इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर…. « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर….


प्रशासन विशेष ब्युरो

२७ चैत्र २०७३, आइतबार


सुदूर पश्चिमको क्रिकेटका जब कुरा हुन्छन् तब सबैको सामुन्नेमा नाम आईहाल्छ सुवास शाही । जस्तो नाम उस्तै काम गरेर नयाँ इतिहासको रचना गरिसकेका छन् उनले ।

सुदूरमा क्रिकेटको सुवास छर्यो, बढ्यो र त्यो उकालो यात्रामा निरन्तर छ भने त्यसमा उनै सुवासको भगिरथ प्रयत्नको गाथा छ ।

संघर्षको व्यथा र आशा भरोशाको बाचा छ अर्थात आज सुदूर पश्चिको धनगढी जसरी क्रिकेट शहर बनेको छ त्यसका एक अविश्रान्त नायक, कप्तान वा नेता उनै हुन सुवास शाही ।

धनगढीलाई क्रिकेटको सहर बनाउने अभियानमा सुवास शाहीले बितेका धेरै वर्षदेखि तन, मन र धन दिए । प्रायोजकलाई रिझाए । सहयोगहरुलाई पकाए । सबै सबैलाई एकै स्थानमा उभ्याए ।

४० हजार दर्शक अट्ने रंगशाला ‘ड्रिम फाप्ला’ अविरल संघर्ष र सपना कथा हो सुवास शाहीको । यो अतृप्त क्रिकेट तृष्णा पुरा नहुन्जेल सुवासको जीन्दगीले शायद थकाई भन्ने शव्दावलीसंग भेट गर्ने छैन ।

मान्छेलाई माटोका माया र स्थानीयताको प्रेमले कसरी घर फर्काउँछ र जाँगरिलो बनाउछ भन्ने ज्यूँदा उदाहरण हुन् सुवास । काठमाडौंबाट होटल व्यवस्थापनमा स्नातक सकेर साथीभाइ जस्तै विदेश उडेनन् बरु घर फर्के सुवास शाही ।

आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने केही सपना, केही उदेश्य र केही संघर्षका चित्रसहित राजधानीबाट धनगढी फर्के सुवास, पंचायत कालका गाऊ फर्क अभियान जस्तै एक्लै । कसैको दवाव वा सुझावमा होईन, आफ्नै अन्तरमनको निर्णयले उनलाई बनायो गो ब्याक टु होमको यात्री ।


क्रिकेटको तृष्णा पुरा नहुन्जेल सुवासको जिन्दगीले शायद थकाई भन्ने शव्दावलीसँग भेट गर्ने छैन । 


धनगढीमै एसएलसी गरेका सुवासलाई स्कुुले जीनवदेखि नै क्रिकेटको क्रेजले समातिसकेको थियो । उनलाई स्थनीय तहमा क्रिकेटका लागि केही न केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । तर उनले स्कूल जीवन सकिएसँगै राजधानीमा उच्च शिक्षा लिन आएको करिब ५–६ वर्षको दौरानमा स्थानीय तहमा क्रिकेट गतिविधि शून्य प्रायः भैसकेका तथ्यले उनलाई केही न केही गर्नुपर्छ, त्यो पनि क्रिकेटमै भन्ने नयाँ सोच सुझायो ।

जहाँ ईच्छा त्यहा उपाय भने जस्तै सुवासलाई शून्यता नै संभावना हो भन्ने त्यो युवा मष्तिष्कमा आयो । उनले आफै अगुवा र आयोजक भएर क्रिकेट प्रतियोगिता सुरु गर्ने योजना बुन्न थाले । साथीभाईलाई सुनाए पनि । तर सुरुमा धेरैले सुवासका नयाँ योजना पत्याएनन् । विजेतालाई २५ हजार नगद पुरस्कार सहितको एसपीए कपको आयोजना नै सुवासको धनगढीलाई क्रिकेट सहर बनाउने दीर्घकालिन योजनाको शिलान्यास थियो ।

त्यसका लागि काठमाडौंसहित मोफसलको टोली बोलाएर धनगढीमा भव्य क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना कार्यान्यनमा अघि बढे उनै सुवास सहयात्री साथीहरुका साथ ।

सुरुमा १६ टोली जुटाउने लक्ष्य थियो तर १२ टोलीले पहिलो एसपीए कपमा सहभागिता जनाए । सुवासको एउटा करिअर, अवसर वा चुनौति पुरा भयो । यसले धनगढीमा डेढ दशकपछि फेरि क्रिकेटको माहोलमा पुर्नजीवन फर्कायो । नयाँ तरंग र उभार नै ल्यायो । व्यवस्थित व्यवस्थापन नै प्रतियोगिता सफलताको सूत्र हो भनेर सुवासले प्रमाणित गर्दै गए ।


२५ हजार प्रथम पुरस्कारबाट सुरु भएको क्रिकेट प्रतियोगिता ६ वर्षको अवधिमा आज ६० औं गुणा बृद्धि भएर १५ लाख पुगेको छ । यो भन्दा छलाङ् अरु के हुन सक्छ क्रिकेटको विकासका लागि ।


एसपीए अर्थात् सुदूरपश्चिमाञ्चल एकेडेमी । सुदूरपश्चिमको अग्रणी यस शैक्षिक संस्थामा सुवास निर्देशक हुन् । ४ लाखमा सुरु भएको एसपीए कपको दोस्रो संस्करण १८ लाखमा र तेस्रो २५ लाखमा सम्पन्न गराएर निरन्तरता र सफलताका दोहोरो क्रिकेट कीर्ति गाथा बनाएका सुवास अब यो वर्ष राष्ट्रियस्तरमै अक्सनमा आधारित क्रिकेट प्रतियोगिताको सफलताका लागि होमिएका छन्, युद्ध भुमीको कप्तानकै शैली र समर्पण भावमा ।

एसपीए कपले अनुभवबाटै सिक्दै गयो । पहिला दुई संस्करण हरेक वर्ष गरे पनि तेस्रो संस्करणदेखि प्रतियोगिता हरेक २ वर्षमा आयोजना गर्ने बानी बसाले । एसपिएकप २०१५ अर्थात चौथो संस्करणको आयोजना खर्च नै ६० लाख रुपैयाँ थियो । निरन्तर महेनत र निस्वार्थ प्रयासले बटुलेको सफलता थियो यो सुवासको ।

१० लाख त नगद पुरस्कार नै थियो । त्यसमा विजेताले नै ५ लाख पाउँथ्यो । घरेलु क्रिकेटमा विजेतालाई दिने सबैभन्दा ठूलो धनराशि भएको क्रिकेट प्रतियोगिता हो त्यो । पहिलो संस्करणमा टिमलाई आएर खेल्देउ भनेर हात जोड्नुपरेको दिनहरू सुवासका लागि अब मीठा संझना मात्रै हुन् ।


पारस खड्काले धनगढी टिम चौराहा, शक्ति गौचनले रुपन्देही च्यालेन्जर्स, बसन्त रेग्मी काठमाडौं गोल्डेन्स, शरद भेष्वाकर बिराटनगर किंग्स, ज्ञानेन्द्र मल्ल सिवाइसी अत्तरिया र बिनोद भण्डारीले कञ्चनपुर आइकोनिकको नेतृत्व गर्ने यो प्रतियोगीताको प्रतिक्षामा रहेका लाखौं क्रिकेटप्रेमीहरुको प्रतिक्षाको घडी सकिएको छ ।


काठमाडौंको गोल्डेन गेट लगायतले प्रतियोगिता तयारीका लागि झन्डै ५ लाखसम्म खर्च गरेका थिए । कलेजहरू राष्ट्रिय खेलाडीलाई एक खेलका लागि १० हजारसम्म तिरेर टीम बनाउँथे । प्रतियोगिता गर्ने मात्र नभई खेलाडीले त्यसबापत रकम पाओस्, धनगढी क्रिकेटको माध्यमबाट चिनियोस् र पर्यटन क्षेत्रबाट अगाडि बढोस् भन्ने सुवासको ठूलो इच्छा थियो ।

राष्ट्रिय मात्र नभई स्थानीय स्तरका खेलाडीले समेत एसपीए कप खेल्दा राम्रो पारिश्रमिक पाए, सुवासलाई यसैले आनन्दित बनाउँछ । साथीभाई र घर परिवारका पनि उत्तिकै प्रिय र विश्वासिला सुवासलाई सफलताको यो उचाईमा पुग्न पिता समाजसेवी योगेन्द्रबहादुर शाहीको दिशानिर्देश र मार्गदर्शन पनि उत्तिकै रहयो । काम गर्दै जाँदा आउने बिभिन्न अभाव, तनाब र निरासाहरुलाई सधै आशा जगाउने र निरन्तर उत्प्रेरणा जगाउने काम गरिरहे युवा उद्यमी महेश शाहले । आर्थिक देखि भौतिक सहयोग जुटाउनमा उनको निकै ठूलो योगदान रहँदै आएको छ ।

भर्खर ३०/३२ वर्षमा दौडिरहेका सुवासको युवा जोश र उर्जाले कुम्भकर्ण निन्द्रामा सुतिरहेको धनगढीको क्रिकेट ६ वर्षको अन्तरमा अहिले नयाँ उचाईमा पुुर्याएका छन् । विशेषगरी युवा क्रिकेटमा सुवासले विशेष ध्यान दिएका छन् ।

केही वर्ष अघि सुवास लगाएतले खोलेको धनगढी क्रिकेट एकेडेमी श्रीलंका भ्रमणमा गएको थियो । निजी क्षेत्रबाट तेस्रो मुलुक भ्रमणमा गएर खेल्ने नेपाली टोलीको त्यो पहिलो प्रयास थियो । सुवासलाई अझ यादगार लागेको क्षण त्यो थियो, जतिबेला अभिभावकहरू २५ हजारसम्म खर्च गरेर आफ्ना छोराहरूलाई श्रीलंका खेल्न पठाउन तयार भए ।

धनगढीलाई ‘सिटी अफ क्रिकेट’ अर्थात् क्रिकेटको सहरको रूपमा अगाडि बढाइएको छ । नगरपालिकाले त्यसलाई आधिकारिता दिंदै क्रिकेटको छुट्टै बजेट बनाउने स्थितिमा पुगेको छ । यसअघि तीनवटा धनगढी क्रिकेट लिग (डिसिएल) प्रतियोगीता संचालन गरिसकेको छ धनगढी क्रिकेट एकेडेमीले । सगरमाथा सिमेन्ट डिसिएल ३ मा स्थानीय टोलहरुको नामबाट फ्रेन्चाइजमा आधारित अक्सन बिधी (बोलकबोल) बाट नेपालमा पहिलो पटक खेलाडीहरु छनौट गरिएको थियो ।

सर्वाधिक धनराशीको एसपिए कप र व्यवसायिक सुरुवात गरेको डिसिएललाई मर्ज गर्दै यस पटक सहरको नामबाट (सिटी वेष्ट फ्रेन्चाइज) को आधारमा अक्सनमा आधारित सर्वाधिक धनराशिको देशकै सबैभन्दा ठूलो लिगमा आधारित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । जसले नेपाली क्रिकेटको व्यवसायिकताको नयाँ सम्भावनालाई पहिल्याएको छ ।


मान्छेले ठूलो सपना देख्नुपर्छ । सपना नदेख्ने मान्छेले केही गर्न सक्दैनन् । सुवास आफैं ठूलो सपना बाँड्दै हिँडछन् । धेरैले उनी महत्त्वाकांक्षी छन् भन्छन् । उनले धनगढी क्रिकेटका सबै सरोकारबाला समेट्दै नेपाली क्रिकेटकै ठूलो महत्वाकांक्षी कार्यक्रम अगाडि ल्याएका छन, ‘ड्रिम फाप्ला’ ।


कुल लागत २ करोड छुने अनुमान गरिएको प्रतियोगिता राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगाएत ६ जना चर्चित राष्ट्रिय खेलाडिले बिभिन्न शहरका नामबाट प्रतिनिधित्व गर्ने ६ टोलीको नेतृत्व गर्दैछन् ।

पारस खड्काले धनगढी टिम चौराहा, शक्ति गौचनले रुपन्देही च्यालेन्जर्स, बसन्त रेग्मी काठमाडौं गोल्डेन्स, शरद भेष्वाकर बिराटनगर किंग्स, ज्ञानेन्द्र मल्ल सिवाइसी अत्तरिया र बिनोद भण्डारीले कञ्चनपुर आइकोनिकको नेतृत्व गर्ने यो प्रतियोगीताको प्रतिक्षामा रहेका लाखौं क्रिकेटप्रेमीहरुको प्रतिक्षाको घडी सकिएको छ । भव्य समारोहका बीच डीपीएल शुरु हुँदैछ ।

खेलाडीले पारिश्रमिक वापत मात्रै करिब ५१ लाख पाउने छन् भने प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले ७ लाख पाउने छन् । त्यसैगरी प्रत्येक खेलको उत्कृष्ट खेलाडीले १० हजार र प्रतियोगिताकै उत्कृष्ठ खेलाडिले ३ लाख मुल्य बराबरको मोटरसाइकल पाउने छ ।

२५ हजार प्रथम पुरस्कारबाट सुरु भएको क्रिकेट प्रतियोगिता ६ वर्षको अवधिमा आज ६० औं गुणा बृद्धि भएर १५ लाख पुगेको छ । यो भन्दा छलाङ् अरु के हुन सक्छ क्रिकेटको विकासका लागि ।

एसपीए कपमा झन्डै १ सय ३५ विभिन्न प्रायोजकहरू सुवासकै प्रयासका सारथी थिए । प्रायोजकलाई चन्दाको रूपमा नभई लगानीको हिसाबमा नभित्र्याएसम्म व्यापारिक हिसाबले खेल मैदानमा आउन गारो हुने सुवासले बुझिसकेका छन् ।

मान्छेले ठूलो सपना देख्नुपर्छ । सपना नदेख्ने मान्छेले केही गर्न सक्दैनन् । सुवास आफैं ठूलो सपना बाँड्दै हिँडछन् । धेरैले उनी महत्त्वाकांक्षी छन् भन्छन् । उनले धनगढी क्रिकेटका सबै सरोकारबाला समेट्दै नेपाली क्रिकेटकै ठूलो महत्वाकांक्षी कार्यक्रम अगाडि ल्याएका छन, ‘ड्रिम फाप्ला’ ।

धनगढी बजारको मोहना खोला छेउको स्थानीय सामुदायिक बनको खाली जग्गामा ५ वर्षभित्र रंगशाला बनाउने अभियानमा जुटेका छन् । राष्ट्रिय खेलाडी पनि यो अभियानलाई सहयोग गरिरहेका छन् ।

५ लाखभन्दा बढी रकम टिकटबाट उठेको थियो त्यसमा । चौथो एसपीए कपको एक टिकटबाट ५ रुपैयाँ फाप्ला रंगशालाका लागि छुट्याउँदा त्यसबाट १ लाख जम्मा गरिएको थियो । स्थानीय टोलीहरूले जितेको नगद रकम पनि त्यसमा हाल्ने गरेका छन् । ड्रिम फाप्लाको सपना साकार भएमा त्यो ४० हजार दर्शक क्षमताको हुनेछ । त्यसको अनुमानित बजेट अर्बभन्दा माथि छ । सुवासलाई अहिले पत्याउने थोरै छन् । अर्बको बजेट कुरा गर्दा उडाउने धेरै छन् । यही हो सुवासको नयाँ अवसर, नयाँ लक्ष्य, नयाँ चुनौति । जसमा सबैले साथ दिन सके हुनेछ सो क्षेत्रकै दिगो भलो ।


पर्दाभित्र र बाहिरका अन्य सबै सारथीहरु, प्रत्यक्ष परोक्ष सहकर्मीहरु, ती सबैले खासमा क्रिकेट शहर बनाएका छन् सुन्दर धनगढीलाई । इतिहासको रचना तिनै सुवास र युवाहरुको पौरखमा कुदिँदै छ, चम्किदैछ निरन्तर निरन्तर ।


अन्तर्राष्ट्रिय खेल आयोजना गरेर फाप्ला रंगशाला दर्शकले भर्ने सपना छ उनको । बजेट माग्न राजधानी धाए । सुदूरपश्चिमका नेतादेखि खेलकुदमन्त्री र प्रधानमन्त्रीसम्मलाई भेटेर उनले बजेटमै ड्रिम फाप्लालाई हाल्न निकै दौडधुप गरे र त्यसले सार्थकता पाउँदै ६० लाख रुपैयाँ बजेट बिनियोजन भयो । यद्यपी त्यो निकै अपुग रकम हो तर सरकार पनि उनको अभियानको सारथी बनेको छ । प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणाबाट मात्र यो सपना पुरा हुने उनको धारणा छ । नीजि क्षेत्रलाई समेट्दा आर्थिक मात्र नभई अपनत्वको भावना समेत विकास हुने र यो एउटा उद्योगको रुपमा अगाडि बढ्ने छ ।

उनको सपना क्रिकेटको विकासँग मात्रै जोडिएको छैन । युवाहरुलाई आफ्नो ठाउँ आफै बनाउँ भन्नेतर्फ आकर्षित गर्नुका साथसाथै गरे सम्भव छ भन्ने सन्देश दिनु पनि रहेको छ । ५/७ वर्षको अन्तरालमा आएको परिवर्तनले पनि यही सन्देश दिएको छ । क्रिकेटको सहर बनाउने सपनाले धनगढी मात्रै हैन समग्र सुदूरको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने छ ।

हुन त सुवासलाई नै धेरैले क्रिकेटको युवा नेता भनेर भन्छन् । उनका पछाडि उत्साही युवाहरुको समुहिक जमात छ । प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सयौं सुभचिन्तकहरु उनका योजनाका सारथी बन्ने गरेका छन् । निरन्तरको साथ, समर्थन र हौसला सदा कायम रहोस् र मातृभूमिको विकासका लागि चालिएका हरेक कदमले सफलताको शिखर चुम्न सकून् ।

चुनौतिका पहाडहरु छिचोल्दै यहाँसम्म आइपुगेको क्रिकेटको यात्रा निरन्तर जारी छ । पर्दाभित्र र बाहिरका अन्य सबै सारथीहरु, प्रत्यक्ष परोक्ष सहकर्मीहरु, ती सबैले खासमा क्रिकेट शहर बनाएका छन् सुन्दर धनगढीलाई । इतिहासको रचना तिनै सुवास र युवाहरुको पौरखमा कुदिँदै छ, चम्किदैछ निरन्तर निरन्तर ।

 

र यो पनि,

तस्विरमा डिपीएल

डीपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात

रुपन्देही च्यालेन्जर्सद्धारा कञ्चनपुर आइकोनिक १४ रनले पराजित

डीपीएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

 

प्रतिक्रिया दिनुहोस