रुखमा पैसा फल्दैन बिदेशमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुखमा पैसा फल्दैन बिदेशमा


२६ माघ २०७३, बुधबार


म संगै काम गर्ने माधब भाइको फोनमा लगभग हरेक दिन जस्तो तिनरिङ्ग गरेर म्यासेज आइरहन्छ र त्यस्ता म्यासेजहरुमा करिब ९९ प्रतिसत म्यासेज उसको नाता गोता र साथीहरुले मलाई यस्तो समस्या पर्यो वा उस्तो समस्या पर्यो भनेर अनेकौ कारण देखाउदै केहि रकम पठाइदिने अनुरोध गरेका हुन्छन् ।

उसले कतिलाई माग बमोजिम रकम पठाउँछ वा पठाऊदैन त्यो त मलाई थाहा छैन तर उसको कुरा सुन्दा प्रायः लाई उसले अनेक बहाना बनाएर टार्छ र एक पैसा पनि दिँदैन, र सधै दिएर सम्भब पनि छैन। म संग त कसैले त्यसरी पैसा माग्दैन तर याहाँ भेट हुने प्रायः व्यक्तिहरुको साझा गुनासो भनेको नै नेपालमा रहेका इष्ट मित्रहरुले पैसा मागेर हैरान पारे, लौ न त यसो सहयोग गर्न ऋण दिउँ भने पछि फर्किने होइन नदिउँ भने तारन्तार फोन गरेर हैरान पार्छन् भन्ने हो ।

सबैले कति सत्य वा असत्य बोल्छन् त्यो उनीहरुले नै जानुन् तर नेपालमा रहेका अधिकाँस व्यक्तिहरुलाई मेरो साथी वा नातेदारले पैसा कमायो र त्यो पैसामा मेरो पनि हक लाग्छ भनेर पैसाको माग गर्ने कुरा भने सत प्रतिशत सत्य हो ।

अमेरिकामा रहेका अधिकाँस नेपालीहरुले प्रति घण्टा दस डलर ज्यालामा काम गर्ने हो, कागजपत्र नभएकाहरुको हकमा त्यो रकम अझै घट्छ । उदाहरणको लागी हफ्ताको सातै दिन प्रति दिन दस घण्टाको दरले काम गर्यो भने पनि हफ्ताको सात सय र महिनाको दुइ हजार आठ सय कमाई हुन्छ, यो अधिकतम हो, यसमा घट्न सक्छ तर बढ्दैन । कुनै कारणले वा बिरामी परेर त्यो दिन काममा गएन भने वा हप्ताको एक दिन बिदा बस्यो भने त्यो ज्याला आउदैन, हफ्तामा सातै दिन काम गर्न सम्भब पनि छैन । कामको समयमा एक छिन बस्न पाइदैन उभिएर नै काम गर्नु पर्छ, काम सकिएर डेरा पुग्दा सम्म खुट्टा झर्ला जस्तो हुन्छ । अब यति मेहनत गरेर आएको पैसामा कसैले मेरो पनि हक लाग्छ भनेको जस्तो गरेर मागेको माग्यै गर्छ भने त्यो व्यक्तिलाई कति रिस उठ्ला ?

कामको हकमा केहि अपबाद व्यक्तिहरुलाई छोडेर सबैले गर्ने भनेको भारतीय मुलका ब्यापारीहरुको पसलमा वा घरमा हो । जसले जति नेपालमा म यस्तो र उस्तो भनेर गफ हाँके पनि उसले त्यो काम गर्ने समयमा कुचो लगाउने, भुँइ र चर्पी पुछ्ने जस्ता काम गर्नै पर्छ । कोहि सानोतिनो भने पनि आफ्नै ब्यबसाय गरेर बसेका छन् उनीहरुले पनि यी सबै काम गर्छन् तर उनीहरुलाई आफ्नै ठाउंमा काम गरेको छु भन्ने आत्म सन्तोष होला त्यो अर्कै कुरा हो । अझ कसैले म म्यानेजर छु भन्यो भने त त्यो सबैभन्दा दुखि प्राणि हो भन्ने बुझ्दा हुन्छ, उसले काम पनि बढी गर्नुपर्ने र जिम्मेवारी पनि बढी हुन्छ तर पैसा भने सबैको जतिकै हो । तर, अपबादमा कोहि उच्च शिक्षित व्यक्ति बहु राष्ट्रिय कम्पनीको म्यानेजर हो भने अर्कै कुरा हो ।

मेरो बिचारमा नेपालमा रहेका आफन्त वा साथीहरुले पैसा मागेर हैरान गर्नुको दुइ बटा कारणहरु छन्, पहिलो याँहा बसेर संघर्ष गरिरहेको व्यक्तिले सत्य भन्दा पनि बढाई चढाइ बोलेको हुन्छ र यो देशमा पैसा रुख रुखमा फलेको र सडक सडकमा पैसा फ्यालेको हुन्छ अनि हामीले त केवल टिप्ने मात्र हो भन्ने जस्तो गफ लगाएको हुन्छ, अब यति सजिलै पैसा आउँछ भने हामीलाई पनि अलिकति दिँदा के फरक पर्ला र भने मनोविज्ञानले काम गरेको हुनुपर्छ, दोश्रो कारण भनेको कोहि मान्छेलाई वास्तविक रुपमै आपद विपद परेको बेला मेरो नजिकको मान्छेसंग यती पैसा छ यो समयमा नमागे कहिले माग्ने भनेको पनि हुन सक्छ, तर अधिकाँस पैसा माग्नेहरुमा दोश्रो भन्दा पहिलो समुहका व्यक्तिहरु पर्छन् जस्तो लाग्छ, यो मेरो नितान्त निजि मुल्यांकन हो ।

मेरो बिचारमा पैसा मागेर निर्लज्ज हुने काम गर्ने र केहि पैसा दिएर वा नदिएर पछाडी बेज्जत गर्नुभन्दा माग्नेले पनि आफ्नो समस्या आफैले सुल्झाउन पर्छ भनेर सोच्ने र दिनेले पनि यदि भित्रि मनले दिएर सहयोग गर्ने हो भने फेरी त्यो बिषयमा कुरा नगर्ने र याँहाको यथार्थ बताइदिने हो भने यो समस्या केहि कम हुन्थ्यो कि ?

Tags :
प्रतिक्रिया दिनुहोस