प्रशासनलाई प्रभावकारी, गतिशिल र विश्वासयोग्य बनाउने काममा लाग्नै पर्दछ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रशासनलाई प्रभावकारी, गतिशिल र विश्वासयोग्य बनाउने काममा लाग्नै पर्दछ


प्रशासन विशेष ब्युरो

२७ पुस २०७३, बुधबार


नेकपा एमाले सम्वद्ध कर्मचारी संगठन निजामति कर्मचारी संगठन नेपालको सबैभन्दा धेरै कर्मचारी संगठित गर्ने संगठन हो । नेपालगन्जमा हालै सम्पन्न महाधिवेशनले यसको नयाँ नेतृत्व पनि चयन गरेको छ । नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउनु भएको छ लेखनाथ कोईरालाले । कोईरालाले संगठनमा गरेको योगदान अनुसार भारी बहुमतले नयाँ जिम्मेवारी प्राप्त गर्नुु भएको हो । नयाँ जिम्मेवारी र नयाँ चुनौतिलाई नविन सफलतामा बदल्ने सोच र चिन्तनमा रहनु भएका नव निर्वाचित उपाध्यक्ष कोईरालासंग प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले समसामयिक विषयमा कुराकानी गर्नु भएको छ । प्रश्तुत छ कुराकानीको सम्पादित अंश:

 

भर्खरै सम्पन्न नेपालगंज राष्ट्रिय अधिवेशनबाट संगठनको बरिष्ठ उपाध्यक्ष चुनिनु भएकोमा हार्दिक बधाई छ ।
दशौं राष्ट्रिय अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न प्रशासन डट कम लगायत सम्पूर्ण मिडिया र मिडियाकर्मीको सहयोग प्राप्त भएको छ, म प्रति पनि सहानुभूती र सहयोग दर्शाउनु भएको छ, सबैलाई संगठन र मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु । राम्रा कामहरु गर्नको लागि निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछु ।

अब कसरी अघि बढाउँदै हुनुहुन्छ संगठनका गतिविधिहरु ?
२०४६ सालमा स्थापना भएर यहाँसम्म आउँन म लगायत हजारौं सदस्यहरुको उल्लेखनीय योगदान रहेको छ । निजामती सेवालाई प्रभावकारी, आकर्षक, र विश्वासयोग्य बनाउँने काममा विगतमा सबैले इमान्दारीसाथ लाग्यौं र काम गर्यौं , अव थप उचाईमा पु¥याउँन नयाँ ढंगले कृयाकलापहरु अघी बढाउनु पर्दछ ।


ट्रेड यूनियनहरुको बीचको अन्तरसम्बन्ध, उच्चस्तरका राजनीति र प्रशासनिक नेतृत्वहरुसँगको सम्बन्ध विगतमा केही धुमिल भएका छन्, यसलाई प्रगाढ र सुमधुर समेत बनाइने छ ।

सामुहिक हक हित नै हाम्रो ध्येय हो । सेवाग्राहीहरुलेको सन्तुष्टी हाम्रो कर्म हो, यी विषयहरुलाई केन्द्र विन्दुमा राखेर योजनाहरु बनाउँने छौं । आधिकारिक ट्रेड यूनियनको महत्व र अपरिहार्यतालाई हामीले बुझेका छौं । यो संस्था हामीले साझा संस्थाको रुपमा जन्माएकाले यसको समृद्धीमा हाम्रो सहयोग रहनेछ । ट्रेड यूनियनहरुको विचको अन्तरसम्बन्ध, उच्चस्तरका राजनीति र प्रशासनिक नेतृत्वहरुसँग को सम्बन्ध विगतमा केही धुमिल भएका छन्, यसलाई प्रगाढ र सुमधुर समेत बनाइने छ । हामी बाािर्षक योजनाहरु निर्माण गर्ने क्रममा पनि छौं ।

नेपालमा सबैभन्दा धेरै कर्मचारी आफ्नो छातामुनी गोलबन्ध गर्न सफल कर्मचारी संगठनको लामो इतिहास छ तर उपलब्धी के–के छन् नि ?
यो क्षेत्रको जेठो संगठन, बढी कर्मचारी आवद्ध भएको संगठन, CBA निर्वाचनमा दुई तिहाई जिल्ला/विभागीय कार्य समिति जितेको संगठन भएको नाताले पनि यसको महत्व र गरीमा अरुसँग तुलना हुनसक्दैन, अरुको भन्दा निकै अगाडी छ । त्यसैले यसको अगुवाईमा निजामती क्षेत्रमा धेरै महत्वपूर्ण कामहरु भएका छन्, कार्यालय सहयोगीहरुको पाँच तहसम्मको व्यवस्था, लुगा भत्ता, निजामती अस्पताल, आवाश, विद्यालय, छात्रवृत्ती हाम्रै पहलमा आएका हुन् ।

