेक्षा गरेका छौं र गरिराख्नु पनि भएको छ । त्यस्तै यातायात कार्यालयहरुले अप्रेसनमा खटिने टोलीका लागि पास दिएर मात्रै सहयोग गर्नुभएको मात्रै छैन कि सवारी चालक तथा सहचालकलाई सजग गराउने, उहाँहरुका तर्फबाट पनि त्यस्तो नहोस् र त्यस्तो किसिमको गतिविधिहरु आफ्नो सवारी साधनमा भयो भने तुरुन्तै प्रहरीलाई खवर गर्नुहोस् भनेर पनि हामीले अनुरोध गरेका छौं त्यसमा पनि सहयोग रहने अपेक्षा गरेका छौं ।

यो अभियानबारे ब्यापक जानकारी गराउन मोबाइल प्रयोगकर्ताहरुकहाँ एसएमएस मार्फत सन्देश प्रवाहका लागि नेपाल टेलिकमसंग कुरा गरेका छौं । त्यसैगरी महिला हिंसाको बिरुद्धमा काम गरिरहेका संघसंस्थाहरुसंग पनि विशेष गरी सचेतनामूलक कार्यक्रमहरुमा सहभागी भइदिनको लागि आग्रह गरेका छौं । आम संचारका माध्यमबाट पनि हामीले ठूलो अपेक्षा राखेका छौं । उहाँहरुले आ आफ्नो संचार माध्यमबाट यस अभियानका बारेमा सचेतनामूलक सामाग्रीहरु प्रचार प्रसार गरी आम नागरिकलाई सुसुचित गराउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।

अन्यमा जाँदा जाँदै भन्न मन लागको केही छ ?

हिंसा बिरुद्धको जुन अभियान शुरु गरिएको आफैमा संवेदनशील विषय हो । यो प्रहरी एक्लैले मात्रै रोक्न सक्दैन यसमा नागरिकको साथ चाहिन्छ । यसलाई रोक्नको लागि सबै क्षेत्रबाट, सबै समुह र सबै बर्गबाट सहयोगको अपेक्षा गरेका छौं । यो कार्यक्रमलाई सफल बनाउँ र सार्वजनिक यातायातमा हुने महिला हिंसालाई नियन्त्रण गर्न सफलता मिलोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस