पर्वत प्रशासनका सेवा अब मोबाइलमै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्वत प्रशासनका सेवा अब मोबाइलमै


२५ चैत्र २०७३, शुक्रबार


पर्वत । सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् ।

जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाका बारेमा एप्समा जानकारी समावेश गरिएको छ । कार्यालयले यसअघि सञ्चालनमा ल्याएको नागरिक मैत्री डिजिटल बडापत्र पनि यसमा राखिएको छ ।

त्यस्तै, नागरिकता, राहदानी, जिल्लाको सुरक्षा व्यवस्थापन र सामाजिक गतिविधि, स्थानीय प्रशासनले प्रदान गर्ने सेवा र कार्य, जिल्लाको विकास गतिविधि, धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी, महत्वपूर्ण सम्पर्क, सूचना तथा समाचार पनि उक्त एप्समा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

एप्समा प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरणसहित नागरिकतासम्बन्धी संवैधानिक व्यवस्था, सिसिटिभी क्यामेरा जडान प्रक्रिया, राहदानी, पेन्सन, पत्रपत्रिका दर्तालगायत सेवासुविधा लिने प्रक्रियासमेत उल्लेख गरिएको छ ।

त्यस्तै, जिल्लामा कार्यरत वडा सचिवको जानकारी पनि राखिएको छ । यसले जनतालाई सेवासुविधा लिन तथा सुशासन कायममा भूमिका खेल्ने प्रजिअ मरासिनीले बताए । नागरिकलाई दु्रतसेवा दिन पनि यसले सहयोग गर्ने उनको भनाइ छ ।

साथै उनले यस एप्समार्फत सरकारी सेवा लिनका लागि आवश्यक पर्ने कागजात र प्रक्रिया उल्लेख गरिएको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले एकै दिनमा सेवा लिन सक्ने जनाए । कार्यालयले यो एप्सलाई डाउनलोड गरी आवश्यक जानकारी लिनसक्ने जनाइएको छ । यो एप्स एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस