ताप्लेजुङका तीन आकर्षण र मेरो ताप्लेजुङ बुझाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ताप्लेजुङका तीन आकर्षण र मेरो ताप्लेजुङ बुझाई


१८ असार २०७४, आइतबार


पाथिभरा देवी मन्दिर

पाथीभरा नामको डाँडामा अवस्थित भएको हुँदा पाथीभरा माताको नामले चिनिने यो मन्दिर खासमा पञ्चकन्या देवीको मन्दिर हो । समुद्र सतहदेखि ३७९४ मीटरमा अवस्थित यो मन्दिर रहेको स्थानबाट मौसम खुलेको बखत हिमश्रृखंलाको दृश्य अति मनोरम हुने गर्दछ । कुनै संरचनाविनाको यो मन्दिरको छानो वा गाह्रो भने छैन । लाग्दछ कि आकाश नै छानो हो र कञ्चनजंघा र कुम्भकर्ण हिमशिखर रहेका हिमाच्छदित श्रृंखलाहरु नै मन्दिरका दिवारहरु हुन् । यो मन्दिर परिसरको अर्को विशेषता भनेको चढाएको पैसा जस्ताको तस्तै रहनु हो । शिंहमा चढेकी पञ्चेश्वरी देवीको मूर्ति नै प्रमुख आकर्षण हुन् । शक्तिकी प्रतिक पाथिभरा देवीको नयाँ पूराना मूर्तिहरुका साथमा गणेश, शिवजी, भैरव, शिकारी देवता, निशान देवी लगायतका मूर्तिहरु यत्रतत्र रहेका छन् । मन्दिर जाने बाटो र मन्दिर परिसरमा पाटी पौवा, विश्रामस्थल, वँगैचाहरु भेटिन्छन् । पानीको अलि समस्या रहेको मन्दिरको वरपर ध्यान गर्ने स्थान भेटिन्छन् भने दृश्यावलोकनबाट नै मन्त्रमुग्ध नहुने कोही यात्रु हुँदैन ।

पाथीभरा मन्दिर स्थापना सम्वन्धमा किंवदन्तिहरु रहेका छन् । भनिन्छ कि भेडाको वथान नै हराएपछि दिनभर खोजी गरी पाइएन । राती सुतेका बेला सपनामा कालो वर्णका पाँचजना केटीहरु गोठालाको अगाडि आएर तिम्रा भेडा हामीसँग छन् यदि तिमी हामीलाई एउटा भेडाको वली दिन्छौ भने हामी भेडा फिर्ता दिन्छौँ भनेछन् । देवीको आराधना गरी एउटा भेडा वली दिनेछु भनेपछि भेडा फिर्ता आएछन् । देवीको पूजा/आराधना गर्ने क्रम बढेर गयो । क्रमशस् देवीप्रतिको विश्वास वढ्यो, मन्दिर स्थापना तथा दर्शन गर्न जानेहरुका लागि पूर्वाधारहरु पनि तयार गरिदै लगियो । देवीसँग आराधना गरेर धेरै कुरा प्राप्त गरेको स्थानीयहरु बताउँछन् । जिल्लामा कामको सिलसिलामा आउनेहरु पनि देवीको भक्त बन्ने र गहिरो आस्था राख्ने गरेको पाइन्छ ।

पाथीभरा पुग्नका लागि सडक मार्ग र हवाइ मार्ग गरी २ विकल्प छन् । जहाजको टिकट लिएर ताप्लेजुङ सदरमुकाम भन्दा माथि रहेको सुकेटार विमानस्थलमा उत्रेमा तहाँबाट स्वभाविकरुपमा यात्रा छोटो हुन्छ । ताप्लेजुङसम्म बस वा माइक्रोमा पुगेर फेरी तहाँबाट डेढ घण्टाको जीपमा यात्रा गरेपछि झण्डै ४ घण्टामा मन्दिर पुगिन्छ । एकैपटक जानुभन्दा ठूली फेदीमा बास बसी भोलिपल्ट विहानै २ घण्टा हिँडेर दर्शन गर्नु उपयुक्त हुने देखिन्छ । पूर्व इलाम पुगेर चियावारीको एकलकाटे रमाइलोमा रहनुभन्दा पाथीभरा मन्दिर पुग्न सके जीवनस्मरणीय यात्रा देशभित्रै गरेको अनुभूति हुन्छ ।

फुङफुङे झरना

ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा पर्ने निकै चित्ताकर्षक झरनाको नाम हो फुङफुङे झरना । फुङलिङ बजारबाट उत्तरतर्फ साविक साँवा गाविसमा पर्ने उक्त झरना रहेको स्थानमा पुग्न सदरमुकामबाट पूरै एकदिन लाग्दछ र अलि पैदल हिड्न सक्नेहरु भने ५ घण्टाजतिमा पुग्दछन् । ३०० मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामाकरण फुङफुङे भएको हुनुपर्दछ । झरनालाई शक्तिको प्रतिक मानेर हुनुपर्दछ झरनाको फेदी नजिकै फुङफुङे देवीको पुजास्थल पनि राखिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभै पर्यटकीय र धार्मिक महत्व बोकेको यो झरनासम्म पुग्ने यातायात व्यवस्था सुधार गर्नु आवश्यक देखिन्छ । केही वर्ष अघि फुङफुङे महोत्सव समेत आयोजना गरिएको रहेछ ।

सिद्धकाली डाँडा

चण्डेश्वर र जलेश्वर महादेव मन्दिर र ठिशोङ गुम्वासमेत रहेको मन्दिर तथा अन्य प्राकृतिक र सांस्कृतिक सम्पदाहरुको संगमका रुपमा रहेको सिद्धकाली डाँडा वा सिद्धकाली उद्यान सदरमुकाम फुङलिङबजारबाट ४५ मिनेटको हिँडाइ दूरीमा पर्दछ । साविक हाङदेवा गाविस र हाल फुङलिङ नगरपालिकामै पर्ने यो सुन्दर वँगैचा पुग्दा जोकोही पनि मन्त्रमुग्ध हुन्छन्, ध्यानमा बस्छन् र पोखरी तथा मन्दिरको शौन्दर्यबाट मनोरञ्जन प्राप्त गर्दछन् । पार्कको उचाइतिर पुग्दा अलैचीका झाडीहरु पनि छन् ।

पार्क प्रवेश गर्ने गेटनजिकै निरन्तर बगिरहेका ५ वटा ढुंगेधाराले आगन्तुकलाई स्वागत गरेको भान हुन्छ । दाहिनेपट्टी जलेश्वर महादेवको मन्दिर, नागदेवताको मन्दिरका साथमा सुन्दर पोखरी रहेको छ । पोखरीमा कहाँबाट पानी आएको छ भनेर हेर्दैजाँदा पोखरीको सतहदेखि ५ मिटरजति उचाइबाट जलधाराको रुपमा खसिरहेको सुन्दर दृश्यगोचर हुन्छ । पार्क क्षेत्रमा थुप्रै रुखविरुवा र पोखरीहरु छन् । चराहरुको चिरविर आवाजका साथै जलधाराको आवाजमा मन्दिरमा घरिघरि वज्ने घण्टीको आवाज मिसिदा अनौठो तालमेल महसूस हुन्छ । माथि पुगेर तलतिरको पोखरी तथा मन्दिर अनि वनक्षेत्रलाई नियाल्दा सुन्दर दृश्य आँखैअगाडि नाचिरहन्छ ।

मूलमन्दिरका रुपमा रहेको चण्डेश्वर मन्दिर र ठिशोङ गुम्वाको एउटै प्रवेशद्वार हुनु, बौद्धमार्गीहरुको ध्वजाहरु तथा मन्दिर तथा गुम्वाका मान्य आकृतिहरु एउटै प्रांगणमा भेटिनुबाट धार्मिक सहिष्णुता प्रदर्शन त हुन्छ नै त्यसमा पनि मूलमन्दिरको अगाडिपट्टि रहेको कमलको फूल र माछाहरुसमेत रहेको वांगोटिंगो आकारको सानो पोखरी र पोखरी हेर्दै आत्मचिन्तन वा ध्यान गर्ने फलैँचाको व्यवस्था पनि रहेको छ ।