एक दिनको तलब बराबर एक ग्रेड, शुरु नियुक्ती भएका खरिदार, ना.सु,हरुको क्षेत्र अंचलको समय सिमा ७ बाट ५ वर्षमा झारिएको, २४ (घ) १ (नि.से.ऐन.) बाट करिब बीस हजार कर्मचारीहरुलाई एक तह बढुवा व्यवस्थापन भएको, महिला विकासमा कार्यरत कर्मचारीहरुलाई स्थायी गर्न अग्रणी भूमीका खेलेको, आधिकारिक ट्रेड यूनियन निर्वाचन सम्पन्न गरी इतिहास मै नौलो आयाम थपिएको, क्षतिपूर्ति सहितको नागरिक सेवा प्रारम्भ भएको विषय हाम्रै संगठनको अग्रतामा भएका उपलब्धि हुन् भन्दा यो संगठनको सदस्यको नाताले आत्मगौरव पनि हुन्छ । अन्य धेरै सरोकारित विषयहरु छन् निजामती क्षेत्रमा गरिएका कामहरुको ।

तर तपाईहरुलाई पार्टीको राजनीतिक बढी गरेको जनताको काम र कर्मचारीकै हक हितमा निष्पक्ष भएर काम नगरेको आरोप पनि लाग्छ किन ?
हामी र हाम्रा ३५,००० सदस्यहरु कार्यालयको कामको सिलसिलामा सदैव इमान्दार, निश्पक्ष र सेवाग्राही प्रति जवाफदेही छौं । सेवा प्रवेशसँगै खाएको सपथ पनि हामीलाई संझना छ । हामी यो देशका बौद्धिक वर्गका रुपमा रहेका नागरिक पनि हौं । देशप्रतिको थप दाहित्व पनि हामीले निर्वाह गर्नुपर्दछ भन्ने हामी ठान्दछौं । त्यसैले ऐन मौकामा अवसर प्राप्त हुँदा कुनै राजनीतिक दल विशेषलाई आफ्नो मत जाहेर गर्नु र आवश्यक पर्दा अन्य सहयोग प्रदान गर्नुलाई अन्यथा लिन हुन्न । लोकतन्त्रमा यो विषयलाई सामान्य रुपमा लिंदा नै लोकतन्त्र बलियो हुन्छ भन्ने मलाई लाग्दछ ।


कर्मचारीको मनोवल उकास्न एक तह प्रमोशन माग गरिएका विषय हो । हाम्रो संगठन र आधिकारीक ट्रेड यूनियनेले यसलाई मुख्य माग बनाएको छ ।

यो विषयलाई जसले नकरात्मक ढंगले उठाउने गर्नु भएको छ, निजामती क्षेत्रलाई राजनीतिकरण उहाँहरुले गर्दै हुनुहुन्छ । उप–सचिवस्तर सम्मका साथीहरु २ वर्ष सम्म सरुवा/पदस्थापन भएको कार्यालयमा अनिवार्य रुपमा व्यतित गर्नु पर्दछ । सह–सचिवहरुमा यो व्यवस्था आकर्षित भएको छ ? १५–१५ दिनमा कार्यालय, विभाग, मन्त्रालय रोजेर जाने नेताहरुको घर ढोका, चोटा, चाहार्ने, बढुवा गरिदिन आवश्यक चलखेल गर्ने काम कसले गरेको छ ? ट्रेड यूनियनका नेताहरुले गरेका छन् वा अरुले ? राजनीतिक नियुक्तीहरु भागबण्डाका आधारमा हुने गरेका छन् छैनन् ? ट्रेड यूनियनको संलग्नता कहाँनेर छ ? तपाई पत्रकारहरुले खोज्दा पनि तत्काल थाहा हुने विषय हो यो । पेशागत हक अधिकारको कुरा गर्दा राजनीतिक गरेको ठहरिन्छ भने यो काम रोकिन्न ।

नेपालगंज राष्ट्रिय अधिवेशनले संगठनमा केही नयाँ स्वरुप पनि प्राप्त गरेको भनिएको छ, के–के हुन् त्यस्ता निर्णयहरु ?
गतिशिल भएका नाताले विधानमा भएका व्यवस्थामा समयानुसार राष्ट्रिय अधिवेशनमा संशोधन हुने गरेको छ । देश संघीयतामा प्रवेश गरेको हुँदा संगठनको ढाँचा पनि स्थानीय तह, जिल्ला/विभाग तह, प्रदेश तह र केन्द्रिय तहका कार्यसमितिहरु निर्माण हुने भएका छन् । अनुशासन आयोग र निर्वाचन आयोगहरु थप गठन गरिएको छ । लेखा परिक्षण आयोगलाई स्वतन्त्र रुपमा राखिएको छ । अन्य केही विषयहरु पनि समावेश छन् ।

कर्मचारी प्रशासनको क्षेत्रमा लिएका केही मुलभूत नयाँ नीति पनि तय गरिए की ?
संगठनले हालसम्म उठाउँदै आएका मुद्दाहरुलाई कायमै राखी थप हाइलाइट गरेर जाने विषयहरु आएका छन् । कर्मचारीहरुका सामाजिक सुरक्षाको पाटोलाई मजबुत बनाउँने, निवृत राष्ट्रसेवकहरुलाई बाचुन्जेल स्वास्थ्य उपचारको व्यवस्थाको लागि पहल गर्ने, आर्थिक समृद्धि तर्फ सबैलाई उन्मुख बनाउँदै लैजाने, हिसाबले निजामतीहरुकै लगानीमा हाइड्रो पावर संचालन गर्ने, अस्थायी, ज्यालादारी र करारमा कार्यरतहरुलाई उचित व्यवस्थापन गर्ने, संघीय संरचना बमोजिम कर्मचारी समायोजन, व्यवस्थापन–स्थानीय तह, प्रदेश र केन्द्रमा गर्न पहलकदमी लिने, निजामती सेवा ऐन २०४९ लाई समय सापेक्ष सुधार गर्दै निकटमा हुने पाँचौं संशोधन कर्मचारी पक्षीय बनाउँने लगायत मूलभूत विषयहरुमा छलफल एवं निर्णयहरु भएका छन् ।

संघीय संरचनामा कर्मचारी जाँदा एक तह बढुवा भएर जानुपर्ने माग पनि अघि सानु भएको हो ? किन ?
हाम्रो सार्वजनिक प्रशासनको एउटा मान्यता र परम्परा पनि छ अलि कठिन काममा कर्मचारीहरुलाई थप जिम्मेवारी दिनुपर्ने र निर्णय गर्नुपर्दा प्रोत्साहन स्वरुप एक तह बढुवा गर्ने गरिएको छ । सुरक्षा निकाय समेतमा यस्तो गर्ने गरिएको छ । एक ठाउँमा काम गरिरहेको कर्मचारी साविकको कार्यालय मात्र होइन सेवा सुविधा लगायत भुगोल पनि परिर्वतन हुने अवस्थामा कर्मचारीको मनोवल उकास्न एक तह प्रमोशन माग गरिएका विषय हो । हाम्रो संगठन र आधिकारीक ट्रेड यूनियनेले यसलाई मुख्य माग बनाएको छ ।

पहिलोपटक निर्वाचित ट्रेड यूनियनमा तपाईहरुको संगठनको वर्चस्व छ । तर त्यो निर्वाचित नेतृत्वले खास केही काम नै गर्न सकेन भनिन्छ नी ?
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन ०७३ जेष्ठ १९ गते सम्पन भएको छ । संसारकै इतिहासमा यो नौलो घटना र प्रयोग हो । समानुपातिक निर्वाचन प्रणालीकै अनुशरण गरी गरिएको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनले जिल्ला/विभागीय कार्य समितिमा दुई तिहाई र केन्द्रमा प्रष्ट बहुमतका साथ विजय हासिल गरेको छ । नयाँ संस्था भएकोले यसलाई कसरी संचालन गर्ने भन्ने विषयमा पनि हामी छलफलमा छौं । निर्वाचनमा ६ वटा ट्रेड यूनियनहरु मध्ये ३ वटाले मात्र थ्रेस होल्ड कटाउँन सफल भए, अन्य ३ वटाले आवश्यक पर्ने मत प्राप्त गर्न सकेनन् ।