मन्दिर र पार्क बनाउन स्थानीय सरोकारवालाहरुदेखि बाहेक यदि कोही सकृय छ भने एकजना कर्मपुरुष गोपीनाथ गुरुङ (पुजारी बाबा) को रहेको छ । भारतीय सैनिक सेवाको जागिर छाडेर सत्यको खोजीमा हिँडेका उनी यहाँ २०६७ जेठदेखि निरन्तर धार्मिक धाम बनाउन लागिपरेका छन् । उनी नुन नखाने, जुत्ता नलाउने, १ छाकमात्र खाने उनी एक साधकमात्र होइनन् कि शिद्धिप्राप्त पुरुष हुन् । सिद्धिडाँडामा पुग्ने सहज यातायात नहुनु र प्रचारप्रसार समेत पर्याप्त नभएको कारण पाथीभरा पुगेर आउनेलाई केही घण्टाभएपनि मनोरम वातावरणमा अलमलिने माध्यम वन्न सकिरहेको छैन । यतातर्फ नगरपालिकाको ध्यान पुग्नु जरुरी छ ।

यी पनि,

अन्य आकर्षणहरु पनि ताप्लेजुङमा नभएका होइनन् । कञ्चनजंघा, ओलाङचुङ्गोला, मानाभरा लगायतका पहाडी लेकहरु, तमोर, इन्द्रावती लगायतका नदी खोलाहरु, वजारको नजिक रहेका पाथीभरा मन्दिरहरु, किरातेश्वर महादेव । कञ्चनजंघा संरक्षण क्षेत्र । अँलैची, अम्लिसो, उत्तिसका रुखहरु । यी वाहेक पनि थाह पाउन वाँकी खोज्न बाँकी थुप्रै सम्पदा र संभावनाहरु यो जिल्लामा छन् यसमा म विश्वस्त छु ।

आफु पुगेर घुमेर देखेर छामेर सोँचेर अनुभूत गरेर चिनेको ताप्लेजुङलाई निम्नलिखित शब्दचित्रमा उतारेको छु :

गमलामा फुलेका फुलले सजाइएका चिटिक्कका घरहरु
यताउता हिन्दापनि नाकले थाह पाउने मदिराजन्य ‘खाजा’ को गन्ध
तोक्मेडाँडाछेउको कफीहाउस
कुइरोको ओड्ने ओढिरहने पाथीभरा र मानाभरा
एफएममा वजेका चुनावी गीतहरु, विहे र मलामी सम्वन्धी सूचनाहरु
मतगणनापछि सुनिएका हार अनि जीतहरु
जीपहरुको दिनहुँ ग्रामीणयात्रा
तोक्मेडाँडामा लाग्ने विहानी हाट
यंगवरकको दृश्य
सिरिजंगाको सेरोफेरो
आठराई हाङपाङको उकालो
सिद्धिडाँडा शौन्दर्य
सुकेटारको सिमसिमे मौसम र हुस्सु
पाथीभरा पुग्दाको आनन्द अनुभूति
तमोरको गडगडाहट
सिदिग्वा साब्लाखुको भिरालोमा चिप्लो माटो
ओलाङचुङगोला जोड्ने कोरिडरको बाटो

राम्रो लाग्यो हाम्रो ताप्लेजुङ
सुन्दर अनि मोहक ताप्लेजुङ ।।।

(नोट: दोश्रो चरणको स्थानीय चरणको निर्वाचनमा ताप्लेजुङ जिल्लाको निर्वाचन अनुगमन टोली प्रमुखका रुपमा निर्वाचन आयोगबाट खटिई कार्यसम्पादन गर्ने र केही स्थानमा पुग्ने अवसर मिल्यो । केही सान्दर्भिक पुस्तक र स्मारिकाको समेत सहयोग लिइएको छ)

 

र यो पनि

सुदूर पश्चिमका तीन महत्वपूर्ण स्थान पुग्दा जे देखियो

आत्मशुद्धि र शान्तिको प्राप्ति

Spiritualism and Work Life

आउनुहोस् आत्मसमीक्षा गरौँ

संगठनको समग्र वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्देशिकाको प्रयोग

 Revitalizing Disaster Hit Tourism in Bhotekoshi Area

Tags :
प्रतिक्रिया दिनुहोस