अव आवश्यक पर्ने सल्लाह सुझाउ राष्ट्रिय स्तरको ट्रेड यूनियनबाट अनिवार्य प्राप्त गर्ने र बाँकी अरुसँग संपर्क, सम्बन्ध कायम राखिनेछ । तपाईले राखेको जिज्ञासाको सन्दर्भमा म के भन्न चाहान्छु भने विविध विचार र आस्था भएकाहरुको समिश्रण आधिकारीक ट्रेड यूनियनमा रहेको छ, यसकारण पनि यसको नेतृत्व गर्ने प्रमुख व्यक्ति अध्यक्ष पूण्य प्रसाद ढकालले पनि आफ्नो हिसावले कृयाकलापहरु संचालन गर्नु भन्दा पनि सबैसँग समन्वय गरेर जानुपर्ने परिस्थिति छ ।

यसकारण कामको गति अलि धिमा जस्तो देखिएको हुन सक्छ । ट्रेड यूनियन संचालन गर्ने कार्यविधि बनाउँदै गरेका छौं, मेरो नेतृत्वमा ५ सदस्यीय कार्यदलले यो कामलाई अगाडी बढाएको छ । सरकारले ट्रेड यूनियन सम्बन्धि आचार संहिता निर्माण गर्ने कार्यदलमा आधिकारिकका अध्यक्ष र महासचिवलाई प्रतिनिधि तोकेको छ । सामान्य प्रशासन मन्त्रालयलाई स्थानीय, प्रदेश र संघम कर्मचारी समन्वय गर्न आधिकारिक ट्रेड यूनियनसँग सुझाव माग गर्दा प्रारम्भीक सुझाव पठाइएको छ, केन्द्र, जिल्ला/विभागलाई बजेट माग गरिएको छ, अर्थ मन्त्रालयमा निर्णय प्रकृयामा अन्तिम चरणमा पुगेको छ । अव कार्यालयहरु स्थापना हुनेछन् । ११७ वटा विभाग र जिल्लाका पदाधिकारीहरुको राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा छौं, हामीमा उत्साह छ, निस्कृयता छैन ।

तपाईहरुको संगठन र निर्वाचिन ट्रेड यूनियन बीचको सहकार्य कत्तिको छ ?
हाम्रो दशौं राष्ट्रिय अधिवेशन पूर्वको स्थितिलाई तपाईले इगित गर्न खोज्नु भएको हो भने, सन्तुष्ट हुने गरी हालै दुई संस्था बीचमा सहकार्यको कमी देखिएकै हो । तर अव दशौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित नेतृत्व र CBA को नेतृत्व बीचमा घनिष्ट र सुमधुर सम्वन्ध मात्र होइन, हार्दिकता पनि उत्तिकै छ, म संगठनको बरिष्ट्र उपाध्यक्षको नाताले CBA ले अपेक्षा गरेको भन्दा बढी सहयोग गर्ने वातावरण बनाउँन तयार छु ।

सबैभन्दा ठुलो र शक्तिशाली संगठनसँगको सहकार्य CBA को लागि अनिवार्य पनि छ । CBA मा संगठनको तर्फबाट पठाइएका प्रतिनिधि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुले गम्भीर त्रुटी गरको भन्दा बाहेक मानसिकता खस्काउँने र गिराउँने हिशाबले बाटोमा, चिया पसलमा र होटल रेष्टुरेष्टमा विना लगामको घोडा जस्तो उहाँहरुलाई फिर्ता बोलाईनेछ भन्दै गफ गरिनेछैन, यो मेरो प्रतिबद्धता र विश्वास हो ।

थप केही भन्नु छ की ?
हामी निजामती प्रशासनलाई प्रभावकारी, गतिशिल र विश्वासयोग्य बनाउने काममा लाग्नै पर्दछ । सबै पक्षको सहयोग विना यो सम्भव छैन, हाम्रो संगठन अभिभावक संगठन पनि भएको नाताले यसले नेतृत्व प्रदान गर्ने क्षमता राख्नै पर्दछ ।

यो काममा हामी लाग्नेछौं । संगठनको राष्ट्रिय अधिबेशनमा प्रतिनिधि, कार्यकर्ता साथीहरुले मलाई समन्वय कर्ताको भूमिका पनि दिनु भएको छ । मेरा प्रतिष्प्रर्धी साथी भन्दा निकै फराकिलो मत अन्तरले विजयी भएको छु । त्यसैले जित्ने–हार्ने सबैलाई मिलाएर लग्ने र जिम्मेवारी दिंदा न्यायसंगत ढंगले निर्णय गर्ने कुरामा सदैव ध्यान दिनेछु । मेरा लागि सबै सदस्यहरु समान रहने विषय नै प्रमुख रहने छ ।

प्रतिक्रिया दिनुहोस